महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ढिलो गरी लगाएको वसपार्क पार्किङ्ग शुल्क ठेक्कामा अनियमिताको आशंका गर्न थालिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि सम्झौता हुनु पर्ने ठेक्का यस पटक बहुवर्षिय बनाएर माघमा सम्झौता गरिएको छ । तीन वर्षका लागि दिइएको ठेक्का यस वर्षका लागि ७० लाखमा सम्झौता गरिएको छ ।
पार्किङ्ग शुल्कबाट गत वर्ष एक करोड बढी आम्दानी भएको थियो । गत वर्ष ९० लाखमा न्यूनतम अंक राखिएको ठेक्का बढाबढी भएर करोडमा गएको थियो । त्यस बाहेक वसार्कभित्र शौचालयको छुट्टै ठेक्का गरिएको थियो ।
यस वर्ष शौचालय सहित पार्किङ्ग शुल्कको ठेक्का झण्डै ७० लाखमा सम्झौता गरिएको छ । गत वर्ष भन्दा रकम घटे पनि पार्किङ्ग शुल्क भने ३ सय ५० रुपैया लिने गरिएको छ । नगरपालिकाले ३१५ रुपैँया शुल्क तोकेकोमा ठेकदारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ३ सय ५० रुपैँया लिने गरेको छ ।
यातायात व्यवसायी विष्णु कँडेलले ठेक्काको घट्दा पनि पार्किङ्ग शुल्क यथावत हुन शंकास्पद विषय भएको बताए । ‘अघिल्लो वर्ष ९२ लाख न्यूनतम राखेर ठेक्का खोल्दा एक करोड भनद बढीमा गएको छ। त्यो बेला पनि ३५० रुपैँयौ थियो, अहिले ६७÷७० लाखमा जाँदा पनि त्यति नै छ’उनले भने,‘अनि यो अचम्म भएन त ।’
ठेक्का सम्झौता हुन अघि नगरपालिकाका कर्मचारीले पार्किङ्ग शुल्क उठाउँदै आएका थिए । उनीहरुले प्रति सवारी ३१५ रुपैँया लिने गरेका थिए । ठेक्का सम्झौता भएपछि भ्याट ३ सय ५० रुपैँया लिने गरिएको छ ।
यातायात व्यवसायी कँडलले नगरपालिकाका कर्मचारी र ठेकेदारले उठाउने शुल्क पनि फरक भएकोमा असन्तुष्टि जनाए । ‘नगरपालिकाका कर्मचारी र ठेकेदारले उठाउँदा कसरी ३५ रुपैँया फरक पर्छ’ उनले भने,‘यसमा नगरपालिकाले ध्यान दिनु पर्छ ।’