महेन्द्रनगर । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले नेपालमा पछिल्लो समय राजनीति विकृत बनिरहेको बताएका छन् । धनगढीमा मानवअधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने पनि बताए । राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको दाबी गरे ।
उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ ।’
आफ्नो प्रतिबद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै जनताले सजाय दिनेसमेत उनको भनाइ छ ।