
महेन्द्रगर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।
चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्तासहित कारागार पुगेकी पुगेकी छिन् । चौधरी जेलमुक्त भएपछि उनका कार्यकर्ताले सडक जाम पारेका छन् ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरी सहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएपछि चौधरी छुटेका हुन् । भण्डारीले उनी सहित ३९५ जनालाई सजाय माफी गरेकी हुन् ।
चौधरीले शुक्रबार नै ८ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।
