
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवार एनपी साउँद प्रदेश सभा सदस्यको टिकट खोस्ने र खोसिएका दुबैलाई दाँया बाँया राखेर शुभ कामना आदान कार्यक्रममा सहभागी भएका छन् ।
थारु समाज कृष्णपुरले बुधबार बालुवाफाँटामा आयोजना गरेको दिपावली, छठ पर्वको शुभ कामना आदानप्रदान कार्यक्रममा उनी प्रदेश सभा सदस्यका उम्मेदवार ओमबिक्रम भाट र केन्द्रीय सदस्य देबीलाल चौधरीलाई दाँयाबाँया राखेर सहभागी भएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य चौधरीको टिकट खोसेर भाट उम्मेदवार भएपछि चौधरी असन्तुष्ट भएका छन् । उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म उम्मेदवार भएका उनको एकाएक टिकट खोसिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटका भाट बेदकोटबाट अर्को क्षेत्रमा गएर उम्मेदवार भएका हुन् ।
टिकट खोसिएपछि चौधरीले उम्मेदवारी दर्ताका दिन विहान नेता र समुदायका अगुवासित छलफल गरी असन्तुष्टि पोखेका थिए । चौधरीको टिकट खोसिएपछि २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनमा अप्ठेरामा फसेको छ ।
चौधरीको टिकट खोसिएपछि असन्तुष्ट जनजाति नागरिक उन्मुक्ति पार्टीमा जाने सबैभन्दा ठूलो त्रास छ । टिकट खोसिएका चौधरीले २०६४ मा काँग्रेसका साउँदलाई हराएका थिए । चौधरीको असन्तुष्टिलाई मध्यनजर गरी गठबन्धले थारु समाजका अगुवासित छलपल गरी कार्यक्रम गरेका छन् ।
कार्यक्रममा कृष्णपुरका थारु अगुवा मख्खन चौधरीले थारु समुदायको राजनीतिक अधिकार सुनिश्चित गराउने शक्तिलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउदले थारु समुदायको राजनैतिक समाजिक हक अधिकार र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीले माओवादी पार्टीकै कारण थारु समुदाय राजनीतिमा आएको अहिले संविधान जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार सरलले प्रदेश सभा र प्रदेश सरकारमा थारु समुदायका हक अधिकारदेखि थारु लोक संस्कृति संरक्षणका साथै थारु समुदायको सीपकलाको सदुपयोग गरिने बताए ।
कार्यक्रममा काँग्रेसबाट समानुपातिक उम्मेदवार गिता चौधरी, माओवादी युवा नेता अमिन प्रशाद दहित, माओवादी कञ्चनपुरका जिल्ला संयोजक खेम पाण्डे लगायतका नेता सहभागी भएका छन् ।
