ghar sansar

कञ्च्नपुरमा यसरी हुँदैछ विपद् रोकथाम पूर्व तयारी

khasi

भुवन भट्ट
महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभागले आगामी जेठ १८ गतेदेखि मनसुन प्रारम्भ हुने अनुमान गरेसँगै त्यसको पूर्व तयारीमा यहाँका स्थानीय तह जुटेका छन् । मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका क्षेत्रमा पूर्व सावधानी अपनाउनका लागि पूर्व तयारी थालिएको यहाँका नौ वटै स्थानीय तहले जनाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा खोज तथा उद्धार सामाग्री नष्टभएपछि विभिन्न संघ संस्थाको सहयोगमा आवश्यक सामाग्री खरिदको कार्य अगाडी बढाइएको पुनर्वास नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालले बताए ।

पालिकाको वडा नम्बर १० स्थित विकास बस्ती, वडा नम्बर ५ मा रातो ताल, सिमरी तथा वडा २ स्थित दशरथ बस्तीका २ सय बढी घर धुरी मनसुनजन्य विपद्को उच्च जोखिममा छन् । विपद्मा परेकालाई सुरक्षित स्थानमा राख्नका लागि यस वर्ष वडा नम्बर ५ को रातोतालमा सुरक्षित आवास निर्माणको काम गरिएको विपद् सम्पर्क व्यक्ति ढकालले बताए ।

सामुदायिक विपद् व्यवस्थापन समितिलाई तालिम प्रदान गर्नुका साथै, उद्धारमा खटिन तथा पूर्व तयारीमा रहन सतर्क गराइएको उनले बताए । उनका अनुसार, दुई स्थानमा साइरनको व्यवस्था गरिएको छ, भने विपद्मा परेकाको उद्धारका लागि सुरक्षा निकाय सँग समन्वय तथा आवश्यक राहत सामाग्रीको व्यवस्थापन गरिएको छ । विपद्बाट महामारी फैलिन नदिन स्वास्थ्य शाखामार्फत आवश्यक औषधी उपचारको व्यवस्था पनि मिलाइएको उनले बताए ।

बेलौरी नगरपालिकाले पनि मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि वडाहरू सँग छलफल तथा खोज उद्धारमा खटिने सामुदायिक विपद् व्यवस्थापन समितिलाई आवश्यक तालिम प्रदान गरिरहेको जनाएको छ । बेलौरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक कुमार पाण्डेले डुबान प्रभावित हुने क्षेत्रको पहिचान सँगै आवश्यक उद्धार सामाग्रीको व्यवस्थापन मिलाउने कार्य भइरहेको बताए ।

खहरे खोला तथा नदीका कारण डुबानमा पर्दे आएका नौ वटै वडाहरूमा मनसुन जन्य विपद् जोखिम न्यूनीकरणका लागि पुर्वतयारीका काम अगाडी बढाइएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

पालिकाका विपद् सम्पर्क व्यक्ति एवम् सूचना अधिकारी प्रेम बोगटीले विपद् जन्य सामाग्री तयारी अवस्थामा राखिनुका साथै, हाल नदी तटीय क्षेत्रका स्थानीयलाई माटो भरानका लागि एक हजार बोरा उपलब्ध गराइएको बताए । यसका साथै, डुबान प्रभावित क्षेत्रमा तटबन्ध, नाला सफाइका काम अगाडी बढाइएको उनले बताए ।

त्यसै गरी, यहाँको बेदकोट नगरपालिकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना परिमार्जनको कार्य भइरहेको जनाएको छ । विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न संघ संस्थाको सहकार्यमा पूर्व तयारी थालिएको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले बताए ।

dirghayi clinic

सामुदायिक स्तरमा वडा सामुदायिक विपद व्यवस्थापन समिति सँग छलफल तथा आवश्यक सामाग्री खरिद प्रक्रिया अगाडी बढाइएको उनले बताए । यसका साथै, विपद्मा परेकाको खोज तथा उद्धारका लागि नगर प्रहरीलाई पाँच दिनको तालिम पनि प्रदान गरिएको विपद् सम्पर्क व्यक्ति चन्दले बताए ।

बेदकोट नगरपालिकाका वडा नम्बर ४ स्थित सार्की पार्की टोल, वडा नम्बर १० स्थित चतहरी क्षेत्र तथा वडा नम्बर ९ स्थित बैजनाथ टोलका गरी चार सय बढी घरधुरी डुबानको उच्च जोखिममा रहेका छन् ।

बेलडाँडी गाउँपालिकाले पनि मनसुन जन्य विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा वडामा १० वटा सामुदायिक स्तरीय विपद् व्यवस्थापन समिति गठन गरी पूर्वतयारी थालिएको जनाएको छ । गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति पुरोस्वत्तम जोशीले पूर्व तयारीका लागि समितिहरूलाई आवश्यक तालिम प्रदान गरी सूचना प्रवाह, खोज तथा उद्धारमा खटिन सक्रिय तुल्याइएको बताए ।

बेलडाँडीमा चौधर नदिको बाँध भत्किदा गत वर्ष अत्यधिक क्षति पुग्न गएपछि यस वर्ष मर्मतको काम गरिएकाले यस वर्ष जोखिम कम हुने आङ्कलन गरिएको उनले बताए । तर पूर्व तयारीका लागि भने आवश्यक तयारी थालिएको उनले बताए ।

त्यसै गरी यहाँको लालझाँडी गाउँपालिकाले पनि मनसुन जन्य विपद्बाट उद्धारका लागि १४ वटा सामुदायिक विपद् व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको जनाएको छ । पालिकाका विपद् सम्पर्क व्यक्ति हेमराज उपाध्यायले खोज तथा उद्धार सामाग्री तयार अवस्थामा राखिएको बताए ।

लालझाँडीका वडा नम्बर २, ३ र ४ बाढी जन्य विपद्को उच्च जोखिममा रहेका छन् । नदीमा भरिएको बालुवाका कारण पानी सतहमाथि आउने भएकाले यी वडाका बस्तीहरू बर्सेनि डुबानमा पर्दे आएकाले आवश्यक राहत , स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको उनले बताए ।

भीमदत्त, शुक्लाफाँटा र दोधाराचादनी नगरपालिकाले पनि मनसुन जन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व अभ्यास तथा सामुदायिक विपद् व्यवस्थापन समितिलाई पूर्व तालिम प्रदान गरिनुका साथै, आवश्यक सामाग्री व्यवस्थापनको कार्य गरिरहेको जनाएका छन् ।

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले मनसुन जन्य विपद् जोखिमबाट जोगिन १९ वटै वडालाई खोज तथा उद्धार कार्यमा खटिन तथा पूर्व तयारीमा रहन पत्राचार गरिएको बताए ।

नगरपालिकाका १७ वडामा गठन भएको उद्यमशील युवा सञ्जाललाई अभिमुखीकरण तालिम प्रदान गर्नुका साथै आवश्यक पूर्व तयारी अगाडी बढाइएको उनले बताए ।

भीमदत्तका महाकाली नदी तटीय क्षेत्रमा मात्रै एक हजार बढी परिवार बाढीको उच्च जोखिममा छन् । दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पनि विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थालिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...