सडक कालोपत्रेको बजेट कटौती विरुद्ध गोबरैया पुग्यो अध्यक्ष देबकोटाको धर्ना, वडा सदस्य चन्दले पनि दिए साथ
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाले सडक कालोपत्रेको बजेट कटौती विरुद्ध धर्नालाई निरन्तरता दिएका छन् । भगतपुरको पत्थपुर जाने सडकबाट धर्ना बसेका उनी शुक्रबार गोबरैयामा धर्ना बसेका छन् ।
वडा अध्यक्ष देबकोटा बजेट कटौती गरिएका सबै पाँच ओटै सडकमा धर्ना बस्ने कार्यक्रम बनाएका छन् । त्यस अनुसार यस अघि पत्थपुर र भगतपुरमा धर्ना बसि सकेका छन् ।
‘अघिल्लो आर्थिक वर्षमा काम सुरु भएर बेस लाइन तयार भई सकेका सडक कालोपत्रे हुनु पर्नेमा बजेट नै कटौती गरिएको छ , म त्यस बजेट कटौती विरुद्ध सबै सडकमा धर्ना बसि रहेको छु’ उनले भने,‘पत्थपुरबाट सुरु गरेर अस्ति भगतपुर र आज यता(गोबरैयामा धर्ना बसेको छु ।’
सडक कालोपत्रेको बजेट विनियोजन नभएसम्म धर्नालाई निरन्तरता दिइने उनको भनाई छ । विहान १० देखि साँझ ५ बजेसम्म उनी धर्ना बस्ने गरेका छन् । वडाका वासिन्दालाई धर्नाका क्रममा सेवा भने प्रवाह गरि रहेका छन् ।
‘यो वडाका लागि हो, मैले कार्यालयमा बसेर गर्ने काम यहीं धर्ना बसेर पनि गरि रहेको छु’ उनले भने,‘जहाँ धर्ना बसे, त्यहींबाट सेवा प्रवाह गरि रहेको छु ।’
गोबरैयाको धर्नामा उनलाई वडा सदस्य पदम बहादुर चन्दले पनि साथ दिएका छन् । पत्थपुर र भगतपुरमा अध्यक्ष एक्लै धर्ना बसेका हुन् । अहिलेसम्म धर्ना बसेका सबै ठाउँमा स्थानीयले साथ दिएका छन् ।
वडा अध्यक्ष देबकोटाले धर्ना अघि भीमदत्त नगरपालिकालाई बजेट कटौती गरिएका सडकको नाम सहित बजेट विनियोजनका लागि पत्राचार गरेका छन् । वडाबाट गरिएको पत्रमा नगरपालिकाले चासो नदेखाएपछि उनी धर्ना बस्न पुगेका छन् । धर्ना बसेपछि पनि भीमदत्त नगरपालिकाका मेयर उप मेयरले मतलब नराखेको उनी बताउँछन् ।
‘आज तेस्रो दिनसम्म धर्ना बस्दा पनि मेयर उप मेयरज्यूले मतलब गर्नु भएको छैन, यसबाट १८ नम्बर वडालाई हेर्ने वहाँहरुको दृष्टिकोण सकारात्मक छैन भन्ने देखिन्छ’ उनले भने ।
भीमदत्तका उप मेयर निलम लेखक जोशी भीनपा १८ का वासिन्दा हुन् । मेयर पदम बोगटी पनि १८ नम्बरसित जोडिएका २ नम्बरका वासिन्दा हुन् । उनीहरु दुबै जनाले अध्यक्ष देबकोटा सडकमा धर्ना बस्दा समेत वेवास्ता गरेका छन् ।
भीमदत्तको कार्यपालिका सदस्यमा मेयर उप मेयर सहित दुई तिहाई बढी काँग्रेसको छ । भीनपा १८ का अध्यक्ष देबकोटा एमालेबाट निर्वाचित भएका हुन् । उनी एमालेबाट निर्वाचित भएका कारण पनि बजेट कटौती गरिएको हुन सक्ने आशंका गरिएको छ ।
भीमदत्त नगरपालिकाले गत असारमा बजेट विनियोजन गर्दा पनि अघिल्लो वर्ष भन्दा कम विनियोजन गरिएको भन्दै अध्यक्ष देबकोटाले विरोध गरेका थिए । उनको विरोधपछि बजेट बढाइएको थियो ।
वडा अध्यक्ष देबकोटा धर्ना बसेपछि बिहीबार नगरपालिकामा बसेको कार्यपालिका बैठकमा समेत उनी अनुपस्थित भएका छन् । बैठकमा उनको धर्नाबारे कुनै पनि छलफल नभएको एक कार्यपालिका सदस्यले बताए ।
कार्यपालिका बैठकमा पूरानो ठेक्काको म्याद थप गर्ने लगायतका एजेण्डामा छलफल गरिएको छ । नगरपालिकाले एजेण्डा जानकारी नदिएर बैठक राखिएको सूचना आएपछि उनी बैठकमा अनुस्थिति भएका छन् ।
भीमदत्त नगरपालिकामा सबैभन्दा बढी जनसंख्या भएको १८ नम्बर वडामा सबैभन्दा बढी मतदाता छन् । सबैभन्दा बढी मतदाता भएको यस वडाबाट हालसम्म भीमदत्तको उप मेयरसम्म भएका छन् ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेका ईश्वरी प्रसाद खरेल उप मेयर भएका थिए । त्यस बाहेक यस वडाले अहिलेसम्म अध्यक्ष बाहेक अन्य पद पाउन सकेको छैन ।
भीनपा १८ मा २०४९ देखि हालसम्म एमालेले चुनाव जित्दै आएको छ । स्थानीय तह निर्वाचनमा पहिलो पटक एमाले चार सदस्य गुमाएर अध्यक्ष मात्रै चुनाव जितेको हो । त्यस अघिका निर्वाचनमा भने अध्यक्ष सहित सबै सदस्य जित्दै आएको थियो ।
एमालेको आठौं जिल्ला अधिवेशनबाट सदस्य निर्वाचित भएका देबकोटा अहिले वडा इन्चार्ज पनि छन् । विद्यार्थी र युवापछि पार्टी राजनीतिमा आएका उनले निर्वाचनमा १८ नम्बरमा एमालेको वडा कमिटीको नेतृत्व गरि सकेका छन् ।