
महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ को चुरे क्षेत्रमा विपाश्यना ध्यान केन्द्रका लागि निर्माण गरिएको पर्खाल भत्काईएको छ । वन कार्यालयले चौतर्फी दबावपछि बुधबार ध्यान केन्द्रका लागि निर्माण गरिएको दुई सय मिटर लामो पर्खाल भत्काएको हो ।
सुदूरपश्चिम विपाश्यना धार्मिक वनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा वन क्षेत्र फँडानी गरी अवैध रुपमा पर्खाल बनाएको थियो । वन कार्यालयले स्वीकृति दिएको सुदूरपश्चिम विपाश्यना ध्यान केन्द्रले ध्यान केन्द्र बनाउन पर्खाल लगायतका संरचना बनाउन थालेको थियो ।

ध्यान केन्द्रका लागि गत वर्षदेखि संरचना निर्माण थालिएको थियो । स्थानीयको विरोधपछि वन कार्यालयले तत्काल संरचना निर्माण रोके पनि पछि एकाएक संरचनान निर्माण गरिएका थिए । वन कार्यालयको मिलेमतोमा संरचना निर्माण गरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।
भीमदत्त नगरपालिका वडा नं. १० र ९ का वडा अध्यक्ष सहित जनप्रतिनिधि र सरोकारवालाले वन कार्यालयलाई पर्खाल भत्काउन दबाव दिएका थिए । केही दिन अघि ज्ञापन पत्र बुझाएर वन कार्यालयले भत्काउन आनाकानी गरिए स्थानीय आफंैले भत्काउन चेतावनी दिएका थिए ।
बुधबार डिभिजन वन कार्यालय कञ्चनपुरको टोली संरक्षणकर्मी सहित ताराकोट क्षेत्रमा पुगेर भत्काएको हो । ब्रम्हदेब सव डिभिजन वन कार्यालयका प्रमुख जीवन भण्डारीले कार्य योजना पर्खाल निर्माण गरिएकाले भत्काइएको बताए । ‘कार्य योजना विपरित कार्य गरिएकाले भत्काइएको हो’ उनले भने ।
यस अघि वन कार्यालयको ब्रह्मदेब डिभिजन कार्यालयका तत्कालिन प्रमुख प्रकाश जोशीले निर्माण कार्यलाई नजर अन्दाज गरेका थिए । उनी अहिले बढुवा भएर डडेल्धुरा वन कार्यालय पुगेका छन् । तत्कालिन प्रमुख जोशीलाई निर्माण कार्य सम्बन्धी जानकारी भए पनि उनी मौन बसेको वन कर्मचारीको भनाई छ ।
ध्यान केन्द्रका लागि सुरुमा संरचना निर्माण सुरु गर्दा पनि उनले आनाकानी गरेका थिए । स्थानीयको विरोध आएपछि मात्रै उनी निर्माण कार्य रोक्ने अग्रसरता देखाएका थिए । ब्रह्मदेब डिजिभनमा भण्डारी अघि नै पर्खाल निर्माण भई सकेको थियो ।
वन कार्यालयका तत्कालिन प्रमुख अजयबिक्रम मानन्धरले राजनीतिक र व्यवसायीको पहुँचका आधारमा चुरे क्षेत्र विनाश हुने गरी धार्मिक वन बनाउने अनुमति दिएका थिए । धार्मिक वनमा सबै राजनीतिक दलका नेता, जनप्रतिनिधि र ठूला उद्यमी व्यवसायी संलग्न छन् । राजनीतिक दलको संलग्नता भएपछि सुदूरपश्चिम प्रदेश सरकारले चुरे क्षेत्र फँडानी गरी संरचना बनाउन बजेट दिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण गरिएका संरचनाबारे वन कार्यालयलाई भने जानकारी दिइएको छैन । वन कार्यालयका प्रमुख शम्भु प्रसाद तिवारीले वन अतिक्रमणमा ध्यान केन्द्रका अध्यक्ष नारद पाण्डेलाई कानुनी कारवाही गरेका थिए ।
डिभिजन वन कार्यालयले २०७७ मा धार्मिक वन बनाउन अनुमति दिएको थियो । काष्ठ व्यवसायी,व्यापारी र राजनीतिक दलका नेता संलग्न भएपछि सुरुदेखि धार्मिक वन आशंका गर्न थालिएको थियो । विपाश्यना ध्यान केन्द्रका नाममा ताराकोट क्षेत्र व्यवसायिक कार्य अघि बढाउन खोजिएको आशंका गरिएको थियो । स्थान्ीयले बतास समूहलेझैं ताराकोट कब्जा गर्न थालेको भन्दै विरोध गरेका थिए ।
संरक्षणकर्मी धर्मानन्द पन्तले चुरे नाश हुने गरी निर्माण कार्य भएकाले भत्काउनु पर्ने अवस्था भएको बताए । ‘यो चुरे क्षेत्रमा ठाडो अतिक्रमण हो,बनाउनु दिनु नहुने हो, आज भत्काएर राम्रो गरिएको छ’ उनले भने ।
अवैध संरचना निर्माण गरिएपछि वन कार्यालय धार्मिक वन खारेज गर्ने मनस्थितिमा पुगेको छ । स्थानीय सहितले वन खारेज गर्न पनि वन कार्यालयमाथि दबाव बढाएका छन् ।
सुदूरपश्चिम विपाश्यना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले डिभिजन वनबाट धार्मिक वन दिँदा कार्य योजनामा पर्खाल लगाउन दिने उख्लेख भए पनि अहिले आएर ध्यान केन्द्रका निर्माणाधिन संरचना हटाएको बताए ।
‘विगतमा डिभिजन वनले धार्मिक वन दिने, काम गर्न अनुमति दिने एक बर्ष पछि आएर भत्काउने कार्य खेदजक छ’ उनले भने ।
अध्यक्ष पाण्डेले आफूहरु मात्रै तारो बनेकोमा गुनासो गरेका छन् । ‘वनमा विभिन्न संरचना निर्माण भएकै छन, ‘उनले भने, ‘हामी मात्रै केहीको तारो बन्यो, खै के हो, थाहै भएनन, यो त समाजिक काम नै किन बिरोध गरे, जानेर वा नजानेर ।’
‘यत्रो हामी र राज्यले लगानी ग¥यौँ, ‘उनले भने, ‘अनुमतिदेखि भत्काउने काम वनले नै गरिदियो ।’
