
मृगी भएर आगोमा परी जलेका बाराकुण्डाका लुहारलाई द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको सहयोग, घरमा गएर अध्यक्ष बोहराले गरिन् हस्तान्तरण
महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले मृगी भएर आगोमा परी जलेका भीमदत्त नगरपालिका १ बाराकुण्डा यादव लुहारलाई आर्थिक सहयोग गरेको छ । केन्द्रले लुहारको घरमा गएर १० हजार नगद सहयोग गरेको छ ।
केन्द्रका अध्यक्ष सीता बोहराले लुहारलाई सहयोग रकम हस्तान्तरण गरिन् । उनले लुहारको स्वास्थ्य लाभको कामना समेत गरिन् ।
केही दिन अघि उनी घरमा बलेको आगोमा परी जलेका थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचार हुन समस्या आएपछि सहयोग गरिएको छ ।
‘मृगी भएर आगोमा परेपछि जल्नु भएको छ, अवस्था निकै कमजोर छ, उपचार गर्न समस्या रहेछ’ अध्यक्ष बोहराले भनिन्,‘त्यसपछि केही त सहयोग होस भनेर घरमा गएर सहयोग गरेका छौ ।’
लुहार परिवार छाप्रोमा बस्दै आएको छ । ३६ वर्षिय उनलाई अन्यले पनि उपचारका लागि सहयोग गरेका छन् ।
संस्थाले शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्र्तगत सहयोग गरेको संस्थाका कार्यक्रम अधिकृत डम्बरी विष्ट कुँबरले बताइन् ।
