
महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयका कृषि पशु विज्ञान संकायका विद्यार्थी गहुँ खेती लगाएपछि माछा पालनका लागि पोखरी बनाउन थालेका छन् । उनीहरुले तरकारी खेतीका लागि खनजोत गरी खेत तयार गरेका छन् ।
विद्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत पढ्दै कमाउँदै कार्यक्रमका लागि सम्झौता गरेपछि प्राविधिक धारका विद्यार्थी पढाईसंगै कृषि व्यवसायमा लागेका हुन् । विद्यालयले गत महिना माछा पालन, कुखुरा पालन, बेमौसमी तरकारी र खेतीपातीका लागि परियोजनासित सम्झौता गरेको थियो ।

परियोजनासित सम्झौता भएपछि विद्यार्थीले विद्यालयको जमिनमा खनजोत गरी एक बिगाहामा गहुँ खेती लगाएका छन् । तरकारी लगाउन एक बिगाहा जमिन खनजोत गरी तयार गरेका छन् ।
माछा पालनका लागि दुई पोखरी बनाउन थालिएको छ । त्यसका लागि दैनिक जेसिभीले पोखरी खन्ने कार्य गरि रहेको छ । पोखरी तयार भएपछि माछाका भुरा राखेर पालन सुरु गर्ने तयारी छ ।
विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले विद्यार्थीहरुलाई पढाईसंगै सीप सिकाउन, व्यवसायी र स्वरोजगार बनाउने लक्ष्य राखेर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘पढाई सकेपछि विद्यार्थीलाई विदेश जानु पर्ने बाध्यता छ, यो कार्यक्रमबाट विद्यार्थी कृषिसित जोडिन्छन्, सीप सिक्छन्, स्वरोजगार बन्छन्’ उनले भने,‘अब खेतीपाती, माछा, पालन, तरकारी खेती गरी विद्यार्थीले पढाईसंगै कमाउँछन्, घरबाट शुल्क माग्ने विद्यार्थी घर गएको दिन कमाई लगेर अहिले आमा बुवालाई दिन्छन् ।’
विद्यार्थीले विद्यार्थीले पढाईसंगै प्रयोगात्मक अभ्यास गरी सीप हासिल गर्ने र विद्यालयबाट शिक्षा हासिल गरी निस्केपछि युवा जनशक्ति गाउँ घरमा बस्ने वातावराण बन्ने सहयोग पुग्ने प्रधानाध्यापक विष्टले बताए ।
पढ्दै कमाउँदै कार्यक्रमबाट कमजोर आर्थिक अवस्थाका विद्यार्थीले आफैंले कमाएर शिक्षा हासिल गर्न सक्ने प्रधानाध्यापक विष्टले बताए । ‘व्यवसाययिक सीप विकास हुन्छ, उद्यमशिलता हुन्छ, स्वावलम्बन हुने भयो, त्यस बाहेक पढ्नलाई पैसा नभएका विद्यार्थीले आफ्नो पढ्ने खर्च आफैं जुटाउन सक्छन्’ उनले भने,‘घर जाँदा पैसा लिएर जान्छन् ।’
विद्यालयले शैक्षिक सत्र २०७५ देखि प्रि डिप्लोमा इन भेटेरिनका १८ महिने र त्यसको एक वर्षपछि डिप्लोमा इन एनिमल साइन्स बिएस्सी एजी एण्ड एनिमल साइन्समा तीन वर्षे डिप्लोमा तहमा पठनपाठन सुरु गरेको थियो । विद्यालयबाट हालसम्म प्राविधिक एसएलसीका तीन ब्याच पास आउट भएका छन् ।
कृषि भेटरिनरी धारका विद्यार्थी बाहेक अन्य कक्षाका विद्यार्थी पनि कार्यक्रमसित जोडिएका छन् । उनीहरुका लागि कृषि कार्यका लागि जमिन खनजोती गरिएको छ ।
विद्यालयका अनुसार १८ महिने प्राविधिक एसएलसीमा १७ जना अध्ययनरत छन् । डिप्लोमा तह अन्र्तगत पहिलो वर्षमा ७ र दोस्रो वर्षमा १४ जना अध्ययनरत छन् ।
कृषि र पशु पालन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालन गरिएको प्राविधिक धारका कक्षामा कोभिड महामारीका कारण अपेक्षा अनुसार विद्यार्थी भर्ना हुन सकेको छैन ।
चुरे क्षेत्रसित जोडिएका यस विद्यालयसित ८ बिगाहा जमिन छ । विद्यालयले भोगचलन गर्दै आएकोमा जमिनमा अहिले विद्यार्थी कृषि व्यवसायका कार्य अघि बढाएका छन् । अहिले गहँु लगाएको जमिनमा यस अघि विद्यालयले केरा खेती गरेको थियो ।
विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएपछि पढाई बाहेक समयमा कृषि व्यवसायका कार्यसित जोडिएपछि विद्यार्थीहरु खुसी भएका छन् । उनीहरुले पढाईसंगै कृषि व्यवसायमा नयाँ कुरा सिक्ने र आर्थिक आम्दानी हुनेमा आशावादी देखिएका छन् ।
विद्यालयको डिप्लोमा तह प्रथम वर्षमा अध्ययनरत दिपा थापाले पढाईपछि काम गर्दा नयाँ कुरा र सीप सिक्ने तथा आर्थिक आम्दानी समेत हुने भएकाले सबै विद्यार्थी खुसी भएको बताइन् ।
गाउँ घरमा छाडा पशु चौपायाको समस्या बर्सेनी बढ्दै गएकोले पढाईपछि चौपाया व्यवस्थापनका लागि पनि सहयोग पुग्ने आशमा उनी छन् ।
‘हामी सबै घरबाट पढ्ने भनेर आएका हौ, यहाँ पढाईसंगै खेतीपाती, माछा पालन लगायतका कार्य पनि गरि रहेका छौ, पढाई सकेपछि छाडा चौपाया व्यवस्थापनमा पनि सहयोग पुग्न सक्छ’ उनी भन्छिन्,‘यहाँ सिकेका कुरा घरमा लगेर पनि काम गर्न सकिन्छ, पढाईसंगै अलिकति पैसा नि आइ हाले घरबाट खर्च पनि माग्न पर्दैन ।’
दोधारा चाँदनी नगरपालिका ३ स्थित शंकर पार्वती माध्यमिक विद्यालयमा एसइई उत्तीर्ण गरेपछि थापा कृषि तथा पशु प्राविधिक बन्ने लक्ष्य लिएर भर्ना भएकी हुन् ।
विद्यालयका अर्का छात्रा ज्योति चन्दले पढाईसंगै कृषि व्यवसायका काम गर्दा हातमा नयाँ सीप भएर बेरोजगार बस्नु पर्ने अवस्था नहुने बताइन् । ‘यसबाट हातमा नयाँ ज्ञान, सीप आउँछ, कहाँ नेर नि काम लाग्न सक्छ’ उनी भन्छिन्,‘पढाई सकेपछि बेरोजगार भएर बस्ने अवस्था हुँदैन ।’
भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेपछि सन्तोस अवस्थी पनि कृषि तथा भेटेरिनरी अध्ययन गरि रहेका छन् । विद्यालयमा भर्ना अघिसम्म खेतीपाती गर्ने कुरा नसोचेका उनी अहिले पढाईपछि खेतीपाती, तरकारी खेतीका सबै कार्यमा सहभागी भएका छन् ।
‘म त यहाँ पढ्न आएको थिए, पहिला त यस्तो काम गर्नु पर्छ होला भनेर कहिले सोचेका थिएन’ उनी भन्छन्,‘गहुँ लगाएका छौ, अब अन्य कार्य पनि गर्छाै, यसबाट काम सिकिन्छ, भोलि व्यवसाय गर्न पनि सजिलो हुन्छ ।’
विद्यालयले कार्यक्रम अन्र्तगत उत्पादन गरिएका सबै उत्पादन बजारसम्म ल्याएर बिक्री गर्ने योजना बनाएको छ । विद्यार्थी आफैंले पनि उत्पादनलाई बेच्न बजारसम्म लैजान सक्ने भएका छन् ।
विद्यालयका प्रधानाध्यापक विष्टले उत्पादन बिक्रीका लागि बजारको समस्या नपर्ने बताए । ‘अहिले बजारमा कृषि र कृषिजन्य उत्पादनको माग धेरै नै छ, बाहिरबाट पनि आउँछ, त्यस कारण बजार समस्या हुँदैन, त्यसका लागि विद्यालय पनि उत्पादन बजारसम्म पुगाउन सहयोग गर्छ’ उनले भने ।
विद्यालयका प्रधानाध्यापक विष्टका अनुसार उत्पादनबाट आम्दानी हुने रकमको ७५ प्रतिशत विद्यार्थीलाई लाभाँश दिइने र बाँकी २५ प्रतिशत बिऊ पूँजीका रुपमा राखिने गरी सम्झौता गरिएको छ ।
‘विद्यार्थीको खाना, स्वास्थ्य, खर्च गरी ७५ प्रतिशत रकमबाट खर्च गरिन्छ’ उनले भने,‘२५ प्रतिशत रकम बिऊ पूँजी कोषमा राखेर कार्यक्रम खर्च हुन्छ ।’
सम्झौता अनुसार कार्यक्रम अन्र्तगत ७५ प्रतिशत परियोजना र २५ प्रतिशत रकम विद्यालयले व्यहार्ने पर्ने छ । परियोजनाले किस्तामा विद्यालयको खातामा रकम पठाउने गरी सम्झौता गरिएको प्रधानाध्यापक विष्टले बताए ।
