
दोधारा चाँदनीको झण्डै डेढ करोड रोयल्टी ठेक्का धरापमा पार्ने भीमदत्तको दाउ, मेयर लिम्बुले पोखे सार्वजनिक रुपमै असन्तुष्टि


–पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भीमदत्त नगरपालिकाले महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता भएपछि विवाद झिकेकोमा असन्तुष्टि पोखेका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले शुक्रबार दोधारा चाँदनी नगरपालिका गएर मेयर लिम्बुसित छलफल गरी ठेकेदारलाई भीमदत्त नगरपालिकाकाको घाट प्रयोग गर्न नदिन पर्ने माग राखेका थिए । त्यसपछि मेयर लिम्बुले शनिबार फेसबुकबाट भीमदत्तले घाट वा बाटो प्रयोग गर्न नदिने माग राखेर विवाद झिकेको दुखेसो पोखेका छन् ।
‘शायद भीमदत्त नगरपालीकाले सोचेको पनि थिएन कि दोधारा चाँदनी नगरपालीकाले यति छिटो आईइए गरेर रोयल्टीको ठेक्का १ करोड १७ लाख २० हजार गर्न सफल हुन्छ भनेर । तर दोधारा चाँदनी नगरपालीकाले यो काम गर्न सफल भयो ।
अहिले भिमदत्तले आईइए नगरेको हुँदा ठेक्का लगाउन नसकेपछि दोधारा चाँदनीको ठेकेदारसंग घाट तथा बाटोको बारेमा विवाद भएको छ । जसको समाधानको लागि भोलि बिहान २५ गते जिल्ला समन्वयको कार्यालय महेन्द्रनगरमा छलफल हुने भएको सर्वसाधारणको लागि जानकारी गराउँदछु’ मेयर लिम्बुले भने ।
दोधारा चाँदनी नगरपालिकाले दिमुक निर्माण सेवासित एक करोड ३४ लाखमा ठेक्का सम्झौता गरेपछि मेयर बोगटीले घाट प्रयोग गर्न रोक्काका लागि माग राखेका हुन् । बोगटीले घाट प्रयोग गर्न रोक्का गर्न पर्ने माग राखेपछि दोधारा चाँदनी नगरपालिका रोयल्टी ठेक्कामा अप्ठेरोमा फसेको छ ।

महाकाली नदीका नदीजन्य वस्तुको भीमदत्त नगरपालिका क्षेत्रमा अधिकाँश कारोबार हुने भएपछि घाट बन्दले रोयल्टी ठेक्का धरापमा पर्ने अवस्था आएको दोधारा चाँदनीका जनप्रतिनिधिको चिन्ता व्यक्त गरेका छन् ।
महाकाली नदीको नदीजन्य वस्तुको खपत लगायतका आधारमा भीमदत्त नगरपालिकाको अघिल्लो कार्यकालमा दुबै नगरपालिकाबीच सम्झौता गरी रोयल्टी रकम बाँडफाँट गरिएको थियो ।
भीमदत्तमा नयाँ नेतृत्व आएपछि महाकाली नदीमा आइई वा एआई नगरी अवैध रुपमा कर्मचारी परिचालन गरी रोयल्टी संकलन गरि रहेको छ । भीमदत्तले ठेक्का लगाउन नसक्ने भएपछि दोधारा चाँदनीले आफ्नो क्षेत्रमा आइई गरी ठेक्का आव्हान गरेको थियो ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बीच आर्थिक वर्ष २०७६÷०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो ।
भीमदत्तमा आएका नयाँ जनप्रतिनिधिले गत वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी सम्झौता नविकरण नगरी आफैंले संकलन गर्न लागेको हो । महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र आजनै सिमांकन गर्न भनिएको भनेपनि भोली मात्रै जिल्ला समन्वयको कार्यालय महेन्द्रनगरमा छलफल हुने बताईएको छ ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले महाकाली रोयल्टीको बिषयमा अघिल्लो वर्षमा भएको सम्झौता अनुसार पाउनु पर्ने रकम भिमदत्त नगरपालिकालाई माँग गर्दै आएको छ ।
