महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार जित बहादुर करियाँग्रौहा(अजित) को उम्मेदवारी फिर्ता गराएकी छन् । बुधबार झलारी आएर उनले उम्मेदवार चौधरीसित माओवादी नेता सहित छलफल गरी उम्मेदवारी फिर्ता गराएकी हुन् ।
माओवादी नेताहरुका अनुसार चौधरीले फिर्ता नलिने अडान लिएपछि उनलाई मनाउन मन्त्री चौधरीलाई बोलाइएको हो । माओवादी जनयुद्धका लडाकु जित बहादुरले उम्मेदवारी दिएपछि उनलाई फिर्ता गर्न सुरुदेखि दबाव दिन थालिएको थियो । माओवादी केन्द्रले केन्द्रीय सदस्य देबीलाल चौधरीको टिकट खोसेर ओमबिक्रम भाटलाई टिकट दिएपछि चौधरीले बागी दिएका थिए ।
देबीलालको टिकट खोसिएपछि असन्तुष्ट आदिवासी जनजाति समुदाय अन्तुष्ट भएर सत्ता गठबन्धनमा समस्या हुने अवस्था आएपछि चौधरीको उम्मेदवारी फिर्ता गराउन चौतर्फी पहल गरिएको हो । असन्तुष्ट जनजाति समुदायले चौधरी वा नागरिक उन्मुक्ति पार्टी रोज्ने अवस्था आएपछि उनको उम्मेदवारी फिर्ता गराउन सत्ता गठबन्धनमा ठूलो चुनौतीका रुपमा देखिएको नेताहरु बताउँछन् ।
चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवारी फिर्ता गराउन मन्त्री चौधरी सहित निर्वाचन क्षेत्रका सबै नेता लागि परेका छन् । माओवादीका केन्द्रका पूर्व सभासद् कमल क्षेत्री, नेताहरु बीरमान चौधरी, नरहरि नाथ योगी, बहादुर महरा लगायत सक्रिय रुपमा लागेका छन् ।
टिकट खोसिएका चौधरी लगायतका असन्तुष्ट नेता भने छलफल बाहिर बसेका छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत पुगेर केही समय बसेर चौधरी तत्काल फर्किएका थिए ।
चौधरीले उम्मेदवारी फिर्ता लिएपछि उनीहरुसंगै स्वतन्त्र उम्मेदवार राजुराम सार्की भुल पनि देखिएका छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा टिकट नपाएपछि माओवादी केन्द्र छाडेर उनी चुनाव लडेका थिए ।
माओवादी केन्द्रले चुनाव लडेपछि कारवाही गरेका सार्की फेरि माओवादी नेतासित देखिएका छन् । माओवादी केन्द्रका उम्मेदवार भाटले उम्मेदवारी फिर्ता लिएका चौधरी र सार्की दुबैले आफूलाई समर्थन गरेको फेसबुकमा उल्लेख गरेका छन् ।