
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँका महेश खड्काको घरमा छापा मारेर स्थानीयमाथि अन्धाधुन्ध कुटपिट गरेपछि स्थानीयको घेराबन्दीमा परी भागेर आएका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले फेरि प्रहरी टोली लगेर कुटपिट गरेकोमा स्थानीयले आक्रोश पोखेका छन् ।
तिहारको खानपिनका भइ रहेका बेला बिहीबार राति १० बजेतिर घरमा छापा हानेर ठगुन्ना नेतृत्वको प्रहरी टोलीले हत्केडी सहित स्थानीय गोविन्द साउँदलाई कुटपिट गरेपछि स्थानीय प्रहरीको प्रतिकारमा उत्रिएका हुन् । स्थानीयको प्रतिकारपछि खेत भएर भागेका प्रहरी निरीक्षक ठगुन्ना झण्डै आधा घण्टापछि प्रहरीको वान टन गाडी लिएर घरमा पुगेर फेरि कुटपिट गरेका थिए । वान टनमा आफैंमा बसेर गएका उनी नेतृत्वको प्रहरी टोलीले त्यसपछि सुरेश सिह धामी, मनिसा खड्का, अनुरोध चन्दलाई कुटपिट गरेका थिए ।
‘पहिलो पटक दुई गाडी प्रहरीसित आउनु भएको थियो, छापा हाने, केही भेटिएन, मैले अब तपाईले शंका गरेको कुरा भेटिएन, यो घरको पारिवारिक खानपिन हो भने, एक छिनपछि त प्रहरीले गोविन्द भाई कुटपिट गर्न थाल्यो, आँखामा चोट लाग्यो,’ शुत्रबार घट्ना सम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा घरधनी महेश खडकाका दाई सुरेश खड्काले भने,‘त्यसपछि झन हत्केडी लगाएर कुटपिट गर्न थालेपछि छिमेकी सहित अन्य गाउँले आई सकेका थिए, वहाँलाई घेरा हाली सकेको थियो,हामीले नै थामथुम पार्दैै खेतबारी भगेर भगायौ, नत्र हिजो ठूलो घट्ना हुन सक्थ्यो।’
खेतबारी भएर भागेका प्रहरी निरीक्षक ठगुन्ना फेरि वान टन लिएर घरमा पसेर कुटपिटमा उत्रिएको खड्काले बताए । ‘पहिला जे भाको थियो, कुटपिट पनि भयो, त्यसपछि भागेर आएर फेरि गएर कुटपिट गरियो, यो गम्भीर छ’ उनले भने,‘त्यसमा संलग्न प्रहरीलाई कारवाही हुनु पर्छ ।’
तिहारका बेला पारिवारिक जमघटमा आएर प्रहरीले आफ्नो घरमा आएका आफन्त र दिदी बहिनीलाई समेत दुव्र्यवहार गरिएको उनीहरुले बताए । खानपिनमा सहभागी गोविन्द साउँदलाई कुटपिट हत्केडी लगाएर उनी सहितलाई २० मिनेटसम्म कोठाभित्र बन्धक बनाएको उनीहरुको भनाई छ ।
कोठाभित्र बन्धक बन्धक बनाएपछि प्रहरी निरीक्षक ठगुन्नालाई पटक पटक आग्रह गर्दा पनि बाहिर आउन नदिएपछि घरधनी महेश खड्काले घरमा आगो लगाउन थालेपछि कोठाको चुकुल खोलिएको थियो । घरधनी खड्काले आगो लगाउने भनेपछि मात्रै प्रहरी निरीक्षक ठगुन्ना अलि शान्त देखिएको उनले बताए ।
‘के भाको हो, भन्छु, भन्दैन, पिसाब लागेको छ, बाहिर जान दिनु भन्दा दिँदैन, म विरामी छु भनेर दुई तीन मिनेट भन्दै गए, अन्तिममा यो मेरो घर हो, म आगो लगाउँछु भनेपछि मात्रै वहाँ शान्त देखिनु भयो’ खड्काले भने,‘यतिसम्म त अपराध गरेका थिएनौ, त्रास फैलाइयो ।’
स्थानीयले प्रहरी निरीक्षक ठगुन्नालाई घेरा हालेपछि अप्रिय घट्ना हुने अवस्था आएपछि उनी खेतबारी भएर भागेको स्थानीय बताउँछन् । उनलाई खेतबारीबाट भगाउन खानपिनमा सहभागी केहीले साथ दिएका थिए । वनगाउँ चौराह पुगाएपछि प्रहरी निरीक्षक ठगुन्ना ती सहयोगीमाथि आक्रोशित भएर पक्राउ गर्न खोजेका थिए । प्रहरी उपरीक्ष श्याम सिह चौधरीसम्म जानकारी पुगेपछि उनी पक्राउ नगरी फर्किएका छन् ।
वनगाउँका खड्का परिवार सहित स्थानीयले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी प्रहरी निरीक्षक ठगुन्नालाई कारवाही गर्न माग गरेका छन् ।
प्रहरीको कुटाईमा गम्भीर भएका अनुराग चन्द, सुरेश धामी र गोविन्द साउँदलाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालबाट धनगढी रिफर गरिएको छ ।
खड्का परिवार सहित स्थानीयले प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई भेटेर प्रहरी निरीक्षक ठगुन्नामाथि कारवाही गर्न माग गरेका छन् । प्रहरी उपरीक्षक चौधरीले ठगुन्नामाथि छानिबन गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।
