
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामान्ता र व्यवसाय सचेतना तालिम सुरु भएको छ । आइतबार वडा नं. २ को कार्यालयमा तालिम सुरु भएको छ । तालिममा वडा नं. १, २ र ३ का गरि ३० जनाको सहभागिता छ ।
वडा नं. २ का अध्यक्ष बोदुराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख रणबहादुर महरा र विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना पन्त थिइन् । शुक्लाफाँटावासीलाई नगरमै स्वरोजगार बनाउने उदेश्यले उद्यमशिलता तालिम सञ्चालन गरिएको नगर प्रमुख महराले बताए ।
‘आर्थिक रुपमा देशको अवस्था नाजुक छ, दैनिक उपभोग्य सामाग्री भारतबाट आइरहेको छ,’ उनले भने, ‘युवाहरु विदेशिन बाध्य छन्, अब यही स्वरोजगार बनाउने हाम्रो योजना छ ।’ व्यवसाय गर्न इच्छुकलाई नगरपालिकाले आवश्यक तालिम र सहयोग गर्ने नगर प्रमुख महराले बताए ।
‘जिन्दगीभर काम लाग्ने खालका तालिम नगरपालिकाले सञ्चालन गर्नेछ,’ उनले भने, ‘तालिमकै लागि तालिम हुने छैनन्, दैनिक उपभोग्य र कृषिजन्य पदार्थबाट उत्पदान हुने खालका व्यवसाय गर्नेलाई नगरपालिकाले सहयोग गर्नेछ ।’ व्यवसाय कसरी गर्ने, स्रोत साधन कसरी जुटाउनेलगायतका विषयमा तालिम दिइने उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीले बताए ।
‘यो तालिम व्यवसाय सचेतनाका लागि हो, ८ दिनको तालिम सम्पन्न भएपछि सहभागीको मागको आधारमा सीपमुलक तालिम दिइनेछ,’ उनले भने, ‘१ सय १० जनालाई सचेतना तालिम र ८० जनालाई सीपमुलक तालिम दिइनेछ ।’ तालिमको उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीलगायतले मनतव्य राखेका थिए ।
