
बेदकोटका मेयर बोहराले सर्वपक्षीय बैठकमा पोखे छाडा चौपाया व्यवस्थापनका अवरोधमा आक्रोश, अझै असहयोग भए वन र भेटेरिनरी कार्यालय ल्याउने दिए चेतवानी
महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले व्यवस्थापनमा असहयोग भए छाडा पशु चौपायालाई सरकारी कार्यालयमा ल्याउने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समितिमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा उनले छाडा चौपाया व्यवस्थापनमा देखिएका अवरोधमा आक्रोश पोख्दै वन कार्यालय र भेटेरिनरी कार्यालयमा ल्याउने चेतावनी दिएका हुन् ।

‘विद्यालयको जग्गा भाडामा लिएका छौ, दुई तीन अघि सिडिओ साप जाँदा एउटा निवेदन आएको छ, त्यो जग्गा सामुदायिक वनभित्र भएको भन्ने छ, त्यहाँ सामुदायिक वनको भन्ने आयो, अरु जनताको जग्गा छ, अब नभए मेयरले घर लगेर कसरी गर्छ’ उनले भने,‘भीनपा र बेदकोटले पनि मिलेर व्यवस्थापन गर्न थाल्यौ, के हुँदैन भनेर अहिले त्यस्तै, अब अवरोध भए डिएफओ र भेटरिनरी कार्यालय ल्याउँछौ ।’
छाडा पशु चौपाया व्यवस्थापनको काम मेयरको मात्रै भएको जस्तो देखिएको उल्लेख गर्दै पशु पालन सम्बन्धी सरकारी निकायलाई वास्ता नभएको उल्लेख गरे ।
‘हामी मेयरको काम छाडा पशु चौपाया व्यवस्थापन गर्ने त होइन होला, यो त हामी मेयरको मात्रै काम हो जस्तो भयो, अरु कार्यालय पनि छन्, पशुपन्छी मन्त्रालय छ, अहिलेसम्म त्यसका कुनै मान्छे आएका छैनन्’ उनले भने,‘सहकार्य गर्नु हुन्छ भने ठिक छ, आउनु होस, जे सहयोग हुन्छ, गर्नु होस, फिल्डमा आएर काम गर्न सकिन्न भने बजेट दिनु होस ।’
बेदकोटमा सार्वजनिक सरकारी जग्गा नभएको र जग्गा नभएको स्थानमा शुक्लाफााँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले व्यवस्तथापनका लागि जग्गाको सबैभन्दा ठूलो समस्या भएको मेयर बोहराको भनाई थियो ।
‘जहाँ हाम्रो जग्गा छ, त्यहाँ सबै वफर जोन क्षेत्रमा छ, अन्त जग्गा छैन’ उनले भने,‘१२ बिगाहा जग्गाका लागि सूचना आव्हान गर्दा पनि कोही आएनन् ।’
बैठकमा मेयर बोहराले छाडा पशु चौपाया समस्या बढ्नुको कारण र नगरपालिकाबाट गरिएका प्रयासबारे पनि जानकारी गराए । उनले बेदकोटमा विद्यालयको जग्गामा लिएर व्यवस्थापन कार्य अघि बढेको जानकारी दिए ।
कञ्चनपुरमा ६÷७ वर्षदेखि छाडा पशु चौपायाको समस्या बढ्दै गएको उल्लेख गर्दै उनले गाईले दुध दिएर छाड्ने प्रवृत्ति बढेपछि छाडा चौपाया समस्याका रुपमा देखिएको उनले बताए ।
‘गाई गोरु पहिला पनि छाडिएका हुन्थे, ६÷७ वर्ष यता यो समस्या निकै बढेको छ, गाईले दुध दिन छाडेपछि सडकमा पुगाएर छाडिन्छ, पहिला भारतमा जान्थ्यो, त्यहाँ बन्द भएको छ, पहिला गड्डाचौकी र पचुई नाकाबाट जान्थे, सबैलाई थाह छ’ उनले भने,‘भारत निकासी नभएर पनि समस्या बढ्यो ।’
बेदकोट नगरपालिकामा आफूले बैतोडामा जग्गा भाडामा लिएर व्यवस्थापन कार्य अघि बढेको उल्लेख गर्दै उनले त्यसमा अवरोध हुनु पर्ने बताए । उनले छाडा पशु चौपायाको दिर्घकालिन व्यवस्थापन अन्र्तगत जैविक मल कारखना सञ्चालन गर्न लागिएको बताए ।
‘बेदकोट नगरपालिकामा जैविक मल कारखना बनाउँदैछौ, त्यसमा जैविक मल उत्पादन गर्छौ, त्यसमा गहुँत र गोबर प्रयोग गर्छौ,’ मेयर बोहराले भने ।
मेयर बोहरापछि बोलेका डिभिजन वन कार्यालयका प्रमुख शम्भु प्रसाद तिवारीले बोहराको छाडा चौपाया कार्यालयमा ल्याउने चेतावनीलाई असन्तुष्टि पोखे । उनले मेयरले कानुनी आधारमा मात्रै बोल्नु पर्ने धारणा राखे ।
