
महेन्द्रनगर । नेकपा एमालेका जनप्रतिनिधिले आफ्नै नेता कार्यकर्ताबाट आफूहरुलाई अवरोध भएको गुनासो गरेका छन् । एमाले पार्टी कार्यालयमा बिहीबार गरिएको जनप्रतिनिधिसित छलफल कार्यक्रममा उनीहरुले प्रतिपक्षी दलका नभएर आफ्नै नेता कार्यकर्ताको अवरोधले हैरान बनेको दुखेसो पोखे ।
लालझडाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले स्थानीय तह निर्वाचनपछि आफूले गरेका कामको जानकारी गराउँदै पार्टीका नेता कार्यकर्ताबाट समस्या उत्पन्न गरिएको बताए ।
‘पार्टीकै केही नेता कार्यकर्ताहरुले समस्या सृजना गरिरहेको छ, हाम्रो विरुद्ध पार्टीकै केही साथीहरू लागेका छन्, उनीहरु व्याक्तिगत स्वार्थका लागि लागेका छन्,’ उनले भने, ‘त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनु जरुरी छ ।’
अध्यक्ष रानाले लालझाडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल आफूले अघि बढाएको उल्लेख गरे । ‘प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएका छौं, दोदा नदीमा तटबन्ध भइरहेको छ । हाट बजार सञ्चालनको तयारी गरेका छौं,’ उनले भने, ‘हात्तीको आतंक रोक्न आवतजावत गर्ने ठाउँमा बत्ती जडान गरिरहेका छौं । ’
स्थानीय तह निर्वाचनमा एमालेले शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिका प्रमुख जितेको थियो । यी तिनै तहका प्रमुख आफ्नै नेता कार्यकर्ताको तारो बनेका छन् ।
लालझाडीका अध्यक्ष रानाले पार्टी नेतृत्वसित कार्यक्रममा दुखेसो पोखेका छन् । शुक्लाफाँटाका नेता कार्यकर्ता र दोधारा चाँदनीमा जनप्रतिनिधि आफ्नै प्रमुख विरुद्ध लागेका छन् ।
अघिल्लो कार्यकालमा एमाले नेता कार्यकर्ता भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट विरुद्ध सक्रिय रुपमा लागेका थिए । उनी नगरालिकाबाट बाहिरएपछि उनी विरुद्ध प्रचार रोकिएको छ । उनी प्रदेश सभा सदस्य निर्वाचनमा समेत उनलाई हराउन चुनावी प्रचार नै गरिएको थियो ।
कार्यक्रममा एमालेका सबै ९ ओटै तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो पालिकाको अवस्था र आफूले गरेको कामकाज सम्बन्धी रिपोर्टिङ्ग गरेका छन् ।
कार्यक्रममा शुक्लाफाँटाका मेयर रण बहादुर महराले आरयुडीपीको कामलाई तीब्रता दिएको महराले बताए । ‘हामी निर्वाचित भएर आउँदा आरयुडिपीको योजना लथालिङ्ग थियो । त्यसलाई लयमा फर्काएका छौं,’ उनले भने ।
फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य समेत अघि बढाइएको मेयर महराले बताए । ‘फोहर व्यवस्थापनलगायत महत्वपूर्ण कार्यहरु अगाडि बढाएका छौं,’ एमाले पार्टी कार्यालयमा बिहीबार गरिएको छलफल कार्यक्रममा उनले भने, ‘कोल्ड स्टोर निर्माणको काम सुरु गरेका छौं, नगरस्तरीय कभर्ड हल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाएका छौं।’
नगरपालिकाले नापीको काम समेत अगाडि बढाएको उनले बताए । ‘शुक्लाफाँटाका १२ वडामध्ये १ वडामा नापीको काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘केही वडाहरुमा नापी भइरहेको छ, त्यसलाई प्राथमिकतामा राखेका छौं ।’
मेयर महराले कृषि क्षेत्रका कार्यक्रम गर्नका लागि सबै वडामा सम्भाव्यता अध्ययन भइरहेको मेयर महराले बताए । ‘सबै वडामा सम्भाव्यता अध्ययन गरी वडाको अवस्था अनुसारका कार्यक्रमहरु अगाडि बढाउँछौं,’ उनले भने, ‘विगतको नेतृत्वले गर्न नसकेको नदीको ठेक्का लगाएका छौं। शुक्लाका जनता खुशी छन्।’
चुनावताका नगरबासीसँग गरेका प्रतिवद्धतालाई नीति तथा कार्यक्रममा समेटेर काम गरिरहेको उनले बताए । ‘हामीले चुनावमा नगरबासीसँग गरेका प्रतिवद्धतालाई नीति तथा कार्यक्रममा समेटेका छौं,’ उनले भने, ‘नीति तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा छन्।’
दोधारा चाँदनी नगरपालिकाले नगरबासीका जनजिविकामा प्रत्यक्ष प्रभाव पार्ने खालका योजनाहरु अगाडि बढाएको मेयर किशोरकुमार लिम्बुले बताए। ‘हाम्रो नगरको आय स्रोत थोरै छ, जनताका अपेक्षाहरु धेरै छन्,’ उनले भने, ‘जनभावना अनुसारका कामहरुलाई अघि बढाएका छौं।’
विकास निर्माणमा शुक्लाफाँटा निकुञ्ज बाधक बनेको उनको भनाई छ। ‘विकास निर्माणका काममा निकुञ्जको कारणले समस्या भएको छ। निकुञ्जको अबरोध छ,’ उनले भने, ‘बफरजोन खारेजी गर्नुपर्ने नगरवासीको माग छ ।’
लालझाडी गाउँपालिकाका अध्यक्ष रानाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिइरहेको अध्यक्ष निर्मल रानाले बताए । ‘हामीले जनतालाई समृद्धिको सपना देखाएका छौं । त्यसैले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा, महिला स्वयंसेविकालाई सम्मानलगायतका कार्यक्रमहरु अगाडि बढाएका छौं,’ उनले भने ।
