

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मुन्नु चन्दलाई विद्यालयको ल्यापटप घरमा लगेर व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप लागेको छ ।
भीमदत्त नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा विद्यालयलाई उपलब्ध गराएको एक लाख अनुदान रकमबाट ल्यापटप खरिद गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णय विना प्रधानाध्यापक चन्दले ल्यापटप किनेर घरमा लगेर प्रयोग गर्दै आरोप लागेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नगरपालिकाबाट आएको अनुदानबाट ल्यापटप किन्ने निर्णय नभएको तथा नगरपालिका कार्यालयबाट विद्यालयमा चिठी आएपछि मात्रै ल्यापटप खरिदबारे आफूले थाहा पाएको बताए ।

‘म अध्यक्ष हुनु भन्दा अघि नै किनिएको रहेछ, म त माघमा मात्रै अध्यक्ष भएको हुँ, तर म अघिको समितिले पनि निर्णय गरेको देखिएको छैन’ उनले भने,‘त्यो बेला अनुदान रकम आएपछि किन्ने भनेर अनौपचारिक छलफल गरिएको रहेछ, चलाउन जान्ने कोही नभएपछि नकिन्ने भनेर अनौपचारिक रुपमा छलफल गरिएको रहेछ, तर प्रअले कसैलाई जानकारी नदिई आफैले किनेर घरमा लगेर राख्नु भएको रहेछ ।’
विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष हरि चन्दले ल्यापटप किन्ने सम्बन्धि अनौपचारिक छलफल भएको र किन्ने निर्णय नभएको बताए । ‘त्यो बेला मौखिक रुपमा छलफल भएको हो, किन्ने निर्णय गरिएको होइन’ उनले भने,‘मलाई शिक्षक तलब, सञ्चय कोष र नागरिक लगानी कोषको चेकमा साइन गर्दा झुक्याएर दस्तखत गराएको त्यसको भुक्तानी लिइएको रहेछ, मैले पनि अहिले थाहा पाए ।’
विद्यालयका प्रधानाध्यापक चन्दले नगरपालिकाको अनुदानबाट ल्यापटप किनिएर विद्यालयको कामकाजमा प्रयोग गर्दै आएको बताइन् । ‘यो विद्यालय सहित ३८ विद्यालयलाई ल्यापटप दिइएको हो, अरुले जस्तै किनिएको हो, यो विद्यालयमै हुन्छ, म यसमा अफलाइन काम गर्छु’ उनले भनिन् ।
विद्यालय व्यवस्थापन समितिले बुधबार बैठकबाट व्यवस्थापन समितिको निर्णय विना किनेर घरमा लगेर राखेकाले ल्यापटप खरिदको खर्च प्रधानाध्यापक चन्दबाट भराउने निर्णय गरेको छ । बैठकमा चन्दले ल्यापटप खरिदमा कमजोरी भएको भन्दै क्षमा मागेको व्यवस्थापन समितिका सदस्यहरुले बताए ।
व्यवस्थापन समितिले भीनपा ६ का वडा अध्यक्ष महेन्द्र खड्कालाई बैठकमा बोलाएको छ । वडा अध्यक्ष खड्काले समिति र प्रधानाध्यापक दुबैले विद्यालयलाई घाटा हुने काम गर्न नहुनेमा जोड दिए ।

