महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले सरोकारवाला निकायसंग समसामयिक विषयमा बेदकोट नगर स्तरीय संवाद कार्यक्रम गरेको छ ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवि, पत्रकार लगायतका सहभागी भएका छन् । बेदकोट उप मेयर तुलसी जोशी कार्यक्रममा विशिष्ठ अतिथि थिइन् ।
संस्थाका अध्यक्ष सीता बोहराको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा तनाव, न्याय र न्यायिक समिति लगायतका विषयमा संवाद गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेयर बोहराले मानसिक तनाव अहिले डरलाग्दो गरी बढेकाले नगरपालिका सरोकारवाला निकायसित समन्वय गरी र सहकार्य गरी यसलाई घटाउने कार्यक्रम सञ्चालनका लागि प्रतिवद्ध भएको बताए ।
कार्यक्रममा उनले नगरपालिकाको महिला तथा बालबालिका शाखालाई मनो सामाजिक विमर्श उपलब्ध हुने गरी व्यवस्थापन गर्न निर्देशन दिए । उनले विभिन्न कारणले तनाव उत्पन्न हुने भएकाले मनोसामाजिक विमर्शबाट हल गर्न सकिने उल्लेख गरे ।
उप मेयर जोशीले नगरपालिका सबै वडामा मेलमिलापकर्ता राखेर समुदायका विवाद समाधान हुँदै आएको जानकारी दिँदै हालसम्म एक दर्जन भन्दा बढी मुद्दा न्यायिक समितिबाट मिलापत्र गरिएको बताइन् ।
बेदकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सबैले एक ढिक्का भएर विकास र समृद्धिका लागि कार्य गरेको उल्लेख गर्दै उनले सरोकारवाला निकायसित समन्वय र सहकार्य गरी सधै अघि बढ्ने बताइन् ।
कार्यक्रममा बेदकोट नगरपालिका २ का अध्यक्ष नरेश बहादुर सिह, ३ का अध्यक्ष मोहन गुरुधामी, ४ का अध्यक्ष नरेन्द्र बोहरा, ५ का अध्यक्ष चित्रदेब भट्ट, ६ का अध्यक्ष तुलसी राना र १० का अध्यक्ष रतन सिह विष्ट लगायतका सहभागी भएका छन् ।
केन्द्रले नागरिक आवाजको साझेदारीमा सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्र्तगत नगर स्तरीय संवाद कार्यक्रम गरिएको छ । बेदकोट र भीमदत्त नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा छ ।
केन्द्रका अध्यक्ष बोहराले स्थानीय स्तरका विवाद समाधान गरी समुदाय स्तरमा शान्ति स्थापनाका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले कार्यक्रम सञ्चालन गरेकी थिइन् । स्थानीय स्तरमा भएका समस्या छलफल गरी समाधानका लागि सरोकारवालालाई सचेत गर्न कार्यक्रम गरिएको उनले बताइन् ।