

महेन्द्रनगर । बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ५७ लाख ६७ हजारको बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको नगर सभा एवम् एघारौँ अधिवेशनमा नगर प्रमुख चौधरीले नगरको नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गरेका छन् ।

आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ ।
न्युनतम ११ लाख ५० हजारदेखि अधिकतम् २० लाखसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ । बेलौरी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेटमाथि बृहत् छलफल गरी आइतबार पारित गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले बताए ।

