
महेन्द्रनगर । बेदकोट नगरपालिकाका वासिन्दाले छाडा पशु चौपाया लिएर नगरपालिका कार्यालय घेराउ गरेका छन् । नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेपछि स्थानीयले कार्यालय घेराउ गरी दबाव दिएका छन् ।
वेदकोट नगरपालिका विभिन्न क्षेत्रबाट छाडिएका चौपायालाई उनीहरुले कार्यालयभित्र लगेका छन् । कार्यालयको प्रवेशद्वार बन्द गरी उनीहरुलाई बाहिर आउजाउ समेत बन्द गरि दिएका छन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा कार्यकक्षमा छन् । उप मेयर तुलसी जोशी भने कार्यालय बाहिर छन् । स्थानीयले मेयर सहित कर्मचारी सबैलाई बाहिर आउन रोकेका छन् । मेयर बोहराले समस्या समाधानका लागि स्थानीयसित छलफल गर्ने तयारी थालेका छन् ।
बेदकोट नगरपालिकाले शनिबार केही छाडा चौपायालाई चुनेपानी गौशालामा पठाएपछि विवाद उब्जिएको थियो । चुनेपानी छाडा चौपाया लैजान थालिएपछि शनिबार साँझ स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । त्यस क्रममा चार जना घाइते भएका छन् ।
शनिबार साँझको विवादपछि स्थानीय आक्रोशित भएर आइतबार विहान नगरपालिका कार्यालय पुगेका छन् । बेदकोट नगरपालिका ४ बैतोडामा भाडामा लिएको जमिनमा नराखेर चुनेपानी लगिएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि बालज्योति माविलाई वार्षिक एक लाख भाडा दिने गरी जमिन लिएको छ ।
बेदकोट नगरपालिकाका प्रवक्ता चित्रदेब भट्टले छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीयले माग राखेर नगरपालिका जानु राम्रो भएको बताए । ‘यो एकदमै राम्रो हो, छलफल गरी हल गर्छौ’ उनले भने ।
