महेन्द्रनगर । गणतन्त्र दिवसका दिन सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएर लात्ता प्रहार गर्ने दुई नेता पक्राउ परेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ता हानेको र माला झुण्याएको आरोपमा बिहीबार प्रहरीले राप्रपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
राप्रपा कंचनपुरका जिल्ला समिती सदस्य जयकिसन बोहरा र भीमदत्त नगर सचिव किसन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई घरबाट प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए ।
ती तस्बिर र भिडिओ सामाजिक संजालमा छ्यापछ्याप्ती भएका थिए । राप्रपाका दुई कार्यकर्तालाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।