बेदकोटले बैशाखमै ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, असार १० गते बजेट ल्याउने

Amity

महेन्द्रनगर । बेदकोट नगरपालिकाले आगामी वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाको बिहीबार १३ औं नगर सभा अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरिएको छ ।

नगरपालिकाको नगर सभा कक्षमा बेदकोटका मेयर भोजराज बोहराले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भएपछि पारित भएको छ ।

janjyoti campus

नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते बजेट विनियोजन गरिने छ । यस अघि स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान थियो ।

यस वर्षदेखि असार १० गते बजेट ल्याउन अघि नै बैशाखमा नीति तथा कार्यक्रम पारित गर्न पर्ने कानुनी प्रावधान ल्याइएको छ । नयाँ प्रावधान अनुसार बेदकोट नगरपालिकाले बैशाख ७ गते नगर सभा गरी नीति तथा कार्यक्रम पारित गरेको हो ।

बेदकोट बाहेकका अन्य स्थानीय तहले भने बिहीबार नगर सभा गर्न पछि परेका छन् । बैशाख ७ देखि १५ गतेसम्म नीति तथा कार्यक्रम पारित गर्न पर्ने व्यवस्था छ ।

बेदकोटका मेयर बोहराले नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट ल्याइने बताए । ‘गत सालसम्म असार १० गते नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने थियो, यस पटक त्यसलाई संशोधन गरी वैशाख ७ गते नीति तथा कार्यक्रमका लागि समयावधि दिइएको छ’ उनले भने,‘त्यस अनुसार नगर सभा गरी नीति तथा कार्यक्रम पारित गरियो, यसबाट असार १० गते आउने बजेट बनाउँछौ ।’

नगर सभाबाट पारित नीति तथा कार्यक्रमका आधारमा सबै वडामा मार्ग दर्शन र बजेट सिलिङ्ग पठाएपछि वस्ती स्तरमा भेला छलफल गरी योजना छनौट गरिने मेयर बोहराले बताए । ‘पहिला नीति, कार्यक्रम र बजेट संगै आउँथ्यौ, यस पटक नीति तथा कार्यक्रमका आधारमा बजेट आउँछ, अब त्यसको प्रक्रिया पनि सुरु हुन्छ’ उनले भने ।

बेदकोटले आगामी वर्षका लागि गत वर्ष समावेश हुन नसकेका विभिन्न विषय सहितलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगर सभाका सबै सदस्यसित बृहत छलफल गरी नीति तथा कार्यक्रम ल्याइएको मेयर बोहराले बताए ।

‘गत सालसम्म यसरी छलफल हुन सकेको थिएन, यस पटक बृहत रुपमा छलफल गरी नीति कार्यक्रम ल्याएका छौ, यसमा धेरै नयाँ कुरा समावेश गरिएको छ, पुरानोलाई निरन्तरता दिइएको छ’ उनले भने,‘यसबाट असार १० गते आउने बजेटलाई मूर्त रुपमा दिन सजिलो हुन्छ ।’

स्थानीय तहले बैशाखमा ल्याएको नीति तथा कार्यक्रमबाट असार १० गते सघन रुपमा छलफल गरी बजेट ल्याउन सकिने उनले बताए । ‘अहिले नै नीति कार्यक्रम आएपछि यसका आधारमा योजना बनाउँदा के कस्तो कहाँ कमजोरी छन्, छुट्याउन सकिन्छ’ उनले भने,‘त्यस कारण यसले बजेट सम्बन्धी सघन छलफल गरी ल्याउनुलाई सहयोग पुग्छ ।’

स्थानीय सरकार सञ्चालन ऐनमा नगर सभामा मेयरलाई नीति तथा कार्यक्रम र उप मेयरलाई बजेट प्रस्तुत गर्ने अधिकार दिइएको छ । यस अनुसार असार १० गते उप मेयर तलसी जोशीले नगरपालिकाको बजेट प्रस्तुत गर्ने छिन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ दिग्दर्शन जारी गर्दै बैशाख ७ गते स्थानीय तहलाई नीति तथा कार्यक्रम पारित गर्न निर्देशन जारी गरेको थियो । त्यस अनुसार सुदूरपश्चिममा बेदकोट नगरपालिकालले नीति तथा कार्यक्रम पारित गरेको छ ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले मन्त्रालयको दिग्दर्शन अनुसार नीति तथा कार्यक्रम पारित गरिएको बताए । उनले नगर सभामा वडाहरुमा मार्ग दर्शन र बजेट सिलिङ्ग पठाएर योजना छनौट सुरु गरिने बताए ।

स्थानीय शासन विज्ञ बिसनदत्त जोशीले नयाँ व्यवस्था अनुसार सुदूरपश्चिममा बेदकोट नगरपालिकाले मात्रै नीति तथा कार्यक्रम पारित गरेको बताए । ‘कञ्चनपुरमा मात्रै होइन, सुदूरपश्चिममै कुनै पनि तहले नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्’ उनले भने ।

 

ghar sansar
सम्बन्धित
Loading...