महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ का धन बहादुर दमाई अहिले राजनीतिक दल छाडेर स्वतन्त्र अभियानमा सक्रिय भएका छन् । माओवादी केन्द्र छाडेर भीम कुमालले स्वतन्त्र समूह बनाएपछि उनी वरिष्ठ सल्लाहकार भएका छन् । त्यस अघि उनी पनि माओवादी केन्द्रमा थिए ।
बहुदल पुनःस्थापना भएपछि एमाले राजनीति समातेका उनी माओवादी केन्द्र हुँदै ७२ वर्षे उमेरमा स्वतन्त्र भएका छन् । बहुदल आउन अघि उनी पञ्चायतबाट राजनीतिमा आएका हुन् । २०४३ को राष्ट्रिय पञ्चायत चुनावले उनले इन्द्र बहादुर खत्रीलाई सहयोग गरेका थिए । बहुदलका लागि आन्दोलन भएपछि भने उनले मण्डले चोर देश छोड भन्दै खत्री विरुद्ध नाराबाजी पनि गरे । राप्रपाका खत्री अहिले एमाले र राप्रपाको संयुक्त उम्मेदवार जिताउन चुनावी मैदानमा खटिएका छन् ।
‘गरीब, खान लाउन नपुग्नेलाई केही न केही गर्छन् भनेर सहयोग गरेको थिए, वहाँले गर्नु पनि भयो, बिजुली ल्याए, हाइ स्कुल बनाए’ उनले विगत सम्झिदैै भने,‘पछि बहुदलका लागि आन्दोलन भएपछि मण्डले चोर, देश छोड भनेर पनि नारा लगाउन पुगे, समय नै त्यस्तो भयो ।’
पञ्चायती शासन ढलेपछि उनी एमालेको उत्पीडित जातीय मुक्ति समाजबाट कम्युनिष्ट राजनीतिमा आएका हुन् । गरीब र उत्पीडित समुदायका लागि केही गर्ने आशमा उनी एमाले भएका थिए । उनले २०५२ देखि चार वर्षसम्म तत्कालिन चाँदनी गाविसमा मुक्ति समाजको गाउँ कमिटीको नेतृत्व गरेका थिए ।
‘उत्पीडित जनताको मुक्ति, कम्युनिष्ट सरकारको राम्रो काम, अन्याय, अत्याचार, शोषण, दमन र विभेद विरुद्ध बोल्ने ठाने, उनले भने,‘त्यो बेला बुढाबुढीलाई कम्युनिष्टले मार्छन् भन्ने हल्ला फैलाईएको थियो, त्यो नभएर बुढाबुढीलाई भत्ता दियो, त्यसपछि म यिनै कुरा सोचेर एमाले भएको थियो ।’
एमालेको मुक्ति समाजको नेतृत्व गर्दा आन्तरिक भेदभाव र आर्थिक रुपमा बलियाले प्राथमिकता पाउन थालेपछि उनी असन्तुष्ट भएर पार्टी छाड्न पुगे । त्यसपछि गरीब जनताको मुक्तिको सपनालाई साकार पार्ने लक्ष्य सहित २०६२ मा माओवादी केन्द्र पुगे । माओवादीले सुरुमा जन सरकार प्रमुख बनाएका उनी दोधारा चाँदनी एरिया इन्चार्जसम्म भएका छन् । उनी अघिल्लो वर्ष एरिया इन्चार्ज हुँदा पार्टीमा मूल्याङ्कन नभएको भन्दै माओवादी छाडेर स्वतन्त्र भएका हुन् ।
‘मेरो सपना नै गरीब जनताको मुक्ति थियो, एमालेमा बसेर सम्भव नहुने भएपछि माओवादी केन्द्रमा आए, सुरुमा जन सरकार प्रमुख बनाइयो, पार्टी परिचालन गरे, संगठन बनाए, एरिया इन्चार्जसम्म भए’ उनले भने,‘पार्टीमा मूल्याङ्कन भएन, केही सम्मान भएन, त्यसपछि त्यहाँ बस्नु उचित ठानिन् ।’
माओवादी केन्द्रमा पनि निष्ठा, इमान्दारिता, समावेशिता, महिला र दलित समुदायलाई हेर्ने सोच बदलिएपछि आफू स्वतन्त्र रुपमा समाजसेवा गर्ने निष्कर्षमा पुगेको उनी बताउँछन् ।
माओवादी केन्द्रका नेता सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घर आफू पुगाएको उनको भनाई छ । ‘वहाँलाई प्रचण्डजीको घर पुगायौ, चुनावमा जितायौ, जितेपछि त वहाँले मेरो घरसम्म देख्नु भएन’ उनले दुखेसो पोखे,‘विचार गरे, यस्तो राजनीति गरी केही छैन, राजनीति छाडेर सामाजिक सेवा गर्ने सोच बनाए, स्वतन्त्र समूहमा आए ।’
काँग्रेसको बागी भएर २०५१ मा मध्यावधि निर्वाचन लडेका सुनार माओवादी भएर अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य जितेका थिए । उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री छन् ।
बझाङ्ग पुख्र्यौलीका दमाई २०३४ सालदेखि दोधारा चाँदनीमा बस्दै आएका छन् । उनका तीन छोरा भारतमा कामका लागि भारत गएका छन् । उनी आफ्नी धर्मपत्नि सहित घरमा बस्दै आएका छन् । स्वतन्त्र हुन अघिसमम उनले २७ वर्ष बढी दलीय राजनीतिमा बिताएका छन् ।
स्थानीय तह निर्वाचन अघि माओवादी केन्द्र छाडेर स्वतन्त्र भएका कुमालले स्वतन्त्र समूहबाट दोधारा चाँदनी नगरपालिकामा मेयर, उप मेयर सहित सबै वडामा उम्मेदवार चुनाव लडाएको थियो । कुमाल अहिले कञ्चनपुर ३ ख मा प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । स्वतन्त्र समूहमा माओवादी केन्द्रका ७० प्रतिशत नेता कार्यकर्ता भएको समूहका सल्लाहकार भक्त सुनार बताउँछन् ।
‘अहिले स्वतन्त्रको माहौल छ, स्वतन्त्रले केही गर्न सक्छ भन्ने सबैतिर छ, दलीय व्यवस्थासित जनता दिक्क छन्’ उनले भने,‘दलीय व्यवस्थामा विचार, सिद्धान्त नभएपछि स्वतन्त्र नभई नहुने बाध्यता त हाल्यो नि ।’