वनगाउँमा प्रहरी निरीक्षक ठगुन्नाको यस्तो गुण्डागर्दी, पावर देखाई दिन्छु भन्दै हत्केडी लगाएर स्थानीयलाई अन्धाधुन्ध कुटपिट
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँमा बिहीबार राति प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्ना नेतृत्वको टोलीले बिहीबार राति स्थानीय महेश खड्काको घरमा छापा मारी कुटपिट गर्न थालेपछि प्रतिकार गरिएको छ । प्रतिकारपछि प्रहरी निरीक्षक ठगुन्ना भागेर फर्किएका छन् ।
खडकाको घरमा आफन्त र छिमेकी सहित तिहार मनाई रहेका बेला राति ९ बजेतिर ठगुन्ना नेतृत्वको टोलीले घरमा पसेर छापा हानेको थियो । छापा हान्ने क्रममा घर बाहिर निस्किएका केही जनालाई पक्राउ गरी गरिएपछि उनीहरु सहित त्यहाँ भएका अन्यलाई पनि कुटपिट गर्न थालिएको थियो ।
‘राति घरमा दिदी बहिनी, आफन्त, छर छिमेकी सहित बसेर तिहार मनाई रहेका थियौ, एक्कासी आएर समात समात भने, गुण्डागर्दी शैलीमा आएका थिए, प्रहरीले समात समात भनेपछि दुई चार जना बाहिर निस्के’ घरधनी खड्काले भने,‘हामीलाई केही बोल्नै दिएन, एकदम उग्र भएर कुटपिट गर्न गरियो, हत्केडी लगाइयो, बाल बच्चा, श्रीमति, घर परिवार सबैमा त्रास फैलाइयो ।’
घरधनी खड्काले आफूले के भएको हो भनेर सोध पनि प्रहरी निरीक्षक ठगुन्नाले आफ्नो कुरा नसकेर हत्केडी लगाएर कुटपिट गरेको बताए । ‘मेरो घर हो, के भयो हो भनेर भने, सुन्दै सुनेन’ उनले भने,‘झन पावर देखाउँछु भन्दै अर्को गाडी समेत मगाए ।’
स्थानीयका अनुसार प्रहरीको कुटाईबाट गोविन्द साउँद, अनुराग चन्द, सुरेश धामी लगायतका घाइते भएका छन् । उनीहरुमध्ये चन्दलाई उठ्न नसक्ने गरी कुटपिट गरिएको छ । आँखामा चोट लागेका साउँदलाई हत्केडी लगाएर कुटपिट गरिएको स्थानीय बताउँछन् ।
आँखाबाट रगत बगि बेला हत्केडी लगाएर साउँदलाई कुटपिट गरिएपछि अन्य स्थानीय प्रहरी प्रतिकारमा उत्रिएका हुन् । ‘आँखाबाट रगत बगि रहेको थियो, त्यति भएर पनि हत्केडी लगाएको बेला पनि कुटपिट भयो, त्यो भएपछि सबैले विरोध गरेपछि उनी भागेर निस्किए ।’
स्थानीयका अनुसार हत्केडी लगाएका साउँदलाई प्रहरी निरीक्षक ठगुन्ना आफैंले बुटले प्रहार गरेका थिए । खडको घरको प्रवेशद्वारमा पनि उनले बुटले प्रहार गरेका छन् । अहिले पनि प्रवेशद्वारमा बुटको छाप बसेको छ ।
साउँदलाई कुटपिटपछि स्थानीयले प्रतिकार गरेपछि फेरि दलबल सहित गएर उनले धामी सहित स्थानीयलाई कुटपिट गरेका छन् । प्रहरीले सिटी बजाएर होहल्ला गरी त्रास मच्चाएपछि स्थानीय प्रतिकारमा उत्रिनु पर्ने अवस्था आएको स्थानीय बताउँछन् ।
‘तिमीहरुलाई पावर देखाई दिन्छु भन्दै थिए, त्यसपछि अर्को गाडी पनि मगाए, सिटी बजाएर त्रास फैलाइयो, जो पायो त्यसैलाई कुटपिट गरियो, दिदी बहिनीलाई हातपात गरियो, उनले भने,‘अति नै भएपछि सबै गाउँका मान्छे आएर भीडभाग भयो, त्यसपछि भागेर गए, फेरि अर्को गाडी लिएर आए, अनि कुटपिट गरे ।’
प्रहरी निरीक्षक ठगुन्नाको नेतृत्वमा गुण्डागर्दी शैलीमा कुटपिट गरिएपछि खड्का सहित उनका आफन्तले राति नै प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई घट्नाबारे जानकारी दिएका छन् । प्रहरी उपरीक्षक चौधरीले छानबिन गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।