तिहार कार्यक्रममा छापा मारेपछि वनगाउँमा प्रहरी र स्थानीयबीच झडप, केही स्थानीय घाइते, प्रहरी निरीक्षक ठगुन्ना नेतृत्वको टोली भागेर फर्कियो
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँमा प्रहरीले बिहीबार राति तिहार कार्यक्रममा छापा मारेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । स्थानीयको प्रतिकारपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्ना नेतृत्वको टोली भागेर फर्किएको छ ।
वनगाउँस्थित महेश खड्काको घरमा राजनीतिक दलका नेता सहित स्थानीय सहभागी तिहारको भोज कार्यक्रममा राति ९ः०० बजे प्रहरी निरीक्षक ठगुन्ना नेतृत्वको हस्तक्षेप गरी छापा मारेको थियो । प्रहरीले छापा मारेपछि विवाद बढेर प्रतिकार भएर झडप भएको छ ।
प्रहरीसित झडपमा महिला सहित केही स्थानीय घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले छापा हानेर कार्यक्रममा सहभागी महिलामाथि लछारपछार गरेपछि विवाद बढेको थियो ।
‘तिहार मनाई रहेका थियौ, सबै जना रमाई गरि रहेका थियौ, त्यहाँ केही पनि नराम्रो भएको थिएन, त्यहीं बेला आएको प्रहरीले छापा मारी महिलालाई लछारपछार गर्न थालेपछि प्रतिकार गर्ने अवस्था आयो’ सहभागी एक स्थानीयले भने,‘विवाद भयो, झडप भयो, त्यसपछि कोही घाइते भए, त्यसपछि प्रहरी भागेर गयो ।’
प्रहरी निरीक्षक ठगुन्नाले स्थानीयको कुरा नसुनेर जबरजस्ती गर्न खोजेपछि स्थानीय आक्रोशमा आएर प्रतिकारमा उत्रिएको स्थानीयले बताए । उनीहरुका अनुसार ठगुन्नासंगै सहभागी एक प्रहरी निरीक्षकले भने स्थानीयको आक्रोश थाम्न पटक पटक प्रयास गरेका थिए ।
‘अर्को प्रहरी निरीक्षकले गरेको प्रयास पनि ठगुन्नाका कारण असफल भयो, त्यसपछि सबै प्रतिकार नै गर्न थालेपछि भाग्नु पर्ने अवस्था आएको हो’ ती स्थानीयले भने ।
तिहारमा कार्यक्रममा सहभागीले नै प्रहरी निरीक्षक ठगुन्नालाई भगाएर गाउँबाट बाहिरसम्म ल्याएका छन् । त्यसपछि ठगुन्नाले ती स्थानीयलाई पनि पक्राउ गर्न खोजेको उनीहरु बताउँछन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहसित सम्पर्क गर्दा उनको फोन रिसिभ हुन सकेन । प्रहरी स्रोतका अनुसार खड्काको घरमा जुवा खेलि रहेको आशंकामा छापा मारिएको थियो ।
स्थानीयका अनुसार खड्काको घरमा तिहार कार्यक्रम मनाउन महिला, विभिन्न दलका नेता कार्यकर्ता सहभागी भएका थिए ।