महेन्द्रनगर । उद्घाटन समारोहमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोद भण्डारीलाई मन्तव्य राख्न नदिएपछि असन्तुष्ट नेकपा एमालेले मेला समापन समारोह बहिस्कार गरेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यमा गरिएको समापन समारोहमा एमाले अनुपस्थित भएको हो ।
यस अघि फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरिएको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी र जनसंख्या तथा स्वास्थ्यमन्त्री पदम गिरी सहित साँसद र नेता सहभागी भएका थिए ।
मेला आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघले मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिएपछि एमालेको नेपाल उद्योग तथा व्यापार व्यवसायी महासंघले विज्ञप्ति निकालेर मन्त्री भण्डारीको अपमान गरिएकोमा असन्तुष्टि पोखेको थियो ।
उद्घाटन कार्यक्रममा एमाले साँसद तारालामा तामाङ्ग, काँग्रेस साँसद रमेश लेखकलाई बोल्न दिएपछि भण्डारीलाई मन्तव्य राख्न नदिएर सिधै प्रधानमन्त्रीलार्ए बोल्न दिइएको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य राख्न नपाएपछि मन्त्री मायाको चिनो र खादा मञ्चमा छाडेर गएका थिए ।
मेला समापन समारोहमा एमाले बाहेक काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सहभागी भएका छन् । काँग्रेस जिल्ला सभापति एमव् भीमदत्त नगरपालिका मेयर पदम बोगटी सहित प्रदेश साँसदहरु बेल बहादुर राना, मधु भारती, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा लगायतका काँग्रेसका अन्य नेता सहभागी भएका छन् । उनीहरुमध्ये भारती बाहेक सबैलाई बोल्न दिइएको छ ।
माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टिकेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदत्त जोशी बोक्सर कार्यक्रममा सहभागी भएका छन् । उनीहरुमध्ये भट्टलाई समापन कार्यक्रममा बोल्न दिइएको छ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य पूर्व मन्त्री प्रकाश रावलले कार्यक्रममा सहभागी भएर मन्तव्य राखेका छन् । यसैगरी राप्रपाका नेता पूर्ण बहादुर चन्द पनि कार्यक्रममा सहभागी भएका छन् । उनले कार्यक्रममा मन्तव्य राखेका छन् ।
उद्योग बाणिज्य संघले एमाले सहित सबै दललाई समापन कार्यक्रममा आमन्त्रण गरेको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य राख्न नपाएका मन्त्री भण्डारीलाई समापनमा ल्याउन समेत संघले पहल गरेको थियो ।
उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक कमल थापा सहित संघका पूर्व अध्यक्ष, पदाधिकारी लगायतका सहभागी भएका छन् ।