

महेन्द्रनगर । लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७ सय ४८ जनाको क्षयरोग परीक्षण गरिएको छ ।
लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी) क्षयरोग पुष्टि भएको छ ।
यस्तै, ११५ शङ्कास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ । यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताए ।
एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन् ।
देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भने, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ ।”
