
महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर कार्यपालिकाका सदस्य रविन्द्र देवकोटा बोल्न नदिएपछि कार्यपालिका बैठक छाडेर बाहिरिएका छन् । भीमदत्तको आठौं कार्यपालिका बैठकमा नगरपालिकासंग सम्बन्धित विभिन्न विषयमा धारणा राख्न समय नदिएपछि उनी बाहिरिएका हुन् ।
भीमदत्त नगरपालिका १८ वडा अध्यक्ष कार्यपालिका सदस्य देवकोटा एमालेको पालिका सभा दलका संयोजक पनि हुन् । वसपार्क ठेक्का, बजार क्षेत्रमा निर्माणाधीन सडक, नगर कर्मचारीको ढिलासुुस्ती, भीनपा १८ मा सडक कालोपत्रे सम्बन्धी सम्झौता कार्यान्वयन, नगर शिक्षा गठन लगायतका विषयमा धारणा राख्न उनले बैठकका अध्यक्ष मेयर पदम बोगटीसित समय माग गरेका थिए ।

बैठकमा अन्य सदस्यलाई बोल्न दिएका मेयर बोगटीले अन्तिमसम्म पनि देवकोटालाई बोल्न नदिएपछि उनी बैठकबाट बाहिरिएका हुन् ।
‘अस्ति मिडियाबाट पनि कर्मचारीको ढिलासुस्ती, लापरवाहीबारे व्यापक गुनासो बाहिर आएको थियो, त्यो सहित बजार क्षेत्रमा सडक निर्माण, शिक्षा समिति, वसपार्क ठेक्का लगायत विषयमा बोल्न पटक पटक समय मागे, बोल्न नै दिइएन’ उनले भने,‘अन्तिसम्म समय माग्दा समेत बोल्न नदिएपछि बैठक छाडेर बाहिरिए ।’
कार्यपालिका सदस्य देवकोटाले मेयर बोगटीले भीनपा १८ का अपूरा सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता कार्यान्वयन सम्बन्धी विषय पनि बैठकमा राख्न खोजेको बताए ।
आफ्नो वडामा अघिल्लो आर्थिक वर्षमा ठेक्का गरिएका सडकको बजेट कटौती गरिएपछि उनी दुई महिना अघि सम्बन्धित सडकमा अनसन बसेका थिए । त्यसपछि मेयर बोगटीले देवकोटाको माग अनुसार अधुरा सबै सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका थिए । उनी सात दिन लगातार सडकमा अनशन बसेका थिए ।
‘मेयर साप आफैंले मलाई नगरपालिका बोलाएर अपूरा सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता गर्नु भएको थियो, अहिलेसम्म त्यो बजेट आएको छैन, वडा वासीले खै त बजेट भन्दै हुनु हुन्छ’ उनले भने,‘आजको बैठकमा मैले यो विषयमा पनि कार्यपालिकाको ध्यानाकर्षण गराउन खोजेको थिए ।’
भीमदत्त नगरपालिकाले ठेक्का लगाएपछि विवादमा परेको वसपार्क ठेक्का सम्बन्धी विषय पनि आफूले बैठकमा राख्न खोजेको उनले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा घटीमा तीन वर्षका लागि वसपार्क ठेक्कामा दिइएको छ । वसपार्क ठेक्कामा घोटालाको आशंकाले विवादित बनेको छ ।
‘यो वर्ष वसपार्क ठेक्का विगतको वर्ष भन्दा कममा दिइएको छ, वसपार्क र शौचालायको छुट्टाछुट्टै ठेक्का हुने गरेको त्यो पनि एकै ठेक्का छ’ उनले भने,‘अरु वर्षको भन्दा कममा कसरी ठेक्का गयो भनेर प्रश्न सोध्न खोजेको हो ।’
वसपार्क ठेक्कामा नगरपालिकाका केही जनप्रतिनिधि संलग्न भएर मिलेमतो गरिएको आशंका गरिएको छ । ठेक्का मिलाउन दुई वडा अध्यक्ष सक्रिय भएर लागेका थिए ।
कार्यपालिका सदस्य देवकोटाले बजार क्षेत्रमा सडक निर्माण हुँदा महिनौदेखि खानेपानीको समस्या भएकाले आफूले बैठकमा कुरा राख्न चाहेको बताए ।
एशियाली विकास बैंकमा सहयोगमा निर्माणाधिन बजार क्षेत्रमा सडक निर्माणका क्रममा खानेपानीका पाइप काटिएका छन् । स्थानीयले वडामा आएर पटक पटक गुनासो गरेपछि आफूले बैठकमा कुरा राख्न खाजेको उनको भनाई छ ।
