ghar sansar

अर्जुनीलाई शुक्लाफाँटाको प्रमुख प्रवेशद्वार बनाउन छलफल, शुक्लाफाँटाका मेयर महरा भन्छन्–नगरपालिकाले आवश्यक सहयोग गर्छ

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउने विषयमा छलफल भएको छ ।

बुधबार निकुञ्जका प्रमुख किशोरकुमार मेहता, शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रणबहादुर महरा र बेदकोटका नगर प्रमुख भोजराज बोहरा र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराबीच अर्जुनीलाई प्रमुख प्रवेशद्धार बनाउने विषयमा छलफल भएको हो ।

lotus institite

उनीहरुबीच भएको अनौपचारिक छलफलमा शुक्लाफाँटा नगर प्रमुख महराले अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

‘कृष्णसार संरक्षित क्षेत्रको अवलोकन गर्नका लागि सिमलफाँटास्थित नदीमा झोलुंगे पुल निर्माण गर्नु आवश्यक छ, त्यहाँ नगरपालिकाले पुल निर्माण गर्छ,’ उनले भने, ‘त्यसका लागि निकुञ्जले आवश्यक सहयोग गर्नु जरुरी छ ।’

daimond public

उनले अर्जुनी प्रवेशद्धार र बेलडाँडीमा खोलिएको प्रवेशद्धारलाई जोड्नुपर्ने बताए । ‘कृष्णसार आउने पर्यटकलाई बेलडाँडीसँग जोड्न मार्ग निर्माण गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ।’ शुक्लाफाँटा निकुञ्ज र नगरपालिकाहरुबीच सहकार्य आवश्यक रहेको बेदकोट नगर प्रमुख भोजराज बोहराले बताए ।

‘यो पहिलो चरणको अनौपचारिक छलफल हो, निकुञ्जबाट नगरपालिकाले के पाउने र नगरपालिकाले निकुञ्जलाई के दिन सक्छ भन्ने विषयमा छलफल गर्नु जरुरीछ,’ उनले भने, ‘शुक्लाफाँटामा पर्यटकको आकर्षण बढाउने र मध्यवर्ती क्षेत्रका नागरिकलाई आयआर्जनसँग जोड्ने गरि सहकार्यमा काम गर्नुपर्छ।’ कञ्चनपुरका पालिकाहरु र निकुञ्जले प्रकृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्याकेजनै बनाएर काम गर्नुपर्ने उनले बताए ।

‘निकुञ्जबाट भीमदत्त, दोधाराचाँदनी, बेदकोट र शुक्लाफाँटा बढी प्रभावित छ,’ उनले भने, ‘यी सबै पालिका र निकुञ्जले सहकार्य गरी पर्यटकलाई शुक्लाफाँटा र पालिकास्थित पर्यटकीय स्थलमा घुमाउन प्याकेज बनाउनुपर्छ।’ शुक्लाफाँटामा पर्यटकलाई घुमाउने वातावरण सबै पालिकाहरुले बनाई दिनुपर्ने निकुञ्जका प्रमुख किशोर कुमार मेहताले बताए ।

‘शुक्लाफाँटाको प्रचारप्रसारको अभावले यहाँ न्यून पर्यटक पुग्छन्,’ उनले भने, ‘प्रवेशद्धार मात्रै खोलेर हुँदैन्, प्रचारप्रसार र संरक्षणमा पनि जोड दिनु आवश्यक छ ।’

कञ्चनपुरको विकास र समृद्धिका लागि जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्ला सभा गरि योजना बनाउने समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। ‘केही दिनमा जिल्ला सभा आयोजना गर्दैछौं,’ उनले भने, ‘जिल्लाकै विकासका लागि हामी बृहत छलफल गरि योजना बनाउँछौं, त्यही अनुसार प्रदेश र केन्द्र सरकारलाई दवाब समेत दिन्छौं ।’

Himal dental
सम्बन्धित
Loading...