महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्याम्पसका छात्राहरुले साइकल पाएका छन् । क्याम्पसको नव निर्मित भवन उद्घाटन कार्यक्रममा शनिबार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखकले साइकल वितरण गरे । क्याम्पसले छात्राहरुलाई अध्ययनमा प्रोत्साहन गर्नका लागि साइकल वितरण गरिएको सञ्चालक समितिका सदस्य कृष्णराज भट्टले बताए । उनका अनुसार शनिबार १३ छात्रालाई साइकल वितरण गरिएको छ ।
क्याम्पसका जग्गादाता हरि सिह विष्टको सहयोगमा क्याम्पसले साइकल खरिद गरी वितरण गरेको छ । क्याम्पसले केही दिन साइकल खरिदका लागि सार्वजनिक सूचना गरेको थियो ।
क्याम्पस सञ्चालक समितिका सदस्य भट्टले क्याम्पसमा हाल अधिकाँश छात्रा अध्ययनरत छन् । भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रका विद्यार्थीलाई घर नजिक उच्च शिक्षा अध्ययन गराउन जिमुवामा क्याम्पस सञ्चालन गरिएको हो ।
जिमुवाका स्थानीय हरि सिह विष्टले क्याम्पसका लागि जग्गा दिएका छन् । जग्गादाता विष्टको नाममा क्याम्पसको नामाकरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर क्याम्पसले स्नानक तहमा बिएड र बीबीएसका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
विश्वविद्यालयको अनुदान आयोगको सहयोगमा १५ कोठे नयाँ भवन निर्माण गरिएको छ । एक करोड बढी लगानीमा निर्माण गरिएको भवनमा १५ कोठा छन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य कृष्णराज भट्टले उत्तरी क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पस सञ्चालन गरिएको बताए । ‘यो क्षेत्रका वासिन्दालाई बजार गएर मात्रै उच्च शिक्षा अध्ययना गर्नु पर्ने बाध्यता थियो, घर आँगनमै उच्च शिक्षा अध्ययन गराउन क्याम्पस खोलिएको हो’ उनले भने ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष जनकराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा साँसद लेखक प्रमुख अतिथि थिए । उनले स्थानीयको प्रयासमा सञ्चालन गरिएको क्याम्पसलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु बिक्रम सिह धामी, मधु भारती, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, राप्रपाका नेता धर्मराज जोशी लगायतका सहभागी भएका छन् ।