ghar sansar

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आन्दोलन घोषणा, चक्काजामदेखि मागपत्र बुझाउनेसम्म आन्दोलन कार्यक्रम सार्वजनिक

महेन्द्रनगर । गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि आन्दोलन गने घोषणा गरेको छ । संघर्ष समितिको बुधबार अत्तरियामा बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।

सरकारले गत माघमा विश्वविद्यालय बनाउने निर्णय गरी जेठ ५ गते सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि बजेटमा भने प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएपििछ समिति सरकार विरुद्ध आन्दोलनमा जान लागेको हो ।

संघर्ष समितिले १८ गते बिहान ९ देखि १० बजेसम्म अत्तरियामा एक घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ भने १८ गते नै प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए ।

संघर्ष समितिले पूर्व संघीय सांसद डाक्टर दिपकप्रकाश भट्टको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णय समेत गरेको छ । बुधबार बिहान बसेको संघर्ष समितिको बैठकले आन्दोलन प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग समन्वय गर्न आनन्द भट्टलाई जिम्मेवारी तोकेको छ ।

विभिन्न संघ संस्थासँग समन्वय गर्न गणेश शाहलाई जिम्मेवारी दिइएको छ भने विद्यार्थी र युवासँग समन्वय गर्न पुष्कर जोशीलाई जिम्मेवारी तोकिएको छ। यस्तै, प्राविधिक सहजीकरणको जिम्मा दिपक ओझा, महिलाहरूसँग समन्वय गर्ने जिम्मा धर्मी खड्का, जनप्रतिनिधिसँग समन्वय गर्ने जिम्मेवारी जयराज फुलारालाई तोकिएको छ ।

संघर्ष समितिले कार्यालय सहजीकरण गर्न यज्ञराज कापडी, उद्योग व्यापार तथा आर्थिक ममिलाको जिम्मा भुवनेश्वर भट्ट, सूचना सञ्चारको जिम्मा महेश महर, व्यवस्थापनको जिम्मा तिलकराज भण्डारी र युवा सहजीकरणको जिम्मा जयबहादुर धामीलाई दिइएको छ ।

संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जेठ १५ गते गरेको बजेट भाषणमा गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन चर्काउने संघर्ष समितिको तयारी छ ।

Himal dental
सम्बन्धित
Loading...