कृष्णपुरमा बगर खेतीलाई स्थानीय सरकारको सहयोग, बिऊमा ५० प्रतिशत अनुदान

Amity

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको छ ।

सोमवार कृष्णपुर नगरपालिका वडा नम्बर २ को बनारा खल्ला शिविरमा कार्यक्रम गरी बगर खेती गर्ने किसानहरूलाई नगर प्रमुख हेमराज ओझा ,उपप्रमुख द्रोपती राना र वडा अध्यक्ष अर्जुन साउँदले संयुक्त रूपमा बिउ वितरण गरेका हुन् । बिउ वितरण पश्चात नगरप्रमुख ओझाले किसानहरुको जीवनस्तर सुधारका लागि नगरपालिकाले विभिन्न सहयोगका कार्यक्रम ल्याउने बताए ।

janjyoti campus

नगरप्रमुख ओझाले बेमौसमी तरकारी सहजै उपलब्ध नहुने, उपलब्ध भैहाले अत्याधिक महंगो मूल्यमा उपभोक्ताले खरिद गर्नुपरेको भन्दै वडा न १,२ र ३ का किसानहरूलाई लक्षित गरेर छिट्टै मिनि कोल्ड स्टोर निर्माण गर्ने र समग्र कृष्णपुरबासीका लागि बढी क्षमताको कोल्ड स्टोर बनाउने योजना रहेको बताए ।

नगरप्रमुख ओझाले हिजोको दिनमा बगरखेती सम्पुर्ण भारतीयले गर्ने भए पनि अहिले आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरु बगरखेतीमा संलग्न रही आयआर्जन बढेको बताए ।

अब किसान दाजुभाइहरुले मौसमी खेती मात्र नभइ बेमौसमी खेती गर्न तयार हुनु पर्छ,’ उनले भने, ’त्यसका लागि किसानलाई आवश्यक पर्ने मलखाद एवं बिउ अनुदानमा नगरपालिका उपलब्ध गराउन तयार रहेको छ ।’

यस्तै, उपप्रमुख द्रोपती रानाले नगरपालिका किसानको हितमा रहेर काम गरिरहेको बताइन् । उनले विषादीयुक्त तरकारीको बढ्दो प्रयोगले हाम्रो स्वास्थ बिग्रिदै गइरहेको भन्दै विषादी रहित तरकारी उत्पादन गर्न किसानलाई आग्रह गरिन् ।

वडा अध्यक्ष अर्जुन साउँदले वडाको समग्र विकासका लागि आफूले सक्दो पहल गरिरहेको बताए । उनले तरकारी खेती समय गुजार्ने गरि गर्नु भन्दा पनि आयआर्जनको माध्यम बनाउने गरि अगाडि बढ्नुपर्ने बताए ।

बगरखेतीका लागि आवश्यक पर्ने बिउ भावना कृषक समूह, कल्पना कृषक समूह, जनचेतना कृषक समूह र सम्झना कृषक समूहलाई वितरण गरिएको हो । कृष्णपुरका वडा न २, ३, ७, ८ र ९ मा किसानले बगर खेती गर्दै आएका छन् ।

कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँद, कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लालबहादुर धामी, वडा न २ का सदस्य राजु सिंह र जित चौधरीलगायत बनारा खल्ला शिविरका किसानहरुको उपस्थिति रहेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...