ghar sansar

जनआन्दोलन–एकको सेरोफेरोमा कञ्चनपुर : प्रजातान्त्रिक आन्दोलनका धरोहर मदन चन्दप्रति हार्दिक श्रद्धाञ्जली

–डा. पदमराज कलौनी

आन्दोलनको पृष्ठभूमिः  वि.सं. २०४५ चैत्र १० गतेदेखि भारतद्वारा लगाइएको नाकाबन्दी (राजा वीरेन्द्र र प्रधानमन्त्री राजीव गान्धी बीचको प्रोटोकल भेदभाव/सोनियालाई पशुपतिनाथ दर्शन गर्न नदिएको) कारण देशमा ईन्धन लगायतका आधारभुत आवश्यक्ताका वस्तुको हाहाकार भएको थियो । भारतसरकासँग असन्तुष्ट रहेका जनता श्री ५ को सरकारले अमन, चयन कायम गराउन नसकेको असन्तुष्टि व्यक्त गरिरहेका थिए । जनअसन्तुष्टिलाई बहुदलवादी दलहरुले व्यवस्थाबिरोधी मोर्चाको रुपमा संगठित गर्ने प्रयास गरे । पञ्चायती व्यवस्थाले सुशासन कायम गर्न असफल भएको थियो । सातवटाकम्युनिष्ट घटक नेकपा माले (महासचिव मदन कुमार भण्डारी, माधब कुमार नेपाल, झलनाथ खनाल), नेकपा अमात्य, नेकपा वर्मा, नेकपा संयुक्त (मानन्धर), नेकपा मार्क्सवादी, नेकपा चौम र नेपाल मजदुर किसान संगठन) मिलेर“संयुक्त वाममोर्चा” निर्माण गरी संयोजकमा साहना प्रधान श्रेष्ठ र मानार्थ अध्यक्षमा तुलसीलाल अमात्यलाई चयन गरी नेपाली काँग्रेसँग संयुक्त रुपमा जाने निर्णय गरेका थिए ।

संयुक्त वाममोर्चासँग मिलेर जान नसकेका कम्युनिष्ट पार्टी मोहन बिक्रम सिंहको नेतृत्वमा रहेको नेकपा मसाल, प्रचण्डको नेतृत्वमा रहेको नेकपा मशाल, रुपलाल विश्वकर्माले सञ्चालन गरेको सर्वहारा श्रमिक संगठन नेपाल, कृष्णदास श्रेष्ठको नेकपा मार्क्सवादी लेनिनवादी पार्टी र शम्भुराम श्रेष्ठसमूह मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलनगठन गरी प्रवक्तामा डा. बावुराम भट्टराई चुनेर आन्दोलनमा सहभागी हुने निर्णय गरे । नेपाली काँग्रेस+वाममोर्चा एउटै संरचना र संयुक्त राष्ट्रिय जनआन्दोलन गरी दुईटा समूहले जनआन्दोलन-एकलाई सञ्चालन गरेका थिए ।

वि. सं. २०४६ माघ ५ गतेनेपाली काँग्रेसका नेता गनेशमान सिंह श्रेष्ठको निवास चाक्सीबारीमा सम्पन्न भएको उद्‍घाटन समारोहमा भारतीय वरिष्ठ नेता चन्द्र शेखर, डा. सुब्रमण्यम स्वामी, हिरकिसन सिंह सुरजीत, डा. फारुक र एम. जे. अकबरले आन्दोलनको सफलताको शुभकामना दिएका थिए । सम्मेलनमा चन्द्र शेखरले युवालाई भाषणद्वारा जोश, जाँगर उत्साहित गर्ने प्रयास गरेका थिए । सम्मेलनस्थल वहाँको जय जयकार भएको थियो । डा. सुब्रमण्यम स्वामीले राजा बीरेन्द्रप्रति गरेको कटाक्ष पनि रोचक थियो । चाक्सीबारीमा भएको नेपाली काँग्रेस र वाममोर्चाको सम्मेलन माघ ५-७ गतेसम्म चलेको थियो ।

जनआन्दोलन परिचालन समितिले कार्यक्रम सार्वजनिक गरे लगतै २०४६ फागुन २ गते वाममोर्चाकी अध्यक्ष साहना प्रधानलाई उनकै निवास (ललितपुर)बाट पक्राउ गरियो । २०४६ फागुन ४ गते नेपाली काँग्रेसका केन्द्रीय समिति सदस्य महेन्द्रनारायण निधिजनकपुरमा पक्राउ परे। फागुन ६ गते नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाआ-आफ्नै निवासमा नजरबन्द गरिए । फागुन ७ गते संयुक्त वाममोर्चाका मानार्थ अध्यक्ष तुलसीलाल अमात्य र मनमोहन अधिकारीआन्दोलनकै क्रममा पक्रिए ।आन्दोलनविधिवत प्रारम्भ रुपमा २०४६ सालको प्रजातन्त्र दिवसको दिनदेखि सञ्चालन गरिएको थियो । राजनीतिक दलहरु आन्दोलनमा होमिएको अवस्थामा भातृसंगठनहरु आन्दोलित भएका थिए । विशेषगरी विद्यार्थी संगठनहरु अग्र मोर्चामा परिचालन भएका थिए । विद्यार्थी संगठनहरुले २०४६ सालकोसहिद दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरेका थिए ।

कञ्चनपुरमा जनआन्दोलन-एक

राजनीति आफैमा एउटा नसा हो । कहिलेकाहीँ “I will leave, don’t leave the blanket” को सिद्धान्त लागु हुन्छ । आपद्‍ बिपद्‍मा सम्बन्ध विच्छेद गर्नु मानवीयता हुँदैन् । यहीँ सेरोफेरोमा जनआन्दोलन-एकमा भोगेका अनुभवजन्य सन्दर्भलाई लिपिवद्ध गर्ने प्रयास गरिएको छ । कञ्चनपुरको जनआन्दोलन-एकले सम्पादन गरेका महान उपलब्धीको स्वामीत्व लिने कार्य नेपाली इतिकारले गरेका छैनन् । जनआन्दोलन राजनीतिक दलको मात्र हुँदैन् । प्रत्येक सहभागीले प्रशासनको आँखा छल्दै आन्दोलनको लक्ष्यलाई संगठित होस्‌ वा असंगठित रुपमा सम्पादन गरेको हुन्छ । आन्दोलनले “जनआन्दोलन”को रुप लिइसकेपछि शुक्ष्म अध्ययन गर्नु झन कठिन कार्य हुन्छ । जनआन्दोलनलाई दबाउन नाममा सहयोग गर्ने, सुराकी गर्ने, झुटा मुद्दा लगाउने, बारम्बार घरमा छापा हाल्ने सुरक्षाकर्मी आदि आफैँमा घृणित कार्यको नालीबेलीको सोधखोज गर्नु पेचिलो विषय छ । जनआन्दोलनलाई मन्थर पार्न आन्दोलनकारीको नामले सरकारको समर्थनमा प्रेस विज्ञप्ति निकाल्ने, धडपकड हुने वित्तिकै सरकारमा भएकासँग नातागोता लगाएर हारगुहार माग्ने घृणित कार्य पनि कञ्चनपुरमा नभएका होपनन् ।

सरकारी हस्तक्षेपको आधारमा आन्दोलनलाई चर्काउने वा मन्थर गर्ने जिम्मेवारी विद्यार्थी संगठनले प्रयोग गरेका थिए । आन्दोलनलाई प्रभावकारी र निर्णायक बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण थियो । सेती महाकालीको परिवेशमा कैलाली र कञ्चनपुर बाहेक अन्य जिल्लामा नेपाली काँग्रेसको जिल्लागत ढाँचा बलियो थिएन् । नेपाल कम्युनिष्ट पार्टीका पुच्छर जोडिएका जिल्लागत संरचना छदै थिएनन् । कम्युनिष्ट नामले चिनिने सबैभन्दा पुराना व्यक्तिमा लक्ष्मीदत्त जोशी (डडेल्धुरा), यादव नाथ शर्मा (पुनर्वास), हरि सापकोटा (पुनरवास), भोजराज जोशी (महेन्द्रनगर) आदि मात्र थिए । २०४२ सालको बमकाण्डपछि नेकपा मानन्धर समर्थकक. चन्द्रदेव जोशीले दार्चुला केन्द्रीत राजनीतिक गतिविधि सञ्चालन गरे पनि जनआन्दोलन-एकमा कुनै भूमिका देखिएन् । शिक्षा, स्वास्थ्य, सञ्चारर यातायातको अभावग्रस्त भूगोलमा जनआन्दोलन-एक हाँक्नु सजिलो थिएन् । बीबीसी सेवा र भारतीय सञ्चार माध्यमले प्रसारण गरेका समाचारका आधारमा आन्दोलनका गतिविधिको जानकारी लिइन्थ्यो । सरकारले आन्दोलनलाई मन्थर पार्न क्याम्पस बन्द गररिरहेको थियो । वि. सं. २०४६ चैत्र २४ गते काठमाण्डौको दरबारमार्गमा संयुक्त राष्ट्रिय जनआन्दोलनले सञ्चालन गरेको कार्यक्रम उग्र र हिंसात्मक भएपछि आन्दोलनले देशभर प्रभाव जमाउन सफल भएको थियो ।

कञ्चनपुरमा दैनिक जुलुस निकाल्ने, पर्चापम्पलेट छर्ने, स्कुल केन्द्रीत सभा गर्ने, सरकारी कार्यालयमा दबाव सिर्जना गर्ने भरपुर प्रयास गरिएको थियो । हुलाक मार्फत् रजिस्टर गरी अञ्चलाधीश जोन्देन उक्याव, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद शर्मा, प्रत्येक कार्यालयका प्रमुख, स्कुल, संघसंस्था, बुद्धिजीवी, पत्रकारआदिलाई सम्प्रेषण गरिएको थियो । हस्तलिखित पर्चाहरुका बारेमा लेखेका व्यक्तिको नाम जिल्ला प्रशासन कार्यालयमा पेश गरिदाको अवस्थामा आन्दोलनकारीका बीचमा अविश्वासको वातावरण सिर्जना भएको थियो । “चिठ्ठी आतङ्क” भन्दै अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीले जिल्ला हुलाक कार्यालयका प्रमुखलाई बोलाइ सेन्सर गरी चिठ्ठीपत्र डिलेभरी गर्ने आदेश दिएका थिए। पङ्तिकार जिल्ला पशु सेवा शाखा बझाङ्गमा पदाधिकारथियो । घरविदा प्रयोजनका लागि महाकाली अञ्चल अस्पतालका डा. गणेश बहादुर सिंहसँग मेडिकल सार्टिफिकेट बनाउथेँ । सिद्धनाथ बहुमुखी क्याम्पसको सूचना र “चिठ्ठी आतङ्क”पश्चात् वहाँले प्रशासनको दबावमा मेडिकल सार्टिफिकेट बनाउन छाड्नु भएको थियो ।

जिल्ला हुलाक कार्यालयले चिठ्ठीपत्रमा सेन्सरको व्यवस्था लागु भएपछि पर्चापम्पलेट राखी देधाराचाँदनी ईलाका हुलाक कार्यालयबाट पत्र पठाइएका थिए । ईलाकाबाट आएका पत्रहरुसेन्सरबिना सम्बन्धित व्यक्ति कहाँ पुगेपछि प्रमुख जिल्ला अधिकारीले दोधाराचाँदनी हाकिम (खरिदार) परमानन्द भट्ट (गोबरैया निवासी) लाई ठाडो आदेशमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले झिकाइ वयान लिई तारिखमा छाडेको थियो ।

एउटा काखे बालक पनि सुराकी हुन सक्छ भन्ने मान्यता स्वीकार गरी आन्दोलनकारीले खाने, बस्नेर कार्यक्रम आदिका बारेमा सीमित विश्वासीसँग मात्र जानकारी गर्ने गरिएको थियो । आन्दोलनकारी बसेको घर, बोलेको मान्छे, हिँडेको बाटो समेत दोषी करार गर्न थालेपछि आन्दोलनकारिले रणनीति परिवर्तन गरेको थियो । स्थानीय भएका नाताले प्रशासनका नजिक घुलमिल हुनेलाई सुराकी सम्झेर उनीहरुलाई लक्षित गरी आन्दोलनकारीलाई सहयोग गर्‍यो, खाना खुवायो, घरमा बैठक बसायो आदि अफवाह चलाएर सम्बन्ध विच्छेदको भरपुर प्रयास गरिएको थियो । पञ्च जो प्रतिकार समितिमा बसेका थिए, प्रशासनिक कर्मचारी, प्रहरी आदिको घर-टोलमा पर्चापम्पलेट छर्ने कामलाई द्रुत गतिमा सञ्चालन गरेका थियौं । आन्दोलनकारीको सोचाई के थियो भने तिनलाई दोहोरो भूमिका खेलेको भन्दै प्रशासनले विश्वासघाती ठानोस्‌ । आन्दोलनको क्रममा उपाय एकदम सफल भएको थियो । स्थानीय प्रहरीलाई सजाय स्वरुप कोतगार्ड ड्युटीमा खटाइएको भन्ने मौखिक जानकारी पाएका थियौं  । बिडम्बना जनआन्दोलन सफल भएपछि उनीहरु पनि “बहुदलबादी”ठहरिए ।

आन्दोलनको क्रममा विभिन्न रणनीति अवलम्बन गरिएका थिए । कञ्चनपुरको उल्टाखाम भेला हुने भनेर प्रचार गर्थ्यौ,वास्तविक भेला गोबरैयामा गरेका थियौं । बागफाँटामा गर्ने भनिएको भेला हालको विष्णुधाम नजिक घाडीघाँचमा गरेका थियौं । एकदिनको कार्यक्रम हल्दुखाल नारायण चन्दको घरमा गरिएको थियो । प्रशासनिक निगरानीका कारण केही कार्यक्रम विषयान्तर गर्नु परेको थियो । शिवरात्रीको दिन जिल्ला पशु सेवा शाखा कञ्चनपुरबाट पशु मेला प्रदर्शनी गरिन्थ्यो । प्रदर्शनीमा भाग लिने पशुलाई कालो पट्टी/झण्डा ओडाएर लैजाने कार्यक्रम तय गरेका थियौं । गोप्यता बाहिरिदा प्रशासनले प्रदर्शनी रद्द भएको थियो ।

पञ्चहरुको कुविशेषणको प्रहारःपञ्चायती सरकारले प्रजातन्त्रवादीलाई होच्याउने गरी “विदेशीको बुई चढेका, भेँडाका छाला ओढेका ब्वाँसाहरू, कोठे राजनीति गर्ने, विदेशीका दलालहरू, नाङ्लो ठटाएर हात्ती तर्सिन्न” आदि विशेषणद्वारा विभूषित गरी गालीगलौज गर्थे ।

आन्दोलनमा प्रेरणाः २०४६ चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलनले नेपाल बन्दको घोषणा गरेपछि जनआन्दोलनको वातावरण तात्दै गएको थियो ।आन्दोलनको प्रभाव चारैतिर पर्न गयो । भक्तपुर, चितवन, हेटौँडा, जनकपुर, पोखरा आदि शहरी क्षेत्रमा सरकारले धपकड,हत्या र हिंसा बढायो। भक्तपुरमा हेलिकेप्टरबाट गोली चलाएको सार्वजनिक भयो । भक्तपुर र पाटनका जनताले अपरिचित र प्रहरीलाई निषेध गरी “मुक्त क्षेत्र”घोषणा गर्‍यो । भूमिगत नेताहरू खुल्लम खुला भाषण गर्न थाले ।

आन्दोलन तुहाउने प्रयासः नेपाली काँग्रेसको नाम जोड्दै बीपीपुत्र प्रकाश कोइरालाले आन्दोलन स्थगन गर्नु पर्ने व्यक्तव्यबाजी गरे ।

संयक्त जनआन्दोलन समितिले तय गरेको पहिलो चरणको कार्यक्रम कञ्चनपुरमा

(फागुन ६-१९ गतेसम्म)

  • २०४६ फागुन ७ गतेः बहुदलका पक्षमा नारा लगाउदै पञ्चायतको बिरोध गर्ने कार्यक्रम अनुसार प्रजातन्त्र दिवसमा सहभागिहुने क्रममा सिद्धनाथ बहुमुखी क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थी सहभागी । फागुन ७ गते बीच बजारमा जुलुस पुगेपछि कालोझण्डा र पार्टीझण्डा देखाउने कार्यक्रम थियो । जुलुस भित्रबाट खटिएकाले हिक्मत गर्न नसकेमा महेन्द्रनगर नगरविकास समितिले निर्माण गरिरहेको बजारको मेन लाइनको उत्तरपट्टी (खानेपानी कार्यालय तर्फ)को दुईतले व्यापारीक भवन माथिबाट झण्डा फहराउने कार्यक्रम थियो ।

बजारमा जुलुस प्रदर्शन हुनु अगावै बहुमुखी क्याम्पसका विद्यार्थीलाई क्याम्पसमा अलमलाउने प्रयास गरिएको थियो । पङतिकार, सिता राम चटौत, लक्ष्मी दत्त भट्ट र धन बहादुर भाटको जिम्मेवारी बजारमा थियो । मध्यरातदेखि पङ्तिकारको घरको मूलगेटमा कोरियन डेभ्लपमेन्ट कम्पनी (KDC) को ट्रिपरमा प्रहरी तैनाथ गरिएकोले बाहिर निस्कन पाइएन । विहानै घरमा छापाहान्दा कुखुराको दाना राखेको गोदाममा लुकेर बसेँ । त्यसपछि सोही टोली छिमेकमा डेरागरी बस्ने दशरथ चन्दकोमा छापा हान्न गएको मौका छोपी क्याम्पसमा गएको थिएँ । दशरथ चन्दपहिले भागेका रहेछन् ।

क्याम्पसमा प्रहरी तैनाथ गरिएका थिए । विद्यार्थीको संख्या भन्दा बढता संख्या प्रहरी उपस्थित थिए । क्याम्पस प्रशासनले ३ वटा नारा तय गरी लिखित रुपमा थमायो । नेपालको आमाको- जय, हाम्रो राजा हाम्रो देश-प्राण भन्दा प्यारो छअमर सहिद- जिन्दावाद । क्याम्पसबाट निस्कने क्रममा सो नाराहरु लगाइए पनि प्रजातन्त्र- ल्याउछौ ल्याउछौपञ्चायती व्यवस्था- मुर्दावाद संयुक्त जनआन्दोलन- जिन्दावादभन्ने नारा लगाउदै अगाडि बढ्यौं ।

प्रसासनले खटाइएका र पञ्चायत समर्थक विद्यार्थीले नारामा साथ दिएनन् । सिद्धनाथ बहुमुखी क्याम्पस त्यसबेला विहान र बेलुका गरी दुई सिफ्टमा चल्थ्यो । रात्रीकालिन समयमा अधिकांस पढ्ने विद्यार्थी शिक्षक, कर्मचारी, व्यापारी र प्रहरी समेत थिए । वरपीपलको उत्तरपट्टीको नहरमा पुग्ने वित्तिकै जुलुसलाई प्रहरीले रोक्यो । पार्कपट्टी प्रहरीभ्यान बीच सडकमा बाटो छेक्नेगरी राखिएका थिए । जुलुस अगाडि बढ्न खोज्दा झडप भयो । अञ्चालधीश स्वयं उपस्थित थिए ।

विज्ञान क्याम्पसबाट आएको जुलुस मूल सडक छोडी हाम्रैमा मिसियो । दुईटा जुलुस एउटै स्थानमा मिसिएपछि नाराबाजी भयो । “काना के खोज्छस आँखा” भनेझैँ प्रहरीले लठ्ठी चार्ज गरी तितर वितर गर्‍यो । झडपमा विज्ञान क्याम्पसकाविद्यार्थी तिलकराज जोशी र एकजना (नाम जानकारी नभएको) अरु गरी दुईजना पक्रिए । विद्यार्थी प्रतिकारमा उत्रिए । प्रशासनकै चाहनानुसार फागुन ७ गतेको योजना विफल बनाइ छाड्यो । समीक्षा गर्दा सूचना चुहेको अनुमान लगायौं ।

स्मरणिय रहोस २०४६ साल माघ १६ गते बहमुखी क्याम्पसमा सहिद दिवस मनाउने क्रममा भएको विवादलाई आधार बनाएर क्याम्पस प्रशासनको सूचनालाई आधार मानी महाकाली अञ्चलाधीशको कार्यालयको प. स. शा. शु. ०४६/४७ च. नं. १४५९ मिति २०४६।१०।२० को पत्रमा तपाई कञ्चनपुर जिल्लामा बसी कर्मचारीले पालना गर्नु पर्ने आचरण बिपरीत बिरोधी राजनीति गितिविधिमा लागि सरकारको आचोलना र व्यवस्था बिरुद्ध कामकुरो गरेको बुझिएकोले नोकरीबाट बर्खास्त किन नगर्ने ? भन्दै पङ्तिकारलाई बर्खास्त गरेको थियो । सोही सहिद दिवसमा भाषण मार्फत् मरिचमानको नाकाबन्दीलाई सहयोग गर्नुस नत्र तिमीहरुको जागिर जान्छ भनेर त्रास देखाउने एकजना मरीचमानका सहयोगी विद्यार्थी बहुदल आएपछि मन्त्री भए ।

  • पञ्चायती सरकारले प्रजातन्त्र दिवस मनाइ रहेको सार्वजनिक मञ्चको कार्यक्रममा कालो र चारतारे झण्डा प्रदर्शन गर्दा मदन चन्द र यज्ञराज चटौतले फागुन ७ गते गिरफ्तार ।
  • प्रशासन गरेको धडपकड र जुलुस माथि गरेको लठ्ठी चार्जको विद्यार्थीद्वारा भत्सर्नाः विज्ञान क्याम्पस र बहुमुखी क्याम्पसका विद्यार्थी माथि भएको बरबरतापूर्ण दमन र प्रजातन्त्र दिवसको सिलसिलामा सार्वजनिक मञ्चमा गरेको बिरोधका क्रममा पक्रेका राजबन्दीको रिहाई माग गर्दै फागुन ७ गते बेलुकाहस्त लिखित पर्चापम्पलेट बितरण गरी बजारमा छरेको । यसकार्यमा पङ्तिकार, दशरथ चन्द, दीर्घराज कलौनी, किशोर चन्दको भूमिका थियो ।
  • २०४६ फागुन ८ गतेः देशव्यापी रुपमा नेपाल बन्दको कार्यक्रम कञ्चनपुरमा प्रचारप्रसार गरिएको थियो । पक्रिने सम्भावना छ सतर्क रहने सुझाव दिदादिदै बीरेन्द्र प्रसाद तिवारी विहानै आफ्नै डेरामा पक्राउ परे । विज्ञान र बहुमुखी क्याम्पसमा तालाबन्दी । नेपाल बन्दको आव्हान ।
  • २०४६ फागुन १४ गतेः पञ्चायती व्यवस्थाको विरोधमा कालो दिवसको रुपमा मनाइएको थियो ।
  • २०४६ फागुन १९ गतेः नेपाल बन्द गर्ने सिलसिलामा बजारका केही व्यापारीसँग विवाद । नेपाल बन्दको कार्यक्रमलाई सफल बनाउन पहल ।

संयक्त जनआन्दोलन समितिले तय गरेको दोश्रो चरणको कार्यक्रम र कञ्चनपुर

(फागुन २६ देखि चैत्र १० गतेसम्म)

  • २०४६ फागुन २६ गतेःदेशभर पञ्चायतको पुत्ला जलाउने कार्यक्रम अन्तर्गत कञ्चनपुरको दक्षिणी भाग सालघारी (ओमप्रकाश चौराह) मा पञ्चायतको पुतला दहन । सहभागिहरुमा पङ्तिकार, बिक्रम बहादुर शाही, कृष्णप्रसाद बोकटी, शुशील भट्ट, दीर्घ राज कलौनी । कृष्ण प्रसाद बोकटीले कात्रो र मट्टीतेल किनेर ल्याएका थिए ।
  • फागुन २७-२९ गतेसम्म पार्टीका झण्डा फहराउनेःकञ्चनपुरमा जिल्ला हुलाक कार्यालयको पूर्वपट्टी सडकछेउमा रहेको जनवर्गीय संगठनको कार्यालयमा फहराइएका वर्गीय संगठनका झण्डासँगै चारतारे र हसिया हतौडा अंकित झण्डा फहराइएका थिए ।

विज्ञान क्याम्पसका अनेरास्वयु पाचौं प्रारम्भिक कमिटीका अध्यक्ष विनोद लेखक, फेडरेसनका विष्णु जोशी र गङ्गा अवस्थीले फागुन २७ गते मध्यरातमा नेपाल दूरसञ्चार कञ्चनपुरको टावरमा प्रहरीको आँखा छल्दै सिमसिमे पानीमा भिज्दै झण्डा टाङेका थिए । विहान टाङिएका झण्डा सर्वसाधारणले देखेपछि हेर्नेको भीड लागेको थियो । 

  • फागुन ३० गतेः राजनीतिक दलहरुलेजुलुस गर्ने कार्यक्रम थियो । विद्यार्थीद्वारा फाट्टफुट्ट जुलुस निकाल्ने कार्यक्रम भए पनि प्रहरीको जबरजस्त तैनाथी र राती आन्दोलनकारीको घरघरमा भएको खानतलासीले उद्देश्य पुरा हुन सकेन ।
  • २०४६ चैत्र १ गतेः नेपाल बन्द कार्यक्रम सफल भएको थियो । आन्दोलनकारीले यातायात मार्ग अवरुद्ध गर्दा विहानदेखि दिउँसोसम्म यातायात सेवा ठप्प भएको थियो । बजार स्थित प्रायः शैक्षिक संस्था बन्द गरिएका थिए ।
  • २०४६ चैत्र ७ गते गोबरैया सम्मेलनः गोबरैया सम्मेलन पङ्तिकारको संयोजकत्वमा भएको कार्यक्रममा कृष्णदत्त भट्ट, लिलाधर भट्ट, यज्ञराज भट्ट, डम्बरदत्त भट्ट, दुर्गादत्त भट्ट, भुवनचन्द्र भट्ट, विष्णुदत्त जोशी, दिर्घराज कलौनी आदिको उपस्थिति थियो ।
  • २०४६ चैत्र १० गतेः एकता दिवश मनाउने सिलसिलामा भएको समीक्षाले अन्य जिल्लामा आन्दोलनले गति नलिएको हुँदा कञ्चनपुरबाट अन्य जिल्लामा अनुगमन गर्न खटिने निर्णय गरेको थियो ।आन्दोलनमा सक्रीय सहभागिताको संख्या घट्दै गएकोप्रति छलफल भएको थियो ।
  • चैत्र १२ गतेःचैत्र १० गतेको निर्णय अनुसार नेपाल बन्द लगायतका कार्यक्रमको अवस्था बुझ्न पङ्तिकार सहित ७ जनालाई विभिन्न जिल्लामाखटाइएको भन्ने निर्देशन बमोजिम पङ्तिकार बैतडी अनुगमनमा खटाइएको थियो । भारत, हरिद्वारबाट आएका नेपाली आन्दोलनकारी टोलीले उक्त कार्यमा सहजीकरण गरेका थिए । (टोलीका सदस्यको जानकारीको अभावमा उल्लेख गर्न असमर्थ)
  • चैत्र १२ गतेदेखि १५ गतेसम्मःवनवासा-टनकपुर-झुलाघाट हुँदै बैतडी । बैतडी सदरमुकाममा रहेको वी. व्या. मा. वि. साहिलेक लगायतका स्कुल लक्षित कार्यक्रम सफल भएनन् । बैतडीमा कार्यक्रमका बारेमा कर्ण बहादुर चन्द र मोहन बहादुर चन्दसँग छलफल । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आन्दोलन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै कञ्चनपुर फिर्ता । सातजना खटाइएका भनिएका मध्ये पङ्तिकार मात्र उपस्थित ।

संयक्त जनआन्दोलन समितिले तय गरेको तेश्रोचरणको कार्यक्रम र कञ्चनपुर

(२०४६ चैत्र १६ देखि २६ गतेसम्म)

१. २०४६ चैत्र १६ गतेः ब्लाकआउट गर्ने र नेपाली समाचार बहिष्कार गर्ने-बेलुका ७-१०.३० बजेसम्म बत्ती निभाउने कार्यक्रम प्रभावकारी हुन नसकेको ।

२. २०४६ चैत्र १७ उल्टाखाम/बागफाँटा सम्मेलनः सम्मेलन स्थलमा प्रहरीको उपस्थितिले सफल भएन ।

३. राजाले २०४६ साल चैत १९ मा मन्त्रिपरिषद्‍माहेरफेर।

४. चैत २४ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषदविघटन गरी लोकेन्द्रबहादुर चन्द नेतृत्वमा मन्त्रिपरिषद गठन ।यस कदमले आन्दोलन झन चर्कियो ।

५. २०४६ चैत्र २४ गतेः सदरमुकाम र वरपर स-साना जुलुस र पर्चापम्पलेट छर्ने, टाँस्ने र वितरण गर्ने कार्य सम्पन्न । कार्यक्रममा जनचाँसो बढ्दै गएको अनुभव ।

६. २०४६ चैत्र २६ गतेः राती राजाबाट कृष्ण प्रसाद भट्टराई, साहना प्रधान, गिरिजा प्रसाद कोईराला, राधाकृष्ण मैनालीसँग भेटगरी संविधानबाट “पञ्चायत” शव्द झिकी दलमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा ।

७. २०४६ चैत्र २७ गतेःनिर्धारित कार्यक्रम अनुसार पञ्चायती संविधान जलाउने थियो । शाही घोषणका कारण स्थगित । विहानैदेखि सदरमुकाममा विभिन्न समयमा बजारमा टुक्रटुक्री विजय जुलुस भैरहे । मान्छेमा अन्यौलता देखिन्थो । जुलुसमा विद्यार्थी र आन्दोलनकारी बाहेक सर्वसाधारणको उपस्थिति थिएन ।

वैशाख ३ गते लोकेन्द्र बहादुर चन्दलाई हटाएर आन्दोलनकारी सहितको सरकार गठन

  • कृष्णप्रसाद भट्टराई- प्रधानमन्त्री, राजदरबार, रक्षा र परराष्ट्र
  • श्रीमती साहना प्रधान- मन्त्री- उद्योग र वाणिज्य
  • केरशरजङ्ग राईमाझी- मन्त्री- शिक्षा तथा संस्कृति र सामान्य प्रशासन
  • अच्युतराज रेग्मी- मन्त्री- आवास तथा भौतिक योजना
  • महेन्द्रनारायण निधी- मन्त्री- जनश्रोत तथा स्थानीय विकास
  • योगप्रसाद उपाध्याय- मन्त्री- गृह तथा सञ्चार
  • नीलाम्बर आचार्य- मन्त्री- कानुन तथा न्याय, श्रम तथा सामाजिक कल्याण र पर्यटन
  • मार्शलजुलुम शाक्य- मन्त्री-आपुर्ति, निर्माण तथा यातायात
  • झलनाथ खनाल- मन्त्री- कृषि भूमिसुधार तथा व्यवस्था र वन तथा भू-संरक्षण
  • देवेन्द्रराज पाण्डे-मन्त्री- अर्थ
  • मथुराप्रसाद श्रेष्ठ-मन्त्री -स्वास्थ्य

जनआन्दोलन-एकमा विभिन्न मितिमा कञ्चनपुरमा पक्रिएका आन्दोलनकारी

नेपाली काँग्रेस– पि. एच. भट्ट (प्रताप हरी भट्ट), दुर्गादत्त जोशी, तारणी दत्त चटौत, बिष्णु प्रसाद बास्तोला, मंगल बहादुर सिंह, देवराज बोहरा, नारायण चन्द, मदन चन्द, गंगादत्त जोशी, अन्तराम भट्ट, वासुदेव भट्ट, यज्ञराज चटौत, टिका दत्त बैज, पदम बोगटी, मान बहादुर चन्द, बल्देव बोहरा, रधुवर भट्ट ।

नेकपामालेः हरि प्रसाद सापकोट

नेकपा संयुक्त (मानन्धर)– भोजराज जोशी ।

स्वतन्त्र वामपन्थी– यादवनाथ शर्मा ।

कुनै संगठनमा आवद्धता नभएका विद्यार्थी– बीरेन्द्र प्रसाद तिवारी ।

कैलाली कारावासमा परेका कञ्चनपुरका कैदीबन्दीः नेपाली काँग्रेसका नेता कृष्ण कुमार जोशी र नेपाल विद्यार्थी संघका प्रेम बिष्ट ।

प्रवास र जेलबाहिर सक्रिय भएर आन्दोलन हाँक्नेमाः खेम राज जोशी- नेपाली काँग्रेस ।

सर्वसाधारणका तर्फबाट योगदान दिनेमाःभारत, वनवासाबाट पर्चापम्पलेट बोक्नेमा भानु मोमबत्तीका प्रोपराइटरजित सिंह राउत ।

जनआन्दोलन-एकमा सदरमुकामको आन्दोलनमा भूमिका निर्वाह गर्ने प्रमुख विद्यार्थी नेताहरु

वामपन्थी विद्यार्थीः पदमराज कलौनी, बिक्रम बहादुर शाही, विनोद लेखक, दीर्घराज कलौनी, कृष्णदत्त भट्ट, ईश्वरी प्रसाद खरेल, लवदेव जोशी, गजेन्द्र शाही, फेडरेसनका विष्णुजोशी, गङ्गा अवस्थी, विष्णु दत्त जोशी (गोबरैया) आदि ।

नेविसंघ समर्थकःदशरथ चन्द, सिताराम चटौत, महेश दत्त लेखक, सुभाष जोशी, नेत्र प्रसाद पनेरु आदि ।

स्वतन्त्र देखिने विद्यार्थीः सुरेश भट्ट (शिक्षक), बीरेन्द्र प्रसाद तिवारी, कृष्णदत्त बोकटी, लक्ष्मीदत्त भट्ट, धनसिंह भाटआदि ।

सिद्धनाथ विज्ञान क्याम्पसका क्याम्पस प्रमुख डा. हरिदत्त लेखकलाई बहुदलवादी विद्यार्थीलाई सहयोग गरेको आरोपमा त्रिभुवन विश्व विद्यालयले तुरुन्त काठमाण्डौ हाजिर गराएको थियो ।

समष्टिगत रुपमा कञ्चनपुरको जनआन्दोलन-एक

आन्दोलनको सुरु भएदेखि प्रहरी आक्रमक थियो । काठमाण्डौ र चितवनमा अन्धाधुन्ध घातक गोली प्रहार गरिएका घटनाले आन्दोलनकारिमा मानसिक आतङ्क फैलिएको थियो । दलबाट आव्हान भएको आन्दोलनमा सीमित विद्यार्थी बाहेक अन्य पेशाकर्मीहरुको सहभागिता थिएन् । देशका अन्य भागमा साहित्यकार, प्राध्यापक, वकील, इन्जिनियर, चिकित्सक, मेडिकल पारामेडिक्स, कर्मचारी, साहित्यकार आदिले कालो पट्टी बाँध्ने, पेन डाउन गर्ने, मौन जुलुस गर्ने आदि कार्यक्रम सम्पन्न गर्दा कञ्चनपुर सुनसान थियो । “कुनै हालतमा पञ्चयाती व्यवस्था ढल्दैन” भन्ने ज्योतिषीको बिगबिगी थियो । आन्दोलनले सबैभन्दा बढी प्रभावित शैक्षिक संस्थालाई पुर्‍याइएको थियो ।

आन्दोलनकारीले जनतालाई “कर नतिर्ने र बैङ्कबाट पैशा झिक्ने”आव्हान गरेको कार्यक्रमले सरकार आत्तिएको थियो । सहरी क्षेत्रमा बैङ्कमा पैशा जमा गरेका बचतकर्ताले धमाधम पैसा झिक्न थाले । बैङ्कमा पैशा झिक्नेको भीडभाड बढ्यो । बैङ्कहरुमा नगद अभाव हुन थाल्यो । सरकारले रेडियो र टेलिभिजनमार्फत“झुटो हल्लाका पछि नलाग्न” गरेको अपिलले वचतकर्ताको लाइन बैङ्कमा लाग्न थालेको थियो ।

जनआन्दोलन-एकलेराजनीतिक परिवर्तन मात्र नगरी राजादेखि रङ्कसम्मको अहंकारपूर्ण संस्कृतिलाई समाप्त गरेको थियो । प्रत्येक राजनीतिक दलको लक्ष्य पञ्चायत व्यवस्थाको अन्त्य भए पनि विभिन्न स्वार्थ केन्द्रीत हुँदा एकता गर्न सकिरहेका थिएनन् । जनआन्दोलन-एकले लोकतन्त्र, मानवाधिकार, प्रेस स्वतन्त्रता, उदार आर्थिक नीति आदिमा बहस चलाउने ढोका खोलेको थियो । राजामहाराजाले मात्र शासन चलाउन सक्छन् भन्ने मान्यतालाई फेर्ने प्रेरणा जगायो । राजाले बोलेको कुरा कानुन हुने प्रथाको सट्टा संसदले कानुन निर्माण गर्छ भन्ने मान्यता स्थापित गर्‍यो । जनता सार्वभौम शक्तिको रुपमा स्थापित गर्‍यो ।

अन्त्यमा वि. सं. २०७९ फागुन ३ गते कञ्चनपुर, ऐंठपुर (मधुवन टोल) माआफ्नै निवासमादिवङ्गत हुनु भएका प्रजातान्त्रिक आन्दोलनका धरोहर जनआदोलन-एकका साहसिक योद्धा मदन चन्दप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु। वहाँले देश र जनताका लागि पुर्‍याउनु भएको योगदानको कदर नेपाली जनताले सदैव श्रद्धाभावका साथ लिइरहने छन् ।

(लेखमा उद्धृत नामहरु मध्ये केही व्यक्ति धर्तीबाट विदा भइसकेका छन् । जनआन्दोलन-एकमा सक्रिय नेतृत्वदायी भूमिका निभाएका व्यक्तिको नाम सोधखोज गरी उल्लेख गरिएको छ । आन्दोलनको विपक्षी मोर्चामा रहेका व्यक्ति जसले आन्दोलनकारिलाई दुःख दिए, झुटा मुद्दा लगाए, जेल हाल्न सहयोग गरे, पेशा व्यवसाय चौपट पार्ने प्रयास गरेतिनलाई बिर्सने कुरै भएन । आन्दोलनमा सहभागी हुनेको नाम नछुटोस भन्ने संवेदनशीलतालाईध्यानमा राखी सहयोद्धा बीरेन्द्र प्रसाद तिवारी, विनोद लेखक, कृष्णदत्त भट्ट, ईश्वरी प्रसाद खरेल, दीर्घराज कलौनी र सुभाष जोशीसँग प्रत्यक्ष सम्पर्क गरी रुजु गरेको छु । यति हुँदाहुँदै पनि विज्ञान क्याम्पसमा पढ्ने आन्दोलनकारी बर्दियाका……आचार्य र २०४६ चैत्र १२ गते भारत, हरिद्वार-वनवासाको बाटो हुँदै कञ्चनपुर भित्रिएका आन्दोलनकारी आदिको नाम जानकारीको अभावले उल्लेख गर्न सकिएन । लेखको आशय के पनि हो भने छुट भएका नाम कोही कसैलाई जानकारी भएमा ई-मेल ठेगाना[email protected]मा पठाइ दिनु भएमा ऐतिहासिक दस्तावेजको रुपमा समावेस गर्ने प्रतिज्ञा गर्दछु ।

धन्यवाद ।)

Himal dental
सम्बन्धित
Loading...