महेन्द्रनगर । बेलौरी नगरपालिका प्राविधिकलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर कार्यालय सञ्चालन गर्न पर्ने बाध्यतामा पुगेको छ । प्रशासन सेवाका अधिकृत नभएपछि प्राविधिकलाई प्रमुख प्रशासकीय अधिकृत बनाउनु पर्ने अवस्था आएको छ ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्मा बाहिरिएपछि उनको स्थानमा पशु सेवा शाखाका अधिकृत तारा प्रसाद अवस्थीलाई जिम्मेवारी दिइएको छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रशासन सेवाका उप सचिवलाई जिम्मेवारी दिने व्यवस्था गरिएको छ ।
प्रशासन सेवाका उप सचिव नभएपछि शिक्षाका उप सचिव प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका छन् । बेलौरीमा पशु सेवा शाखाका पशु प्राविधिकलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर जिम्मेवारी दिइएको छ । बेलौरीमा शिक्षाका उप सचिव नगरपालिका स्थापना भएपछि हालसम्म आएका छैनन् । बेलौरीको शिक्षा शाखा प्राविधिक सहायक सहित दुई जनाको भरमा चलेको छ ।
बेलौरीमा माओवादी केन्द्रका नेता पोतिलाल चौधरी मेयर छन् । उनी अहिले दोस्रो कार्यकालमा पनि मेयर छन् । उनको दोस्रो कार्यकालसम्म धेरै जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । कार्यालयका अनुसार केही प्रमुख प्रशासकीय अधिकृत तीन महिनामै छाडेर गएका छन् ।
बेलौरीका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले कार्यालयले आफूलाई आर्थिक हेर्ने गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको बताए । ‘मलाई आर्थिक हेर्ने गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ’ उनले भने ।