माया हत्याकाण्ड छानबिन गरी दोषीलाई कारवाही गर्न बहमुत सम्बद्ध क्रान्तिकारी विद्यार्थी संगठनको माग, दोषीलाई कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी
महेन्द्रनगर । नेकपा बहुमत आवद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले शिवनाथ गाउँपालिका युवतीको हत्या र घाइते बनाएको घट्ना सम्बन्धी छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसित माग गरेको छ ।
क्रान्तिकारीका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले बिहीबार विज्ञप्ति प्रकाशित गरी हत्या र घाइते बनाएको घट्नाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । छानबिन नगरी दोषीलाई कारवाही नभए आन्दोलनमा उत्रि ने चेतावनी क्रान्तिकारीले दिएको छ ।
‘छात्रा मायाको हत्या र नेहालाई गम्भीर घाइते बनाएको घटनाको सत्यतथ्य छानबिन गरि दोषी उपर कडा भन्दा कडा कार्बाही गर्न सम्बन्धित निकायलाई हाम्रो संगठन जोडदार माग गर्दछ । अन्यथा विद्यार्थी आन्दोलनलाई पेचिलो संघर्ष बनाएर लैजाने जानकारी समेत गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।
संगठनले सबै विद्यालयका छात्राहरुका लागि आत्म सुरक्षाका लागि तालिमको व्यवस्था गर्न पनि सरकारको तिनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैतडी पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ वर्षिया माया लुहारको मंगलबार साँझ शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिक जङ्गलमा घाँटी रेटेर हत्या गरिएको थियो । उनीसंगै भएकी १५ वर्षिया नेहा लुहारको घाँटी रेटेर गम्भीर घाइते बनाइएको छ । उनीहरु दुबै श्री जवलपुर माध्यमिक विद्यालय सैलोडाका विद्यार्थी हुन् । मृतक माया कक्षा १२ अध्ययनरत थिइन् । घाइते नेहा कक्षा ९ मा अध्ययनरत छिन् ।
मंगलबार विहान घरबाट निस्केकी माया र नेहा साँझ घर नफर्केपछि बुधबार विहानदेखि खोजी गर्दा माया मृत अवस्थामा भेटिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिवनाथ गाउँपालिका ६ का सशस्त्र प्रहरी जवान भरत कोलीले मायालाई बोलाएर हत्या गरेको खुलेको छ । उनी बुधबार विहानदेखि फरार भएका छन् ।
‘शिवनाथ मन्दिरको जंगलमा माया लुहारको धारिलो हतियारले घाटी रेटी विभत्स हत्या भएको र माया लुहारकी आफ्नै भदै नाता पर्ने नेहा लुहार गम्भीर अवस्थामा घाइते भेटिएको खबरले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तमा अमानवीय र निर्मम तरिकाले हत्या भएकी विद्यार्थी बहिनी माया लुहारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते अवस्थामा रहेकी बहिनी नेहा लुहार लाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं र सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं ।’