काँग्रेसमा विद्रोह गरी बागी बनेका दिपक सिह, भन्छन्–एकै व्यक्ति पटक पटक चुनाव लड्दै छन्, त्यस विरुद्ध म लड्दैछु
महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिह चुनाव चिन्ह पाएपछि चुनावी प्रचारमा लागेका छन् । काँग्रेसका बागी सिहले निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका छन् ।
काँग्रेस कञ्चनपुर ३ प्रदेश सभा सदस्यका आकाँक्षी उनी पार्टीभित्र छलफल नगरी एकलाटी भागबण्डा गरिएपछि असन्तुष्ट भएका थिए । त्यस विरुद्ध उनी प्रदेश सभा छाडेर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका छन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधि सिंहसित बुधबार अन्तिमसम्म उम्मेदवारी फिर्ताका लागि पहल गरिएको थियो । सत्ता गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् । उनी लेखक काँग्रेसका केन्द्रीय सदस्य लेखक विरुद्ध चुनावी प्रतिस्पर्धामा आएका छन् ।
पञ्चायतकालदेकिा समर्थक उनी २०४९ पछि काँग्रेसमा सक्रिय भएर लागेका हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनी प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका थिए । सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले भाग पाएपछि उनी सहितका आकाँक्षीले उम्मेदवार हुन रोकिएका हुन् ।
सत्ता गठबन्धनमा माओवादीलाई दिँदा पनि आकाँक्षीसित वेवास्ता गरिएपछि उनी विद्रोह गरी चुनावी मैदानमा आएका छन् । ‘अन्य उम्मेदवार हुँदा एक पटक छलफल पनि हुँदैन, तर एकै व्यक्ति किन पटक पटक चुनाव लड्दैछन्, पार्टीले पनि किन चुनाव लड्न टिकट दिन्छ, पार्टीले त्यो सोच्नु पर्छ’ उनले भने,‘मैले त्यसै विरुद्ध उम्मेदवारी दिएको हुँ ।’
सिहले काँग्रेसले आफूलाई लोकतान्त्रिक भने अनुसार व्यवहार नभएकोमा चिन्ता प्रकट गरे । ‘पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको छ, असाध्यै कमजोर भन्दा नि हुन्छ’ उनले भने,‘गठबन्धन गरियो, त्यो एउटा कुरा भयो, तर उम्मेदवारीमा छलफल त हुनु पथ्र्यो, केही भएन, कसैलाई सोधिएन, त्यसपछि म चुनावी मैदानमा आएको हुँ, जनताले साथ दिनेमा विश्वस्त छु ।’
चुनावी मैदानमा होमिएका सिहले राजनीतिलाई सेवाका रुपमा भजाएर नेताहरुले पेशा बनाएकोमा चिन्ता जाहेर गरेका छन् । उनी राजनीतिलाई सेवा माने बढीमा दुई पटक भन्दा बढी निर्वाचित हुनु पर्ने आवश्यकता नभएको बताउँछन् ।
‘राजनीति विशुद्ध सेवा हो, यसलाई पेशा बनाइयो, समस्या यहीं हो’ उनले भने,‘एक नेताले एक पटक, त्यसपछि बढीमा दुई पटकसम्म त ठिकै छ’ उनले भने,‘यहाँ त पटक पटक चुनाव लड्दै छन्, त्यसरी लड्दा अरुले के गर्छन्, त यो अर्को पुस्तामाथि नै अन्याय होइन र ।’
सिहका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार लेखक चौथो पटक चुनाव लड्न लागेका छन् । तीन पटक चुनाव लडेर दुई पटक जितेका उनी समानुपातिकमा पनि साँसद भइ सकेका छन् । अघिल्लो निर्वाचन हारेका उनी यस पटक फेरि जित फर्काउन चुनावी मैदानमा गएका छन् ।
स्वतन्त्र उम्मेदवार सिहले भने लेखकको नाम नलिई उनलाई संकेत गरी एकै व्यक्ति पटक पटक चुनाव लड्न नहुने धारणा राख्न थालेका छन् ।
काँग्रेस कार्यकर्ता भएर २०४८ देखिका सबै निर्वाचनमा सक्रिय भएर चुनावी प्रचारमा लागेका उनी यस पटक आफैं उम्मेदवार भएका छन् । उनको उम्मेदवार फिर्ता गराउन काँग्रेसका उम्मेदवार लेखक बुधबार आफैं लागेका थिए ।
सिहले महाकाली नदी तटबन्ध, विकास निर्माण र उत्पादनलाई प्राथमिकता दिने लगायतका चुनावी एजेण्डा बनाएका छन् । ‘अहिले सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो, यसका लागि उत्पादनमा जोड दिन्छु’ उनले भने,‘त्यस बाहेक विकास निर्माण लगायतका कुरालाई पनि अघि बढाउने सोच बनाएको छु ।’
स्वतन्त्र उम्मेदवार भएपछि आफू सबै जनताको साझा उम्मेदवार भएको सिहले बताए । ‘म स्वतन्त्र रुपमा चुनाव लडेको छु, सबै जनताको साझा भई सके, त्यस कारण मलाई सबै जनताले साझा उम्मेदवारका रुपमा मत दिएर जिताउनेमा विश्वस्त छु’ उनले भने ।