
महेन्द्रनगर । कञ्चनपुरमा सत्ता गठबन्धनका सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेश सभा सदस्यमा एक÷एक सीट जितेका छन् । सत्ता गठबन्धन बाहिर राखिएर पनि समाजवादीले मित्रवत प्रतिस्पर्धा गरी प्रदेश सभा सदस्य जितेको छ ।
माओवादी प्रतिनिधि सभा सदस्य सहित तीन क्षेत्रमा चुनाव लडेका थियो । त्यसमध्ये प्रतिनिधि सभा र प्रदेश सभाको एक क्षेत्रमा हार व्यहोरेर माओवादी केन्द्र प्रदेश सभाको एक सीटमा चित्त बुझाउन बाध्य भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क बाट ओमबिक्रम भाट सरल निर्वाचित भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य देबीलाल चौधरीको टिकट खोसेर भाट चुनाव लडेका थिए ।

त्यस बाहेक प्रतिनिधि सभा सदस्यमा विना मगर र प्रदेश सभा सदस्यमा टेकेन्द्र प्रसाद भट्ट पराजित भएका छन् । कञ्चनपुर १ मा मगर एमालेका तारालामा तामाङ्गसंग पराजित भएकी छन् । कञ्चनपुर ३ क मा माओवादी केन्द्रका भट्ट समाजवादीका प्रकाश रावलसित पराजित भएका छन् ।
सत्ता गठबन्धनमा भागबण्डा सहमति नजुटेपछि ३ क मा रावल चुनाव लडेका थिए । भट्ट काँग्रेसको सहयोग लिएर चुनावी मैदानमा होमिएका थिए । काँग्रेस माओवादी दुबैको गठबन्धनलाई पराजित गरी रावल निर्वाचित भएका छन् ।
उनी अघिल्लो निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी एकीकृत समाजवादी गएका थिए । रावल सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री छन् ।
सत्ता गठबन्धनमा काँग्रेस एक प्रदेश सभा क्षेत्रमा पराजित भएको छ । कञ्चनपुर १ क मा काँग्रेसका बन्धु राना पराजित भएका छन् । रानालाई एमालेका बीर बहादुर थापाले पराजित गरेका छन् ।
