
महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले खुला मञ्चमा आयोजना गर्ने १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा बिक्री हुने टिकटको एक सामाजिक सेवाका लागि दिने भएको छ ।
संघले यस अघिका महोत्सवझैं यस वर्ष पनि फागुन १ देखि १० गतेसम्म खुला मञ्चमा हुने महोत्सवबाट बिक्री हुने टिकटको एक रुपैँया सामाजिक कार्यका लागि दिने भएको हो ।

२०५७ देखि महोत्सव आयोजना गर्दै आएको संघले यस अघि २०७६ मा छाडा पशु चौपाया व्यवस्थापनका लागि टिकट बिक्रीबाट भएको आम्दानीको रकम भम्केनी धामलाई उपलब्ध गराएको थियो । संघका अनुसार चौपाया व्यवस्थापनका लागि दुई लाख १४ हजार धामलाई प्रदान गरिएको छ । कोरोना महामारीका कारण २०७६ पछि यस वर्ष महोत्सव गर्न लागिएको हो ।
संघका अध्यक्ष पिताम्बर जोशीले विगतका वर्षझै यस वर्ष पनि टिकटबाट आम्दानी हुने रकममध्ये प्रति टिकट एक रुपैँया सामाजिक कार्यका लागि दिने बताए । ‘महोत्सवमा बिक्री हुने टिकटको एक रुपैँया सामाजिक विकास कार्यका लागि खर्च गर्र्छाै, त्यो के कार्यका लागि दिने भनेर अहिले तोकिएको छैन’ उनले भने ।
संघले यस २०७६ अघिका महोत्सवबाट महाकाली प्रादेशिक अस्पतालको सघन उपचार कक्षका लागि प्रति टिकट रुपैँया आम्दानी उपलब्ध गराएको थियो । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आएपछि तीन वर्ष अघि २०७६ मा चौपाया व्यवस्थापनका लागि दिइएको थियो ।
२०५७ मा पहिलो पटक खुला मञ्चमा महोत्सव आयोजना गरिएको थियो । त्यसपछि अर्को वर्ष हुन नसकेर पाँच वर्षपछि २०६२ मा दोस्रो महोत्सव आयोजना गरिएको थियो ।
दोस्रोको तीन वर्षपछि २०६५ मा तेस्रो आयोजना भएपछि भने २०७६ सम्म लगभग सबै वर्ष महोत्सव आयोजना हुँदै आएको थियो । कोरोना महामारी संंक्रमणपछि २०७६ पछि यस वर्ष खुला मञ्चमा महोत्सव तयारी गरिएएको हो ।
