
महेन्द्रनगर । बेदकोट नगरपालिकामा १५ शैय्याको नगर अस्पताल निर्माण सुरु गरिएको छ । बेदकोट नगरपालिका ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल बनाउन लागिएको हो ।
दुई वर्ष अघि सरकारले नगर अस्पताल शिलान्यास गरी ठेक्का सम्झौता गरिएको थियो । सरकारको नगरपालिकामा १५ र गाउँपालिका १० शैय्याको अस्पताल बनाउने नीति अनुसार बनाउन लागिएको हो ।

२०७८ वैशाख २२ मा सम्झौता ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीको लापरवाहीले निर्माण कार्य अन्यौलमा परेको थियो ।
सम्झौता अनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।
‘दुई वर्षभित्र सक्ने गरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलो गरी काम सुरु भयो’, उनले भने, ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।’
स्थानीय तह निर्वाचनपछि मेयर भोजराज बोहराले अस्पताल निर्माणलाई प्राथमिकता दिएर अघि बढाएका हुन् । उनले नगर सभाबाट नगर अस्पताल सञ्चालन गर्ने नीति पारित गराएका थिए । त्यसका आधारमा नगर अस्पातल निर्माण अघि बढेको छ ।
सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए ।
बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए ।
‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’, उनले भनिन्, ‘ल्याब, इर्मेजेन्सी लगायतका सेवा सञ्चालन हुने छन् ।’ उनले अस्पताल सञ्चालनमा आए यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए ।
स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम सुरु गरेको’, स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नु पर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनु पर्छ ।’
हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ ।
