ghar sansar

शुक्लाफाँटामा अवैध उत्खनन हुँदा चुपचाप, ठेक्का लगाउँदा आन्दोलन

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ का स्थानीयले नदीजन्य पदार्थ उत्खनन ठेक्का विरुद्ध वडा कार्यालय घेराउ गरी धर्ना दिएका छन् । स्थानीय रुकुम सिंह ठगुन्नाको संयोजत्वकमा संघर्ष समिति गठन गरी उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

शुक्लाफाँटा नगरपालिकाले यस वर्ष आर्थिक वर्ष ०७९÷२०८० का लागि ८ नम्बर वडामा पर्ने नदी तथा खोलामा ६८ लाखमा नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएको छ । ठेक्का दिएपछि स्थानीय विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

अघिल्लो पाँच वर्षसम्म स्थानीयको अवरोधका कारण नदीजन्य पदार्थको ठेक्का लगाउन नसककेर आन्तरिक स्रोत गुमेको थियो । नगरपालिकाले ठेक्का लगाउन नसकेपछि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिएका थिए । अवैध उत्खन्न कार्य छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । आयोगमा उजुरी परेपछि अवैध उत्खननमा अनुसन्धान अघि बढाइको थियो ।

अहिले शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले प्राथमिकता दिएर नदीजन्य पदार्थको उत्खननको ठेक्का लगाएका हुन् । अघिल्लो सरकारका प्रमुख दिल बहादुर ऐरले वडा अध्यक्षको दबावका कारण ठेक्का लगाउन असमर्थ भएका थिए ।

नदीजन्य पदार्थको ठेक्का लगाउने निर्णय भएपछि वडा अध्यक्ष बहादुर सिह महराले कार्यपालिका बैठकको निर्णयको माइन्युट नै च्याति दिएका थिए । त्यसपछि माफी मागेपछि स्थिति समान्य भएको थियो ।

अघिल्लो कार्यकालमा शुक्लाफाँटामा वडा अध्यक्षहरुले मेयर ऐरलाई दबावमा राखेर आफू अनुसारका निर्णय गराएका थिए । अधिकाँश वडा अध्यक्ष आफंैले ठेक्कापट्टाका समेत काम गरेका छन् ।

नगरपालिकाले ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएपछि जनप्रतिनिधिले उक्साएको आशंका गर्न थालिएको छ । अघिल्लो सरकारका जनप्रतिनिधि अहिले पनि ठेक्का लगाउन नहुने पक्षमा देखिएका थिए ।

महराले ठेक्का लगाएपछि उनीहरु सुरुदेखि असन्तुष्ट भएका थिए । नगरपालिकाले ठेक्का नै लगाएपछि स्थानीय समिति बनाएर वडा कार्यालय पुगेका छन् ।

अघिल्लो वर्षसम्म अवैध उत्खनन हुँदा सबै स्थानीय चुपचाप बसेका थिए । अहिले ठेक्का लगाएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिका संयोजक ठगुन्नाले प्रभावित क्षेत्रका नागरिकले बसोवासको उचित व्यवस्थापन नगर्दै सुरु गरिएको उत्खनन कार्यविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘हामीले यो क्षेत्रमा वर्षौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ,’ उनले भने, ‘नगरपालिकाले अहिले एक्कासि उत्खनन गरिरहेको छ ।’

संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनु पर्ने, रोयल्टीबापत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधिविशेषविरुद्ध होइन,’ उनले भने, ‘समग्र गाउँ बस्तीको विपत् जोखिम न्यूनीकरणका लागि हो ।’

नगरपालिकाले सुनबरा, वनहरा अखौनी सहितका खोलाबाट ढुंगा, गिटी र वालुवाबापत रोयल्टी संकलनका लागि गणपति कन्स्ट्रक्सन प्रालिलाई ६८ लाख १३ हजारमा ठेक्का दिएको छ ।

शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुर सिंह महराले स्थानीयले अघि सारेका माग नगरपालिकामा जानकारी गराउने बताए ।

शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले यसअघि उक्त खोलानालाबाट अवैध रूपमा उत्खनन भइरहेको बताउँदै यसपटक वैधानिक रूपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए ।

मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए। ‘सो गाउँमा सडक, तटबन्ध विकासका लागि म प्रतिबद्ध छु,’ मेयर महराले भने, ‘अब ठेक्का लागिसक्यो, यसमा नगरवासीले पनि सहयोग गर्नुप¥यो, म जनताकै साथमा छु।’

Himal dental
सम्बन्धित
Loading...