ghar sansar

मानसखण्डको होली : विविधतामा एकता

–डा. पदमराज कलौनी

होली विविधखाले समाजको सांस्कृतिक पर्व हो । हिन्दू पचाङ्ग अनुसार प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । वसाइँ सराइँको क्रममा होली अन्तर्राष्ट्रिय पर्व भैसकेको छ । विशेषतः हिन्दू बाहुल्य भएको नेपाल र भारतमा प्राचीनकालदेखि मनाइदै आइएको पर्व हो ।होली पर्वमा मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर रङ्गिन बनाउछन् । रङ्गको माध्यमले पुरानो दुष्मनी वा कटुता समाप्त गरी भाइचारा सम्बन्ध पुनः स्थापित गर्छन् । होलीको रङ्ग घरपरिवारका सानाठूला, इष्टमित्र, साथीभाइ, छिमेकी आदिलाई लगाइन्छ । फागुन पूर्णिमाको दिन केटाकेटी, युवायुवती र प्रौढ समेतअबीरवा पानीको घोलेको रङ्ग पिचकारीमा भरेर एकअर्कामा लगाउने वा छ्याप्ने गर्दछन् ।

होलीको ऐतिहातिकताःकाली-कुमाऊँको इतिहास अनुसार ११औं शताब्दीमा कत्युरी राजवंशलाई हटाएर चन्दराजाहरुले शासन गरे । चन्दराजाहरुलाई हटाएर गोरखालीले शासन गरे । गोरखालीको शासनलाई अङ्ग्रेजले परास्त गरी आफ्नो हातमा लिएर कूमाऊँ-गढवाल सदाका लागि भारतको हातमा परेको छ । चन्द राजाहरुको शासन कालमा काली-कुमाऊँको राजधानी चम्पावतमा थियो । चन्दराजाहरुले मानसखण्डमा चलाइएका साँस्कृतिक चाडपर्व गोरखाली र अङ्ग्रेज पनि हटाउन सकेनन् । राजनीतिक परिवर्तन भैरहे पनि साँस्कृतिक हस्तक्षेप गर्न सकेनन् । कत्युरी वंशलाई हटाएपछि शासनमा उदाएका चन्द राजाको शासनकाल सन् १८१५ सम्म कुमाऊँ मण्डलमा थियो । त्यसै समयमा चलाइएका चाडपर्व मध्ये होली पनि प्रमुख पर्व हो । जसको निरन्तरता गोरखा राज्य हुँदै नेपाली समाजले पनि अवलम्बन गरिरहेको छ ।

होली संगीत र रङ्गको पर्व हो । प्रकृतिले वसन्तोत्सवमा आफ्नो यौवनलाई रङ्गी बिरङ्गी स्वरुपमा उदायमान गर्छे । वनपाखामा कोयली, न्याउली लगायत अनेकन चराचुरुङ्गीले गीत गाउछन् । बोटविरुवामा हरियालीसँगै फूल्छन् । भमरा र माहुरीले फूलको रस्वादन गर्छन् । खेतबारीमा सरसौं पहेँलपुर हुन्छन् । गहुँबाला खेतगह्रामा झुल्छन् । फलफूलमा आकर्षक सुगन्ध प्रवाहले मौसम सुगन्धित हुन्छ । बोटविरुवा, पशु-पन्छी र मानिसले प्रकृति प्रदत्त उल्लासमय वातावरणमा होली पर्वको रङ्गमा रङ्गिने सुअवसर पाउछन् । बालबालिकादेखि बृद्धबृद्धासम्म सबैलाई वसन्तले ब्युझाउछ । फागुमा बजाइने ढोकल, मुजुरा र चिम्टाको आवाजले पहाडका कुना कन्दरा र तराईमा फाँट-फाँटमानृत्य-संगीतले रङ्गी-बिरङ्गी उत्सवको सिर्जना हुन्छ । चारैतिर हर्षोत्लासको रङ्गीन वातावरण हुन्छ ।

मानसखण्डको होलीको इतिहासःहोली प्राचीन लोकपर्व हो । यसलाई होली, होरी, होलिका, फागु, वसन्तोत्सव, काम-महोत्सव आदि विभिन्न नामले सम्बोधन गरिन्छ । वसन्त ऋतुमा मनाइने हर्षोल्लासको पर्व हो । मानसखण्डमा मनाइनु पूर्व यसको इतिहास चन्द राजाहरुको शासनसँग जोडिएको पाइन्छ । मानसखण्डमा मनाइने होलीको ऐतिहासिक उत्पत्ति१५औं शताब्दीमा चन्द राजाको राजधानी चम्पावतदेखि प्रारम्भ भएको पाइन्छ । पहिले राजाको दरबारमा होली मनाइन्थ्यो । त्यसपछि विस्तारै उनका नाताकुटुम्ब र छिमेकमा मनाइन थालियो । विस्तारैहोलीले समग्र मानसखण्ड (काली-कुमाऊँ) को पर्वको रुपमा स्थापित भयो ।

मनानसखण्डकोऐतिहासिक पक्ष किंवदन्तीका रुपमा पुस्तान्तरण हुँदै आएकोले जसले जे भन्यो त्यहीँ अडकलमा इतिहास बुझिन्छ । मानसखण्डको लेख्य इतिहास छैन् । ऐतिहासिक रुपरेखाको रेखाङ्कन गर्न कठिन छ । इतिहासका कयौं सन्दर्भ धार्मिक, सामाजिक र पुरातत्वसँग जोडिएका छन् । प्राचीन ऐतिहासिक सोध, खोज र अनुसन्धान गर्नुको सट्टा धार्मिक आवरणको जामा लगाइदा कयौं ऐतिहासिक प्रमाण लोप भैसकेका छन् । होलीमा आउने प्रसङ्गहरु जस्तैः शिव, दिगम्बर, ब्रजधाममा राधा र कृष्ण, राम र सीताआदिलाई राष्ट्रियताको आवरण ढाल्दा भाषिक स्थानीयकरणले होलीको वास्तविक स्वरुप हराउन थालेको छ ।

जस्तैः हिन्दीमा भएको होलीको सन्दर्भमा

मथुरा में खेलें एक घडी ॥ (नेपाली- मथुरामा खेल्यो एक घडी ।)

हे मथुरा में खेलें एक घडी ॥ (हे मथुरामा खेल्यो एक घडी ।।)

काहे के हाथ में डमरू बिराजे॥ (नेपाली- कसको हातमा डमरु रहे छ ।)

हे काहे के हाथ में डमरू बिराजे ॥(नेपाली- कसको हातमा डमरु रहे छ ।)

अर्को सन्दर्भ

झुकी आयो शहर से ब्योपारी (नेपालीमा- झुकी आयो शहरमा व्यापारी)

इस ब्योपारी को भूख बहुत है (नेपालीमा- यो व्यापारीलाई भोक लागे छ)

पूरियाँ पकाई दे नथ वाली (नेपाली- पुरी पकाइ दे नथवाली ) । यस्तै यस्तै…..।

होलीमा वाद्यवादन र संगीतः होलीमा लोकगीतसँगै वाद्यवादनको पनि उतिकै महत्व छ । ढोलक, मुजुरा, चिम्टा आदि बजाइन्छन् । विशेष लोकगीतको सन्दर्भमा मादल र तालीको प्रयोग गरिन्छ । शास्त्रीय, उपशास्त्रीय, लोकगीत र फिल्मी संगीतले होली पर्वलाई विशेष महत्व दिएको छ । शास्त्रीय संगीतमा धमार (थारु जातिले गाउने लोकगीत) होलीसँग गहिरोसम्बन्ध रहेको छ । होलीमा ठुमरी (गीत वा राग) सँगै संगीतनृत्य गरिन्छ । होली कथक नृत्यमा पनि खेलिने भए पनि व्यवहारमा देखिदैन् । धमारर ठुमरीमा कन्हैयासँग सम्बन्धित लोकप्रियलोकगीत गाइन्छन् । होलीका विशेष गीत पनि छन् । उपशास्त्रीय संगीतका हिसाबले चैत, दादरा र ठुमरी प्रसिद्ध हुन् । होलीमा संगीतको लोकप्रियता पहिलेदेखि छ । संगीतको विशेष शैली नै होली हो ।

भारतीय इतिहासका अनुसारःचम्पावतमा चन्द राजाहरुको राजधानी कायम हुनु अगाडि पनि आर्य समाजमा होली मनाइन्थ्यो । प्राचीन भारतीय इतिहासकारका अनुसार आर्यहरुमा होली पर्व पूर्वी भागमा मनाइन्थ्यो । प्राचीन धार्मिक पुस्तकहरुमा यसबारे वर्णन गरिएको पाइन्छ । जस्तैः जैमिनीको पूर्व मीमांसा-सूत्र र कथा गार्ह्य-सूत्र। नारद पुराण ऱ भविष्य पुराण। संस्कृत साहित्यका साहित्यकारहरुले पनि वसन्त ऋतु र वसन्तोत्सवकाबारेमा अनेकन प्रसङ्गमा वर्णन गरेका छन् ।

सुप्रसिद्ध मुस्लिम पर्यटक अलबरूनीले पनि आफ्नो यात्रा संस्मरणमा होलिकोत्सवको वर्णन गरेका छन् । भारतीय  मुस्लिम कविहरुले आफ्नो साहित्यिक रचनामा होलिकोत्सवलाई मुसलमानहरुले मान्ने गरेको उल्लेख गरेका छन् । मुगल कालमा होली पर्वलाई मनाइने गरेको हुँदा अकबरले जोधाबाईसँग र जहाँगीरले नूरजहाँसँग होली खेलेको वर्णन पाइन्छ । मध्ययुगीन हिन्दी साहित्यमा कृष्णलीला सम्बन्धी उल्लेख पाइन्छ ।

होलीकाको स्थापना– हिन्दू पचाङ्ग अनुसार फागुन महिनाको पूर्णिमामा होलीको प्रारम्भ चीर गाडेर हुन्छ । मेल वा बाँसको लिङ्गो पवित्र स्थानमा गाडिन्छ । सोही स्थानमा सहभागीहरुले वृताकारमा घुमेर होली गाउछन् । होलीलाई नृत्य पनि भनिन्छ । नाचेर गाउदै पूजाआजा गर्छन् । चीरलाई प्रह्लादको दृढ प्रतिज्ञाको संकेत मानिन्छ भने चीर दहन गर्दा सोहीलाई हिरण्यकशिपुका कुविचारलाई समाप्त भएको अर्थमा लिइन्छ ।

होलीको पौराणिक कथाःपौराणिक कथामा दैत्य राजाहिरण्यकशिपु, प्रह्लाद र होलीकाको सम्बन्धी कहानी आउछ । नारद पुराणका अनुसार दैत्यराजा हिरण्यकशिपु भगवान विष्णुका घोर बिरोधी थिए । उनको छोरा प्रह्लाद जन्मजात विष्णुभक्त थिए । छोरा विष्णुभक्तिमा तल्लिन भएको देखेपछि हिरण्यकशिपुले उनको ध्यान अन्यत्र लगाउन धेरै प्रयन्त गरे । छोराले विष्णुको ध्यान गर्न नछाडे पछि उनले अनेकन प्रताडना दिन थाले । हिरण्यकशिपुले प्रह्लादलाई विष्णुको नाम नजप्न आदेश दिए । उनले मानेनन् । प्रह्लादलाई अनेकन दण्ड र सजाय दिलाउन लगाए । प्रह्लादले साधना गरी भगवानबाट शक्ति प्राप्त गरेका थिए । छोराको कुरा सुनेर अहंकारी हिरण्यकशिपु क्रोधित हुन्थे । छोरालाई सम्झाउन नसकेपछि सिपाहीबाट अनेकन सजाय दिन लगाए। उनलाई जङ्गलमा लगेर विषालु सर्प भएको स्थानमा छाडियो । सर्पले टोकेर मृत्यु नभएपछि उनी आश्चर्यमा परे । त्यसपछि आफ्नी बहिनी होलीकासँग सहयोग मागेर प्रह्लादलाई काखमा राखी आगाको घुनीमा बस्न लगाए । होलीकाले आगोमा नजल्ने वरदान पाएकी थिइन् । दाइको आदेशले उनी प्रह्लादलाई काखमा समातेर आगाको धुनीमा प्रवेश गरिन् । होलीका आगोमा पस्दा उनी जलेर मरिन । प्रह्लादलाई आगोले जलाएन । सोही खुशीमा सत्यको जित र असत्यको हार भएकोले होलीका दहन गरिने प्रचलन चलेको लोकोक्ति छ ।

मानसखण्डको होलीः प्रायः बैतडी, दार्चुला, डडेल्धुरा, अछाम लगायतका जिल्लामा होली समूहमा खेलिन्छ । समूहमा खेलिने होलीमा सेतो सर्ट र पाइजामा लगाइन्छ । पारम्परिक र लोकगीत गाउँदै ढोलक, मुजुरा र चिम्टाको संगीतमय होली खेलिन्छ । होलीवाला गाउँघरको घरआँगनमा गोलाकर वृतमा होलीको गीत गाएर होली खेल्छन् । होली खेलिने घरधनीले स्वागत स्वरुप रङ्ग छाप्ने, मिष्ठान्न तथा फलफूल खुवाउनेर दक्षिणा स्वरुप पैशा सहित थालमा अबीरटीका दिने प्रचलन छ । होरी खेल्ने मध्ये एकजनाले पैशा राख्छ र अबीर सबैको निधारमा प्रसादको रुपमा लगाउछ । प्रत्येक गाउँकाले आ-आफ्नै समूह बनाएर होली खेल्छन् । लोकगीतमा प्रह्लादको भक्ति, कृष्ण लिला, रामलिला लगायत समसामयिक बीरगाथ गाइन्छन् । रमाइलोको लागि झ्याउरे, लोकगीत आदि गाएर नाच्ने गरिन्छ । होलीमा ब्रज, मथुरा, बृन्दावन, अयोध्या, जनकपुर आदिका अनेकन प्रसङ्गले गीतसंगीत गाइन्छ । गाउँघर जाने क्रममा बाटोमा पर्ने देवदेवताको मन्दिर परेमा पूजा अर्चनास्वरुप होली खेलिन्छ ।

आर्थिक सहयोग संकलनः केटाकेटीले प्रायः होलीबाट संकलन गरेको पैशाले मनोरञ्जन गर्न वनभोज गर्छन् । युवा तथा वयस्कले होलीबाट प्राप्त गरेको रकमकलमले सार्वजनिक निर्माण, संघसंस्थाको कोष स्थापना, मनोरञ्जन गर्न वनभोज आदि गर्ने गर्दछन् । सार्वजनिक निर्माणमा पाटी पौवा, स्कुल, मन्दिर, पानीपँधेरो, बाटोघाटोनिर्माण गर्दछन् । कुनै संघसंस्थाको आर्थिक अवस्था कमजोर छ भने कोषको सुदृढिकरणका लागि आर्थिक सहयोग जुटाउन होली खेलिन्छ । आजभोलि राजनीतिक दलहरुले पनि पार्टीको कोष स्थापनार्थ होली खेल्ने गर्छन् ।

होली समूहको संरचनाः होली खेल्ने समूहमा पूरूष-पूरूष, महिला-महिला, केटा-केटा र केटी-केटीको अलग-अलग समूह बनाएर खेल्छन् । 

अबीर लगाएर मनाइने होलीः एकआपसमा समूह बनाएर मनोरञ्जन गरी रङ्गको माध्यमले प्रेम सद्‌भाव साटासाट गरिन्छ । यसरी खेलिने होलीमा लोकगीत, वाद्यवादन र आर्थिक श्रोत जुटाउने कार्य हुँदैन् । एकआपसमा भेटघाट र मनोरञ्जन प्रमुख उद्देश्य हुन्छ । देवर-भाउजु वा नन्द-भाउजुका बीचमा रङ्ग लगाउनेको प्रतिस्पर्धा हुन्छ । 

लोला वा पिचकारी हान्नेःकेटाकेटीले होलीको बहानामा बाटोमा हिँड्ने जोकोहीलाई निसाना बनाएर लोला हान्ने वा पिचकारीमा रङ्ग भरी छ्याप्ने गरिन्छ ।

छर्‍यौलः होलीको अन्तिम दिन अर्थात् पूर्णिमाको दिनलाई छर्‍यौल भनिन्छ । यसदिनमा हिलो, गोबर वा अन्य अस्वस्थ्यकर रङ्गको प्रयोग गर्ने गरिन्छ । रङ्गको माध्यमले अभद्रताको प्रयोग हुन्छ । मादक पदार्थ, भाङ गाजा खाएर झैझगडा हुने, दुष्मनी हुने, ख्यालठट्टामा हिंसा निम्तिने सम्भावना प्रवल हुन्छ । 

मानसखण्डमा होली लोकपरम्परामा आधारित मानिन्छ । लोकमान्यता अनुसार समूह बनाएर होली खेल्ने समूहले अनिवार्य रुपमा चीर गाड्ने गर्दछन् । चीर नगाडी आर्थिक संकलन गर्न पाइदैन् । चीरले होलीको वैधानिकता प्राप्त गर्दछ । चीर गाड्दा सार्वजनिक पवित्र र सुरक्षित स्थानमा गाडिन्छ । गाउँगाउँमा होली पर्व समूहमा मनाउने हुँदा जातिय भेदभाव हुँदैन् । चीरमा नयाँ र सफा रङ्गीबिरङ्गी धजा-नेजा टाङ्छन् । रङ्गी बिरङ्गी कपडाका टुक्राले चीर सजाइन्छ । लिङ्गोमा फागुन शुक्ल अष्टमीका दिन रङ्गी बिरङ्गी कपडा टाँगिने हुँदा लिङ्गो नभनीकन “चीर” गाड्ने नै भनिन्छ ।

होलीको सन्देशःअहिले नेपाली समाजमा कयौं चुनौति र समस्या छन् । राजनीतिक अस्थिरताले राष्ट्रिय एकता एवं सद्भावमा खलल पुगिरहेको छ । समाज एकअर्कामा विभाजित र वैमनस्यग्रस्त छ । यहीँ मनस्थितिमा देशलाई अगडि लैजान सकिदैन् । तिहार र पर्वको वहानामा समाजमा जागरूकता र क्रियाशीलताको सन्देश दिनु आवश्यक छ । एकलेअर्काको अनुहारमा दल्ने रङ्गको प्रत्येक कण-कणले नकारात्मक विचारलाई समाप्त गर्न सकोस् । नराम्रो प्रवृति होलीकासँगै दहन होस् । अबीरको रातो रङ्गसँगै उल्लास साँटियोस् । अनावश्यक र हानिकारक वस्तुको नास होस् । राजनीतिक शीर्ष नेतृत्वको तनमनमा भएको कलुषित कालो विष, कुर्सीलोलुपता, परिवारवाद र भ्रष्टाचारमय फोहर होलीकासँगै जलोस् । युवापलायन रोकिएर देश भित्र संघर्ष गर्ने शक्ति मिलोस् । युवावर्गमा नयाँजोश, जाँगर, जागरूकता, क्रियाशीलता, विचारशीलताले देशको नेतृत्व लिन सक्ने वातावरण बनोस् । होली पर्वको हार्दिक शुभकामना !

Himal dental
सम्बन्धित
Loading...