
देशकै कान्छा मेयरको फेरि चर्चा, काँग्रेस केन्द्रीय सदस्यका लागि चु्नावी दौडमा छन् परशुरामका मेयर भरत बडायर जोशी

महेन्द्रनगर । देशकै सबैभन्दा कान्छा मेयर भरत बडायर जोशीले काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छ ।
काङ्ग्रेस १५ औ महाधिवेशनमा जोशी सुदूरपश्चिम युवाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । जोशी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा जोशी पर्शुराम नगरपालिकाको मेयर निर्वाचित भएका थिए । मेयरमा चुनाव जितेपछि जोशीले देशभर चर्चा पाएका थिए । उनी सम्भवत कान्छा उम्मेदवार हुन् ।
जोशी २९ बर्षको उमेरमा मेयर निर्वाचित भएका थिए । मेयर कार्यकालको अन्तिम बर्षमा उनी पार्टी केन्द्रिय सदस्यका लागि चुनावी मैदानमा देखिएका छन् ।
मेयर जोशी युवा वैज्ञानिक, सामाजिक इन्जिनियर र कुशल उद्यमी भनेर चिनिन्छन् ।
जोशीले बेइजिङ्गस्थित चाइनिज एकेडेमी अफ साइन्सेज विश्वविद्यालयबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर गरेका छन् ।
मेयर हुन अघि जोशीले कोभिड महामारीमा सहयोग तथा राहत बितरणमा सक्रिय भएर लागेका थिए । पर्शुराम नगरपालिकामा आइसोलेसनका संरचना निर्माणमा जोशीको भूमिकाले त्यति बेला चर्चा पाएका थिए ।
सरकारले लकडाउन गरी घर बाहिर निस्कन बन्द गरेको समयमा जोशी सहयोगका लागि अघि बढेका थिए ।
त्यस बाहेक जोशीले विभिन्न रोगबाट पीडित ज्येष्ठ नागरिकलाई सहयोग गरेका छन् । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका बिरामीलाई औषधि सहयोग गरेका थिए ।

जोशीले युवाका साथी, आमा बुवाका सारथी, परशुरामबासीको बिश्वास, भरत जोशीमाथि नारा सहितको प्रतिबद्धता लिएर उनी स्थानीय तह निर्वाचन लडेका थिए ।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा कांग्रेस १५ औँ महाधिवेशन हुँदैछ । सोमबार महाधिवेशन उद्घाटन भएको छ । जोशीले आफू भुइँ तहदेखि पार्टी संगठनमा काम गर्दै आएको बताए ।
‘म नगर सभापति र नगरप्रमुखका रूपमा जनतासँग जोडिएर काम गरेको अनुभवलाई पार्टीको केन्द्रीय भूमिकामा उपयोग गर्न चाहन्छु, त्यसैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने ।
उनले जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्ने प्रभावकारी ‘प्लाटफर्म’ बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तहमा भएका राम्रा काम तथा अभ्यास एकअर्कासँग आदानप्रदान गर्ने संयन्त्र निर्माण गर्न सके त्यसबाट पार्टी र जनप्रतिनिधि दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।
युवाहरूको प्रतिनिधित्व पार्टीका विभिन्न तह र संरचनामा अझ बढाउनुपर्ने पक्षमा रहेका जोशीले आफूले भुइँ तहमा गरेको काम र अनुभवका आधारमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
जोशीले २०७९ सालको स्थानीय तह निर्वाचनमा २८ वर्षको उमेरमै परशुराम नगरपालिकाको नगरप्रमुखमा जितेका थिए ।
२०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशनबाट उनी परशुराम नगरपालिकाको नगर सभापतिमा निर्वाचित भएका थिए ।
नगर प्रमुखका रूपमा उनले विद्यार्थीलाई बिना धितो, शैक्षिक प्रमाणपत्र राखेर कर्जा लिन सक्ने विद्यार्थी कर्जा कार्यक्रम समेत लागू गर्न पहल गरेका थिए ।
काँग्रेसमा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
