सत्ता गठबन्धनका चुनावी एजेण्डा तानिए विवादमा, रोकिएका योजना नै चुनावी एजेण्डा बनाएपछि एमाले कार्यकर्ताको यस्तो व्यङ्ग्य

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवारले अघि सारेका चुनावी एजेण्डा विवादमा तानिएका छन् । सत्ता गठबन्धनको सरकारले रोकेका विकास योजनालाई चुनावी एजेण्डा बनाएपछि विवादमा तानिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको अघिल्लो सरकारले अघि बढाएका अधिकाँश योजना अहिले रोकिएका छन् । सत्ता गठबन्धनको सरकार बनेपछि केही योजना कटौती पनि गरिएका छन् । अहिले सत्ता गठबन्धनले ती रोकिएका र कटौत गरिएका योजनालाई चुनावी एजेण्डा बनाएका छन् ।

सत्ता गठबन्धनले ती योजनालाई चुनावी एजेण्डा बनाएपछि एमाले कार्यकर्ताले प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकको प्रमुख कार्य भनेर व्यङ्ग्य गरेका छन् ।

एमाले कार्यकर्ताले प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकले विकास योजनाको काम रोकेको र योजना कटौती गरेको आरोप लगाएका छन् । एमाले कार्यकर्ताले मझगाउँ विमानस्थल र महाकाली कोरिडोर सहित ओली नेतृत्वको सरकारले शिलान्यास गरेका योजनाको काम रोकिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकले महेन्द्रनगर स्मार्ट सिटीको योजना कटौती गरेको उनीहरुको आरोप छ । एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले आफू भीमदत्त नगरपालिकाको मेयर हुँदा स्मार्ट सिटीको योजना ल्याएका थिए । सत्ता गठबन्धनको सरकार बनेपछि बजेट प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई हटाइएको थियो ।

सत्ता गठबन्धनका उम्मेदवार लेखक दोधारा चाँदनीको सुख्खा बन्दरगाहमा पनि विवादमा मुछिएका छन् । २०७४ मा लेखक चुनाव हारेपछि कञ्जभोजमा सुख्खा बन्दरगाह बन्न नदिने भन्दै ढुङ्गामुढा गरिएको थियो । एमालेले लेखकले नै ढुङ्गामुढा गराएको आरोप लगाएको छ ।

भारतीय राजदूत सहित उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको थियो । स्थानीयले ढुङ्गामुढा गरी अवरोध गरेपछि एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले त्यसलाई दोधारा चाँदनी नगरपालिका १ मा ल्याएका थिए ।

सत्ता गठबन्धनले अहिले रोकिएका ती योजना सहित त्रिदेशीय नाका बनाउने, महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, भीमदत्तमा चक्रपथ बनाउने, पर्यटकीय गन्तव्य बनाउने लगायतलाई चुनावी एजेण्डा बनाएको छ ।

सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा काँग्रेस लेखक, प्रदेश क मा माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट र ख मा काँग्रेसका बेल बहादुर राना उम्मेदवार भएका छन् । उनीहरुले संविधानको रक्षा, स्थिरताका लागि गठबन्धन भन्ने नारा दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.