
महेन्द्रनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल र केन्द्रीय सदस्य कमला बोहराले जिल्ला र पालिकाको इन्चार्ज सहित दुई विभागमा पनि जिम्मेवारी पाएका छन् ।
एमालेको हालै सम्पन्न सचिवालय बैठकले नेता रावललाई स्कुल विभाग र बोहरालाई प्रचारको थप जिम्मेवारी दिएको हो । दुबै जनाले सुदुरपश्चिम प्रदेशमा यी दुई विभागको नेतृत्व गर्ने एमालेले जनाएको छ। यसका साथै नेता रावल बझाङको जिल्ला इन्चार्ज समेत तोकिएका छन्।
केन्द्रीय सदस्य बोहरालाई कंचनपुर क्षेत्र नम्बर २ को तीन पालिकाको इन्चार्ज बनाइएको छ ।
रावल र बोहरा दुबै एमाले सुदूरपश्चिम प्रदेशका तत्कालिन इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारी समूहका हुन् । गत वर्ष एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा उनीहरु दुबै जनाले नेतृत्व गरेको प्यानल लज्जास्पद रुपमा पराजित भएको थियो । त्यस प्यानलका ५ प्रतिशत मात्रै उम्मेदवार सदस्यमा निर्वाचित भएका थिए ।
एमाले सुदूरपश्चिमका अध्यक्ष र तत्कालिन इन्चार्ज भट्ट दुबै एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भएपछि चुनावमा पराजित सबै नेता पार्टीमा मनोनित भएका छन् । एमाले जिल्ला कमिटीबाट सिफारिश नभएर पनि बोहरालाई गत वर्ष बेलौरी नगरपालिकाको मेयरको टिकट दिइएको थियो ।
एमालेका प्रदेश इन्चार्ज भट्ट अहिले कर्णाली इन्चार्ज भएका छन् । सुदूरपश्चिममा इन्चार्ज भट्ट भण्डारी र अर्का पोलिटब्युरो सदस्य कर्ण थापाको समूह छन् । दुई समूहमध्ये भट्ट भण्डारी समूहलाई महासचिव शंकर पोखेरल र थापा समूहलाई उपाध्यक्ष विष्णु पौडेल समूहले साथ दिएको छ ।
अध्यक्ष ओलीसित पहुँचको आधारमा भट्ट भण्डारी समूह बलियो देखिए पनि साँगठनिक रुपमा यो समूह निकै कमजोर मानिन्छ । एमालेमा यस समूहभित्र वर्षौदेखि अध्यक्ष ओलीको गुटमा लागेर पहुँच बनाएका नेता अहिले पार्टीका जिम्मेवारीमा छन् ।
एमाले विभाजनपछि तत्कालिन माधव नेपाल समूह बाहिरिएपछि अहिले एमालेमा अध्यूक्ष ओलीको गुटका सबै नेता पार्टी जिम्मेवारीमा हर्ताकर्ता भएका छन् । सुदूरपश्चिममा उनीहरुले जिम्मेवारी पाएपछि स्थानीय र आम निर्वाचन दुबैमा लज्जास्पद नतिजा व्यहोरेको छ ।
अहिले एमालेमा बसेका तत्कालिन माधव नेपाल समूहका नेता भने जिम्मेवारी विहीन छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट अहिले पार्टीको साधारण सदस्य मात्रै छन् । एमालेका निवर्तमान उपाध्यक्ष भीम रावल आफैं जिम्म्ेवारी विहीन छन् ।
