
निङ्गलाशैनीमा निरञ्जन तेस्रो कार्यकालका लागि फेरि अध्यक्ष, भन्छन्– यस पटक प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्छु
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा फेरि निरञ्जन प्रसाद भट्ट चयन भएका छन् । विद्यालयमा सोमबार भएको अभिभावक भेलाबाट भट्ट तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् ।
समितिमा प्रेमदत्त भट्ट, यज्ञराज भट्ट, माया भण्डारी, विष्णु माया न्यौपाने भट्ट, र लक्ष्मीेदेबी ठकुराठी सदस्य छन् । समितिमा मोहन सिह साउँद शिक्षक प्रतिनिधि र प्रधानाध्यापक भवानी प्रसाद पन्त सदस्य सचिव छन् । समितिमा वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेका सदस्य पदेन हुने व्यवस्था छ ।

गोबरैयाका स्थानीय भट्ट २०७३ मा पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका हुन् । ६ वर्षपछि उनी तेस्रो पटक विद्यालयको अध्यक्ष भएका छन् ।
भट्ट विद्यालयका पूर्व विद्यार्थी हुन् । उनले कक्षा ५ देखि ९ सम्म निङ्गलाशैनीमा पढेका थिए । व्यवस्थापनामा स्नातक उनले महेन्द्रनगर मावि (साधारण) बाट २०५२ मा एसएलसी उत्तीर्ण गरेका हुन् । उनी निर्माण व्यवसायी कञ्चनपुरको अध्यक्ष पनि छन् ।
‘मैले कक्षा ५ देखि ९ कक्षासम्म यहीं विद्यालयमा पढेको छु, म विद्यालयको प्रगतिका लागि सधै लागि रहने छु’ सोमबार अभिभावक भेलापछि उनले भने,‘मलाई दिइएको जिम्मेवारी म मन वचन कर्मले पूरा गर्छु ।’
अध्यक्ष भट्टले अघिल्लो दुई कार्यकालमा विद्यालयको भौतिक र शैक्षिक विकासका कार्य गरेका छन् । विद्यालय स्थापनादेखि स्थानीयसित देखिएको जग्गा विवाद भट्टले हल गरी विद्यालयको चारैतिर पर्खाल बनाएका छन् । २०३९ मा विद्यालय स्थापना भएपछि स्थानीयसित जग्गा विवाद उब्जिएको थियो ।
अध्यक्ष भट्टको कार्यकालमा दुई कोठे र चार कोठे भवन सहित साइकल स्टेन्ड निर्माण गरिएको छ । अध्यक्ष भट्टले सबै कक्षा प्रोजेक्टरबाट पठनपाठन गराउने व्यवस्था गरेका छन् । उनले विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरुवात गराएका छन् ।
विद्यालयमा आइसिटी कार्यक्रम आएपछि उनले अमेरिकाबाट संकलन गरी थप कम्युटर मगाएका थिए । विद्यालयका सबै शिक्षक कर्मचारीलाई आधारभूत कम्प्यटुरको तालिम सञ्चालन गरिएको थियो ।
विद्यालयमा मैदान निर्माण्, पूरानो संचरना पुनः निर्माण र मर्मत तथा सैनिकको एनसीसी तालिम लगायतका कार्यक्रम पनि उनको कार्यकालमा गरिएका छन् ।
कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने अध्यक्ष भट्टले लक्ष्य लिएका छन् । ‘अहिलेको समय नै प्राविधिक शिक्षाको हो, त्यसका लागि प्रक्रिया अघि बढेको छ, यो कार्यकालमा प्राविधिक शिक्षा सञ्चालन गर्छु’ उनले भने । त्यस बाहेक उनले विद्यालयको स्थापना कालमा बनेका सबै भवनलाई नयाँ बनाउने योजना पनि उनले अघि सारेका छन् ।
