
–पप्पु गुरुङ्ग
दोधारा । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले दोधारा चाँदनी नगरपालिका पुगेर मेयर किशोर कुमार लिम्बुसित महाकाली नदीको रोयल्टी सम्बन्धी छलफल गरेका छन् । भीमदत्त नगरपालिकासित रोयल्टी बाँडफाँट सम्झौता नविकरण नगरी दोधारा चाँदनीले ठेक्का लगाएपछि मेयर बोगटीले शुक्रबार आएर छलफल गरेका छन् ।
मेयर बोगटीले दोधारा चाँदनी नगरपालिकाबाट रोयल्टी ठेक्का लिएका ठेकेदारलाई भीमदत्तको घाट प्रयोग नगर्न नदिन मेयर लिम्बुसित माग राखेका छन् । उनले त्यस बाहेक दुबै तहले महाकाली नदीको सिमाङ्कन गर्न पर्ने माग पनि अघि सारेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले आफ्नो क्षेत्रमा एक करोड ३३ लाखमा दिमुक निर्माण सेवालाई ठेक्कामा दिएको छ । यस अघि भीमदत्त नगरपालिकाले महाकाली नदीमा ठेक्का गरी दोधारा चाँदनीलाई रकम दिदैं आएको थियो । यस वर्ष दोधारा चाँदनीले सम्झौता नविकरण नगरी ठेक्कामा लगाएको हो ।
भीमदत्तका मेयर बोगटी प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र न्यायिक समितिका कानुन अधिकृत टेक बहादुर कठायत, राजश्प परामर्श समितिका सदस्य सचिव बिक्रम भण्डारीलाई लिएर दोधारा चाँदनी आएका हुन् । महाकाली नदीको रोयल्टी सम्बन्धी छलफलमा राजश्व परामर्श समितिका संयोजक सहित अन्य सदस्य भने अनुपस्थित भएका छन् ।
राजश्व परामर्श समितिका सदस्य प्रमुख प्रशासकीय अधिकृत गौली र सदस्य सचिव भण्डारी छलफलमा सहभागी भएका छन् । दोधारा चाँदनीका राजश्व परामर्श समितिका संयोजक गंगा जोशी भने छलफलमा सहभागी भएका छन् ।
भीमदत्तको राजश्व नीति र कानुन बनाउने, राजश्वका स्रोत, दायरा र दर विश्लेषण गर्न अधिकार सहित उप मेयर निलम लेखक जोशीको संयोजकत्वमा परामर्श समिति गठन गरिएको छ ।
समितिमा प्रमुख प्रशासकीय अधिकृत गौली सहित कार्यपालिका सदस्यहरु सुशिला कुमार भट्ट, सीता भण्डारी लगायतका सदस्य छन् । भीमदत्तको राजश्व नीति तथा प्रशासन उप शाखा प्रमुख बिक्रम भण्डारी समितिमा सदस्य सचिव छन् ।
उनीहरुमध्ये प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य सदस्य रोयल्टी सम्बन्धी छलफलमा सहभागी भएका छैनन् । समितिका संयोजक लेखक शुक्रबार दिनभरि नगरपालिकाका विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।
दलित महिला संघ फेडोले भीमदत्त नगरपालिका कार्यालयमा राखेको कार्यक्रममा उनले आफू विहानैदेखि कार्यक्रममा व्यस्त भएको बताइन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस पारी गरिएको कार्यक्रमकी प्रमुख अतिथि उनी कार्य व्यस्तता देखाउँदै कार्यक्रम नसकिदै बाहिरिएकी थिइन् । त्यस बाहेक समितिका सदस्य भण्डारी पनि फेडोको कार्यक्रममा सहभागी भएकी छन् ।
अघिल्लो कार्यक्रममा निवर्तमान उप मेयर सुशिला चन्द सिहले समितिको संयोजक भएर रोयल्टी ठेक्का लगायतका राजश्व सम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी थिइन् । दोधारा चाँदनी नगरपालिकासित रोयल्टी ठेक्का सम्झौता पनि उप मेयर चन्दको नेतृत्वमा गरिएको थियो ।
अहिले राजश्व परामर्श समितिका संयोजक भीमदत्तको सबैभन्दा ठूलो आन्तरिक आम्दानीमा पनि उदासिनता देखाएका छन् । उनी आफैंले नेतृत्व गरेको समिति समेत राजश्व सम्बन्धीका छलफल बाहिर बसेको छ ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । भीमदत्तमा आएका नयाँ जनप्रतिनिधिले गत वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी सम्झौता नविकरण नगरी आफैंले संकलन गर्न लागेको हो ।
महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र भोली नै सिमांकन गर्न अनुरोध गरेको छ ।
दोधारा चाँदनी नगरपालिकाले आइआइई गरी बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दुबै पालिकाका मेयर र प्रतिनिधिको बैठकले भोलीनै महाकाली नदीमा सिमांकन गर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।
