
होटल रतगैयाको जुवा खालबाट पक्राउ परेका वडा अध्यक्ष सहित १० जनामाथि अनुसन्धान, अदालतबाट लिइयो ५ दिनको म्याद
महेन्द्रनगर । प्रहरीले वसपार्कको रतगैया होटलबाट पक्राउ गरेका वडा अध्यक्ष सहित सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार उनीहरु सबैलाई अदालतमा पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ ।
प्रहरीले उनीहरु सबैमाथि मुलुकी अपराध सँहिता अनुसार जुवा खेल्ने र खेलाउने सबैमाथि अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार होटल रतगौयाबाट भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा, होटल सञ्चालक लाल बहादुर चौधरी सहित १० जनालाई पक्राउ गरेको थियो ।
मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई दुबैलाई सजायको व्यवस्था छ । संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवनाको व्यवस्था छ ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।
