
सामुदायिक विद्यालयको गैर कानुनी शुल्क अशुली विरुद्ध प्याब्सन एन प्याब्सनले गुहारे स्थानीय सरकार, समन्वय समिति र भीमदत्तमा बुझाए ज्ञापन

महेन्द्रनगर । निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले सामुदायिक विद्यालयले विद्यार्थीबाट अशुल गर्दै आएको शुल्क र निजी पब्लिकेसन्सका पाठ्यपुस्तक किन्न पारिएको बाध्यता रोक्न माग गर्दै सरकारी निकाय गुहारेका छन् ।
प्याब्सन र एन प्याब्सनले बिहीबार जिल्ला समन्वय समिति र भीमदत्त नगरपालिकाको शिक्षा शाखालाई संयुक्त ज्ञापन बुझाएर शुल्क अशुली र पाठ्यपुस्तक किन्नु पर्ने बाध्यता रोक्न माग गरेका हुन् ।

सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गर्ने बहानामा विद्यार्थीबाट शुल्क अशुली गरेको आरोप निजी विद्यालयका संगठनले लगाएका छन् । अंग्रेजी माध्यममा पठनपाठन गरी निजी पब्लिकेसन्सका पाठ्यपुस्तक किन्न अभिभावकलाई बाध्य बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्याब्सन एन प्याब्सनको केही दिन अघि बसेको संयुक्त बैठकले संयुक्त रुपमा ज्ञापन बुझाउने निर्णय गरेको थियो । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, एन प्याब्सनका अध्यक्ष र एन प्याब्सन सचिव बलदेब भट्ट सहितले समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा र भीमदत्तको शिक्षा शाखा प्रमुख हरि दत्त जोशीलाई ज्ञापन बुझाएका छन् । ज्ञापन पत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई गराइएको छ ।
ज्ञापन पत्र बुझाउन प्याब्सन अध्यक्ष भट्ट सहित उपाध्यक्ष महादेव भट्ट ,सचिव राकेश चन्द ,केन्द्रिय सदस्य प्रेम सिंह पुजारा र एन–प्याब्सन सचिब बल्देब भट्ट लगायतका सहभागी भएका छन् ।
प्याब्सनका उपाध्यक्ष महादेब भट्टले सामुदायिक विद्यालयले संविधान, नियम कानुन सबै मिचेर अंग्रेजी माध्यमको नाममा विद्यार्थीबाट गैर कानुनी रुपमा शुल्क अशुल गर्दै आएकाले त्यसलाई रोक्न माग गरिएको बताए ।
