महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले आफ्नो क्षेत्राधिकारमा नपर्ने काज फिर्ता गरि दिएपछि कर्मचारीहरु रनभुल्लमा परेका छन् । आठौं तहका कार्यालय प्रमुख पन्तले आफ्नो क्षेत्राधिकार पर्ने दावी गरी सातौ तहका काजका भेक सुपरभाइजर अधिकृत दिपेन्द्र सिंह रावलको काज फिर्ताको चिठी बनाएका छन् ।
कार्यालय प्रमुख पन्तले आइतबार रावललाई काज फिर्ताको चिठी बुझाउने प्रयास गरेका छन् । रावलले काज फिर्ता कार्यालय प्रमुखको क्षेत्राधिकार भित्र नपर्ने जवाफ दिँदै चिठी बुझ्न अस्वस्कार गरेका छन् । उनले यसबारे सामाजिक विकास मन्त्रालयमा जाने मनस्थिति बनाएका छन् ।
सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी भएका रावललाई स्वास्थ्य कार्यालयमा काजमा पठाएको थियो । मन्त्रालयले फिर्ताको चिठी बनाएपछि कार्यालयले प्रक्रिया थाल्नु पर्नेमा कार्यालय प्रमुख पन्तले आफ्नो अधिकार भएको भन्दै उनको काज फिर्ताको चिठी बनाएर थमाउन खोजेका छन् ।
सामाजिक विकास मन्त्रालयबाट पन्त अढाई महिना अघि सरुवा भएर आएका हुन् । मन्त्रालयबाट आएका उनी काज फिर्ता गराउन थालेपछि कार्यालयका कर्मचारी उनीसित असन्तुष्ट बनेका छन् ।
‘मेरो यहाँ दरबन्दी होइन, म काजमा हो, मन्त्रालयले जति बेला फिर्ता गर्छ म त्यति बेला जान्छु, मन्त्रालयले मलाई काजमा पठाएको हो, मन्त्रालयले नै फिर्ता गर्नु पर्ने हो’ रावलले भने,‘पठाउने बेला मन्त्रालयले पठाउने, अनि यो कार्यालयका प्रमुखले कुन अधिकार प्रयोग गरी मलाई काज फिर्ता पठाउन लागेको हो, मैले यसको जवाफ खोजेको छु ।’
कार्यालय प्रमुख पन्तले आफूलाई काज फिर्ताको चिठी थमाउन खोजे पनि आफूले अस्वीकार गरेको बताए । ‘मलाई फिर्ताको चिठी बुझाउनु खोजिएको थियो, मैले यो तपाईको कुन अधिकार हो भनेर सोध्दा वहाँले मेरो अधिकार हो भन्नु भयो, त्यसपछि मैले चिठी बुझेन’ उनले भने,‘अब मन्त्रालय जान्छु, मेरा कुरा राख्छु, त्यसपछि कसको अधिकार रहेछ भन्ने कुरा क्लियर हुन्छ ।’
कार्यालय प्रमुख पन्त केही दिन अघि रावललाई बेलौरीमा महिला स्वास्थ्य स्वयम् सेविकाको तालिम सञ्चालनको जिम्मेवारी दिएका थिए । तालिम सञ्चालनको सबै तयारी गरिएपछि पन्तले रावललाई हप्काएपछि उनीसित विवाद भएको थियो । त्यसपछि रावलले पन्तलाई आफ्नो काज फिर्ता गरि दिन आग्रह गरेका थिए । त्यसपछि उनको काज फिर्ताको चिठी बनाइएको हो ।
‘यो कार्यालयमा यतिसम्मका कार्यालय प्रमुख कहिल्यै आएनन्, आठौं तहका अधिकृतले सातौं तहका अधिकृतको कसरी काज फिर्ता गर्न मिल्छ, यो त अति नै भो, जे गरे पनि भयो भन्ने भयो’ कार्यालयका एक कर्मचारीले भने,‘यसरी बल जफती गरेपछि कार्यालय चलाउन समस्या होला ।’
कार्यालय प्रमुख पन्तको कार्यशैलीले अढाई महिनामै कर्मचारीहरु असन्तुष्ट भएको बताउँछन् । उनीहरु कार्यालय प्रमुख पन्त अन्य कर्मचारीलाई पेलेर कार्यालय सञ्चालन गरि रहेको बताउँछन् ।
स्वास्थ्य कार्यालयका प्रशासन शाखाका प्रमुख गणेशदत्त जोशीले काजमा पठाउने निकायलाई काज फिर्ताको अधिकार हुने बताए । ‘जसले पठाएको हो, फिर्ता पनि उसैले गर्नु पर्ने हो’ उनले भने,‘तर यहाँ यसो भएको देखिएन, खै किन हो ।’
यसबारे जानकारी लिन कार्यालय प्रमुख पन्त सम्पर्क गर्दा उनीसित सम्पर्क हुन सकेन ।