प्रदेश सभा सदस्यका लागि कस्सिएका कुमाल

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार भीम कुमालले चुनावी प्रचार थालेका छन् । दोधारा चाँदनी नगरपालिका ४ स्थि हाटबजारमा सम्पर्क कार्यालय स्थापना गरी प्रचार सुरु गरिएको छ । उनी यस अघि स्थानीय तह निर्वाचनमा स्वतन्त्र भएर दोधारा चाँदनी नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

‘चुनाव लड्न अघिसम्म म कुनै पनि दलमा थिए, स्वतन्त्र हुन जरुरी देखेपछि मैले छाडि दिए, अहिले हेर्दा पूरै व्यवस्था दलीय बन्धनमा छ, त्यहाँ हेर्दा कस्ताले टिकट पाएका छन्, सबैले देखेकौ छौ’ उनले भने,‘व्यवस्था बचाउन र दलहरुको स्वेच्छाचारीता विरुद्ध पनि मेरो उम्मेदवारी हो ।’

स्थानीय तह निर्वाचन अघि नेकपा माओवादी केन्द्र आवद्ध उनी पार्टी छाडेर स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा होमिएका थिए । कुमाल आफैं मेयर लडेका उनको समूहबाट उप मेयरमा पार्वती राना सहित सबै १० ओटै वडामा अध्यक्ष र सदस्यका उम्मेदवार चुनाव लडेका थिए ।

‘त्यो नतिजा एकदमै सन्तोसजनक आयो, जनताले विश्वास गरे, हाम्रो स्वतन्त्र समूह तेस्रो स्थानमा आयो’ उनले भने,‘यो उपलब्धि हाम्रा लागि सन्तोसजनक नै हो, अझै यसमा सुधार गर्दैै जानेमा आशावादी छौ ।’

दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका ७ वडा सहितको प्रदेश सभा सदस्यका लागि कुमाल लालटिन चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका छन् । दोधारा चाँदनीमा सम्पर्क कार्यालय खोलेपछि उनी भीमदत्तमा पनि चुनावी प्रचार अघि बढाउने तयारीमा लागेका छन् ।

दोधारा चाँदनी नगरपालिका ४ मा २०३६ मा जन्मिएका उनी २०७४ को स्थानीय तह निर्वाचनपछि राजनीतिमा आएका हुन् । नेकपा माओवादी केन्द्रमा आवद्ध भएर राजनीति अघि बढाएका उनी अर्को निर्वाचन अघि नै माओवादीबाट अलग भएर स्वतन्त्र हुन पुगेका छन् ।

‘गाउँ ठाउँमा समस्या छन्, मेरा आफ्ना पनि दुःख पीडा छन्, गरीब, विपन्न वर्गका लागि के गर्न सकिन्छ भन्ने इच्छा थियो, समाज सेवा गरौ भन्ने भावना आयो’ उनले भने,‘त्यहीं भएर माओवादीमा लागे, केही समय बसे, अहिले त्यहाँ पनि छाडेर स्वतन्त्र भएको छु, यसैबाट समाज सेवाका काम अघि बढाएको छु ।’

माओवादी केन्द्रबाट राजनीति सुरु गरेपछि उनी २०७४ को निर्वाचनमा मेयरका दाबेदार थिए । माओवादीले टिकट नदिएपछि उनी पार्टी जिताउन सक्रिय भएर लागेका थिए ।

स्थानीय तह निर्वाचनपछि माओवादी र एमाले एकीकरण भएर नेकपा बनेपछि उनी दोधारा चाँदनीको नगर सचिव भएका थिए । नेकपा विभाजनपछि उनी पनि माओवादी केन्द्रबाट अलग भएर स्वतन्त्र भएका छन् ।

माओवादी केन्द्रको दोधारा चाँदनी नगर कमिटीको नेतृत्वमा नेताहरुले एकलौटी गरेपछि उनी असन्तुष्ट भएका थिए । केही समय समानान्तर कमिटी चलाएपछि उनी पार्टी छाडेर स्वतन्त्र समूह बनाउन लागेका हुन् । ‘पार्टी मिलाएर जाऔ भने, पार्टी बनाउने ध्यान कसैको देखिएन’ उनले भने,‘फाइदा मात्रै लिने देखिएपछि त्यहाँ बस्न ठिक मानेन र स्वतन्त्र भए ।’

पार्टीमा सम्मान, मूल्याङ्कन, निषेध र व्यक्तिवादी प्रवृत्ति बढी भएपछि त्यस विरुद्ध स्वतन्त्र हुनु पर्ने बाध्यता आएको उनी बताउँछन् ।

किसान आमा बुवाका छोरा कुमाल भारतीय राजधानी नयाँ दिल्लीमा राम्रो तलब पाउने नोकरी छाडेर घर फर्किएका हुन् । कक्षा ९ सम्म दोधारा चाँदनीमा पढेर उनले बुवासित भारत गएर इलेक्ट्रिसियन इन्जिनियरसम्म पढेका छन् । तीन वर्षे इन्जिनियरिङ्ग पूरा गरी केही वर्ष कम्पनीमा काम गरी उनी घर फर्किएको बताउँछन् ।

‘टेक्निकल विषय भएकाले पढाई सकेपछि काम पाइ हालियो, तलब पनि राम्रो नै थियो, एक हिसाबले भन्दा मलाई ठिक नै थियो’ उनले भने,‘तर मान सम्मान केही थिएन, त्यसपछि गाउँमा केही गर्नु पर्छ भन्ने सोच बनाएर घर फर्किएको हो ।’

दोधारा चाँदनीमा २०२४ सालमा दोधारा चाँदनी आएका बाजुरा बाह्रबिसेका नरे कुमाल र हिरादेबी कुमालका ६ सन्तानमा उनी माइलो हुन् । उनले बुवा गुमाई सकेका छन् । उनले खेतीपाती र भारतमा नोकरी गरी परिवारको जीविका चलाएका थिए ।

‘बुवा किसान हो, त्यो अरु कुनै बाटो थिएन, त्यहीं भएर भारत गएर परिवार पाल्नु भयो, बुवा उता भएपछि म पनि त उतै गएको हो’ उनले भने,‘गरीब परिवारमा जन्मेकाले मलाई गरीबि, अभाव सबै कुरा राम्रोसित थाह छ, त्यसका लागि केही गर्न चाहना हो, त्यसैले यस क्षेत्रमा आएको छु ।’

भारतबाट फर्किएपछि कुमालले दिल्लीमा सिकेको सीप अनुसार महेन्द्रनगरमा प्राविधिक शिक्षाका तालिम सञ्चालनका लागि गुरुकुल इन्स्च्यिुट सञ्चालन गरेका थिए । उनी आएपछि महेन्द्रनगरमा पहिलो पटक कलर टिभी मर्मत कार्य सुरु गरिएको थियो ।

गुरुकुलले अहिलेसम्म १५ हजार बढीलाई प्राविधिक शिक्षाका तालिम दिएको छ । त्यसमध्ये ८० प्रतिशत रोजगारीमा भएको उनी बताउँछन् ।

प्राविधिक शिक्षाका विद्यार्थी उनले कोरोना कालमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दोधारा चाँदनी नगरपालिकालालाई नगद ५० हजार सहयोगदेखि भारतबाट घर फर्किनेको नाकामा उद्धार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री र विपन्न परिवारलाई राहत वितरण गरेपछि उनी चर्चामा आएका थिए ।

त्यस बाहेक अन्य समयमा पनि उनी गरीब परिवारलाई सहयोगका लागि अघि बढ्ने गरेका छन् । उनी स्थानीय तह निर्वाचनमा छाडा पशु चौपाया व्यवस्थापन, बाढी डुबान नियन्त्रण, मध्यवर्ती क्षेत्र व्यवस्थापन लगायतका एजेण्डा लिएर चुनावी मैदानमा गएका थिए ।

अहिले पनि उनी प्रदेश सभा सदस्य निर्वाचनमा स्थानीय तह निर्वाचनमा एजेण्डामा थप गरी जनतामा जाने तयारी गरेको छ । गरीबी निवारण, छाडा पशु चौपाया, जङ्गली जनावर नियन्त्रण, प्राविधिक शिक्षालय स्थापना, सुख्खा बन्दरगाह निर्माण तीव्रता, बजारीकरण, उत्पादन, चार लेन पुल, भन्सार लगायतका एजेण्डा लिएर जाने सोच उनले बनाएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनमा जनताले आफूलाई विश्वास गर्नेमा उनी आशावादी छन् । ‘म एकदमै आशावादी छु, मैले जनताका लागि निष्कलङ्क भावनाले काम गरेको छु, जति सके समाजका लागि सेवा गरेको छु’ उनले भने,‘जनताले मलाई साथ दिने छन् भन्नेमा म एकदम ढुक्क छु ।’

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.