
महेन्द्रनगर कायापलट पार्ने आधुनिक सडक निर्माणमै यस्तो लापरवाही , विद्युत र टेलिफोनका पोल नहटाई जताततै कालोपत्रे

महेन्द्रनगर । महेन्द्रनगर बजार क्षेत्रमा एसियाली विकास बैकको ऋण सहयोगमा निर्माणाधिन सडक विद्युत र टेलिफोनका खम्बा नहटाएर कालोपत्रे गरिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारका क्रममा बजारका सबै गल्लीमा निर्माण कार्य सुरु गरी अहिले कालोपत्रे गर्न थालिएको हो । यस अघि पनि विद्युत र टेलिफोनमा खम्बा नहटाएर सडक कालोपत्रे गरिएको थियो ।
भीमदत्त नगरपालिकाकालाई आधुननिक सहर बनाउने लक्ष्य सहित एशियाली विकास बैंकको सहयोगमा एकीकृत फोहरमैला व्यवस्थापन सहित ३६ किलोमटिर आधुनिक सडक बनाउने क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन भएको छ ।

आयोजना अन्र्तगत बजार क्षेत्रमा पहिलो चरण अन्र्तगत निर्माण सुरु गरिएको १४ किलोमिटर सडकमा ठेकेदार कम्पनीले खम्बा नहटाएर सडक कालोपत्रे गरेको हो । सडक निर्माणका लागि जेआइसी लामाले झण्डै दुई अर्बमा ठेक्क्का लिएको छ । ठेकेदार कम्पनीसित डिसेम्बरभित्र काम सक्ने गरी दुई वर्षको ठेक्का सम्झौता गरिएको थियो ।
ठेक्का सम्झौता सकिन लागेपछि ठेकेदार कम्पनीले सडक क्षेत्रमा परेका विद्युत र टेलिफोनमा संरचना नहटाएर कालोपत्रे अघि बढाएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव प्रचार सुरु भएपछि बजारका सबै गल्लीमा एक साथ निर्माण सुुरु गरिएको थियो ।
अहिले मदनचोक चमनचोक सहित बजार गल्लीहरुमा सडक निर्माण अघि बढेको छ । विद्युत र टेलिफोन बाहेक सबै गल्लीमा खानेपानीका पाइप समेत बिछ्याइएको छैन । ठूलो लगानीका सडकमा विद्युत टेलिफोनका संरचना नहटाएर सडक कालोपत्रे भएपछि स्थानीयबाट विरोध हुन थालेको छ ।
भीमदत्त नगरपालिकाका इन्जिनियर गोरख बहादुर सिहले विद्युत र टेलिफोनका संरचना हटाएर सडक कालोपत्रे गरिनु पर्ने बताए । ‘यसमा नगरपालिकाको काम सहजीकरण गरी दिने हो, कुनै अप्ठरो परे सहजीकरण गरि दिने हो’ उनले भने,‘विद्युत, टेलिफोन सबैले सहयोग गरि दिने हो, तारको मेनेजमेन्ट गरि दिनु पर्ने ।’
भीमदत्त नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाको कार्यालय छ । आयोजना कार्यालयमा इन्जिनियर सहित वातावरण र सामाजिक विकास अधिकृत कार्यरत छन् । नगरपालिकामा मेयरको नेतृत्वमा योजना अनुगमन समिति पनि छ ।
भीमदत्त नगरपालिका कार्यालय अगाडि भएर भगतपुरसम्म बनेको क्षेत्रीय सहरी विकास आयोजनाको सडक पनि विद्युत र टेलिफोनका खम्बा नहटाएर कालोपत्रे गरिएको छ । आफ्नै कार्यालय अगाडि खम्बा नहटाएर सडक बनाउन आयोजना कार्यालय र नगरपालिकाले मौनता साँधेका छन् ।
भीमदत्त नगरपालिकालाई आयोजानको अनुगमन गर्ने जिम्मा बाहेक सबै काम भवन निर्माण तथा सहरी विकास कार्यालय धनगढीले हेर्दै आएको छ । सहरी विकासका प्राविधिक पनि चुप बसेका छन् ।
ठेकेदार कम्पनीले विद्युत र टेलिफोनका खम्बा सारेपछि बचेको क्षेत्रमा फेरि कालोपत्रे गर्ने मनसाय बनाएको छ । ठेकेदार कम्पनीका इन्जिनियर भुपेन्द्र सिहले विद्युत र टेलिकम कार्यालयले पोल सार्न नसकेपछि सडक कालोपत्रे गर्न लागिएको बताए ।
‘पोल सार्ने कुरा भएको छ, सार्न सकिएन, अब ती सारेपछि बचेको क्षेत्रमा कालोपत्रे गर्छौ’ उनले भने,‘अहिले पोल वरिपरि छाडेर अन्य क्षेत्र कालोपत्रे भई रहेको छ ।’
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसित ११ मिटरको पोल नभएका कराण सार्न ढिलाई भएको जानकारी आएको सिहले बताए । विद्युतसित अहिले ९ मिटरका मात्रै पोल छन् । ११ फिटका पोल आएपछि मात्रै हटाइने जवाफ विद्युत कार्यालयले दिएको छ ।
ठेक्का सम्झौतापछि अहिलेसम्म ५५ प्रतिशत सडक निर्माण कार्य भएको छ । ठेकेदार कम्पनीले डिसेम्बरभित्र ९० प्रतिशत बढी निर्माण कार्य पुगाउने गरी अघि बढेको हो । नगरपालिकाका अधिकारीहरुका अनुसार ठेकेदार कम्पनी ९० प्रतिशत काम पूरा नभए ठेक्का रद्द हुने अवस्था आउने चिन्तामा परेको छ ।
भीमदत्त नगरपालिकामा ८ वर्ष अघि क्षेत्रीय सहरी विकास आयोजनाका लागि सम्झौता गरिएको थियो । एकीकृत फोहरमैला व्यवस्थापनका लागि जमिन व्यवस्थापन हुन नसकेपछि जमिन खोज्ने शर्त राखेर पहिलो चरणमा १४ किलोमिटर सडक निर्माण सुरु गरिएको थियो ।त्यसका लागि नगरपालिकाले एक अर्ब ७६ करोडमा टेण्डर खोलेको थियो ।
गुरु योजना बनाएर बसाइएको महेन्द्रनगरलाई व्यवस्थित र आधुनिक बनाउन ढल सहित पक्की सडक बनाउन थालिएको हो ।
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकालमा १३ दशमलव ८५ किलोमिटर नाली सहित सडक निर्माण सुरु गरिएको थियो । जिल्ला प्रशासन कार्यालय नजिक शिलान्यास गरी निर्माण सुरु भएको थियो ।
पहिलो चरणमा महेन्द्रनगर बजार सहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्म सडक निर्माण हुन लागेको हो । ती सबै सडकमा पोल नहटाएर कालोपत्रे गरिएको छ ।
नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
